गल्याङ नगरपालिकाको राहत कोशमा सहयोग आउने क्रम जारी

प्रकाशित मिति:

गल्याङ । गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोशमा राहत रकम तथा जिन्सी सामाग्री आउने क्रम बढेको छ ।
विभिन्न संस्थाहरुले राहत रकम तथा राहत सामाग्री सहयोग गरिरहेका छन् ।  गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोशका लागि गल्याङ नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले झण्डै चार लाख रुपैयाँ सहयोग गरेका छन् ।  शिक्षकहरुको संगठन सहित प्रधानाध्यापकहरुको बैठकले सबै शिक्षकहरुको एक दिनको तलब राहत कोशमा जम्मा गर्ने निर्णय गरे बमोजिम यो रकम हस्तान्तरण गरिएको हो । शिक्षकहरुको एक दिनको तलब र अन्य कर्मचारीहरुको गरी जम्मा तीन लाख ९५ हजार सात सय २२ रुपैयाँ बुधबार नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरिएको छ ।  नगरपालीका स्तरीय शिक्षक समितिका संयोजक तथा नेपाल शिक्षक महासंघका जिल्ला उपाध्यक्ष राजेन्द्रदेव खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठन गल्याङ नगरका अध्यक्ष लिलाबल्लभ अर्याल, उपाध्यक्ष भेमला बराल, नेपाल शिक्षक संघका नगर अध्यक्ष एवम् भानुभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकान्त पाठक, नेपाल शिक्षक संघका नगर सचिव ऋषिराम भण्डारीले नगरपालिकाबाट प्रदान हुने पारिश्रमिकबाट यो रकम कट्टा गर्ने प्रतिबद्वता पत्र संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।  ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले नगरपालिकाका शिक्षकहरुबाट निकै सहरानीय काम भएको बताउनुभयो ।

उहाँले बालबालिकाहरुमा लकडाउनका कारण परेको समस्या प्रति चनाखो हुँदै सकेसम्म विद्यार्थीसँगको सम्पर्कमा नै रहन आग्रह गर्नुभयो ।  पाठ्यपुस्तक आयतको अवस्थाबारे बुझ्न आग्रह गर्दै उहाँले विद्यार्थीहरुलाई नराम्रो काममा संलग्न नहुने वातावरण बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘विद्यालय खुल्न नसके पनि विद्यार्थीसँग सम्पर्कमा नै रहनुहोला । कोही विपत्तिमा परेको भए पनि खबर गर्नुहोला ।’कार्यक्रममा नेपाल शिक्षक संघका नगर अध्यक्ष एवम् भानुभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकान्त पाठकले नगरपालिका वा सरकारले गर्ने निर्णय भन्दा पनि आफु खुशी शिक्षकहरुले यो रकम सहयोग गरेको स्पष्ट पार्नुभयो । कार्यक्रममा गल्याङ नगरपालिका शिक्षा शाखाका प्रमुख केदारराज आचार्यको पनि सहभागिता रहेको थियो । नगरपालिकाका शिक्षकहरुको तर्फबाट एक दिनको हुन आउने रकम र आधारभूत विद्यालयका कार्यालय सहयोगी बाट एक सय, माध्यमिक विद्यालयका कार्यालय सहयोगी र सहयोगी कार्यकर्ताबाट बाट दुई सय तथा विद्यालय कर्मचारी बाट तीन सय रुपैयाँका दरले रकम कट्टा गर्न सिफारिस गरिएको छ ।यस्तै, आइतबार पतन्जली योग पिठको तर्फबाट गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोशका लागि २५ किलोका ५० बोरा चामल र दश हजार आठ सय वटा हात धुने साबुन हस्तान्तरण भएको छ ।

पतञ्जली योग पिठ वालिङका तर्फबाट यो सहयोग बुधबार नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरिएको हो । यस्तै, गल्याङ नगरपालिका सातमा रहेको कालिका आमा समूहको तर्फबाट दश हजार एक सय ११ हस्तान्तरण भएको छ । यस्तै, गल्याङ नगरपालिका ११ छापमा रहेको श्री तारादेवि आमा समूहको तर्फबाट आठ हजार एक सय पाँच रुपैयाँ सहयोग प्राप्त भएको छ । यसैगरी, गल्याङ नगरपालिका ११ गल्कोट भण्डारी टोलको दुर्गादेवि आमा समूहको तर्फबाट १५ हजार पाँच रुपैयाँ सहयोग प्राप्त भएको छ । राहत रकम तथा जिन्सी ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जम्मा भएको रकम पारदर्शी रुपमा वास्तविक पीडितहरु सामु पु¥याउने प्रतिबद्वता जनाउनुभयो । उहाँले समस्याको बेलामा सहयोग गर्नु नै सबैभन्दा ठूलो धर्म रहेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘अहिले मौकामा हिरा फोर्ने बेला हो, अझै सहयोग गर्न सबैमा अपिल गर्दछु ।’थोरै थोरै सहयोग बाट नै ठूलो राशी जम्मा हुने भएकाले आफुले दिने रकमलाई थोरै वा सानो नसम्झन उहाँले आग्रह गर्नुभयो । नगरप्रमुख अधिकारीले नसक्नेहरुलाई अहिले बचाउनुपर्ने बेला आएको भन्दै सक्नेहरुले भने आश गर्न नहुनेमा जोड दिनुभयो । बुधबारसम्म गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोषमा १८ लाख ७९ हजार चार सय ९५ रुपैयाँ जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।