कोरोना संक्रमित बढेपनि नियन्त्रण बाहिर छैन : निर्देशक डा. बासुदेव पाण्डे

प्रकाशित मिति:

काठमाडौँ । सरकारी अधिकारीहरुले कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपनि रोग नियन्त्रणभन्दा बाहिर नगएको दावी गरेका छन् । अहिलेसम्म नेपालमा भएका मानिसहरुमा नभई बाहिरबाट आएकाहरुबाट मात्र संक्रमण देखिएकाले संख्या बढ्दैमा आत्तिनुपर्ने अवस्था नभएको उनीहरुको भनाई छ । सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे संख्या बढ्नुको मुख्य कारण सीमा नाका भएको नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा बताउनुभयो । उहाँले सुरुमै हवाई मार्ग र स्थलमार्गका सीमा बन्द गर्न नसक्दा रोगको संक्रमण बढेको र समयमै रोक्न नसकिएको बताउनुभयो ।

डा. पाण्डेले परिक्षण थप बढाउने तयारी भइरहेको जानकारी दिदै हिजो नै केहि टेस्ट किट नेपाल आइपुगेकाले तत्कालका लागि भने यसको अभाव नहुने बताउनुभयो । टेस्ट किट लगायत अन्य अत्यावश्यक चिकित्सकीय सामाग्रीहरु केहिदिनभित्र नेपाल आइपुग्ने र त्यसपछि परिक्षणको दायरा थप बढाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अरु देशको अवस्था भन्दा नेपालको अवस्था राम्रो छ । अहिले सम्म ९९ जनामा संक्रमण भेटिए पनि कसैको मृत्यु यसै कारणले भएको छैन् । घना बस्ती भएको ठाँउमा अरु थप सामाग्री सहितको टिम पठाएका छौँ । रोगका बारेमा राम्रो जानकारी नआएकाले नेपालगन्ज र विरगन्जमा बढी देखिएको हो । अब टेस्ट बढाउनुपर्छ । हिजो केहि सामान आएको छ । दायरा बढाउने विषयमा हामी छलफल गर्छौ ।’