द्वन्द्वकालिन मुद्वामा पुर्वमाओवादीलाई प्रधानमन्त्रीले फसाउन खोजेको आरोप

प्रकाशित मिति:

काठमाडौँ । नेकपा स्थायी कमिटीका सदस्य हरिबोल गजुरेलले पार्टी एकतापछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओबादी पक्षलाई द्वन्द्वकालिन मुद्वा उठाएर फसाउन खोजिरहेको आरोप लगाउनुभएको छ । उहाँले पार्टीका बैठक र छलफललाई इन्कार गर्दै पूर्वमाओबादी पक्षलाई द्वन्द्वकालिन मुद्वामा फसाउने खेल प्रधानमन्त्रीले खेलिरहेको दावी गर्नुभयो ।  नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता गजुरेलले पार्टी एकिकरणको काम पुरा नहुँदै अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले पार्टी अनुशासन समेत भताभुङ्ग बनाएको आरोप लागउनुभयो । अरुले पार्टीका बैठक नियमित हुनुपर्छ र पार्टी तथा सरकारका कमिकम्जोरीका विषयमा छलफल गर्दा अनुशासनहिन काम गरेको भन्ने प्रधानमन्त्रीले आफैले आफ्नो पक्षका सांसदलाई बालुवाटारमै बोलाएर हस्ताक्षर गर्न लगाउनु अनुशासित काम नभएको गजुरेलको तर्क छ ।

उहाँले भन्नुभयो, ‘अहिले कोरोनाविरुद्ध जित हासिल गर्नका लागि नयाँ नयाँ एजेण्डा तय गरी स्थायी कमिटीमा छलफल गर्नुपर्नेमा उहाँ छल्दै हिड्नुभएको छ । पार्टीका कसैलाई पनि नसोधी अध्यादेश ल्याउनु पनि पार्टीको अनुशासन उल्लंघन नै हो । अरुको अनुशासन खोज्नेले आफ्लाई पनि हेर्नुपर्छ । अनुशासन त उहाँले राख्नु भएको छैन । द्धन्द्धकालिन मुद्धाहरुमा फसाउने कुरा समेत आएको हामीले सुनेका छौँ । यो समयमा आएर हामीलाई अप्ठयारोमा पार्ने खेल खेल्ने ? यस्तै भयो भने हामी प्रधानमन्त्रीको राजीनामा माग्छौँ ।’ नेता गजुरेलले स्थायी कमिटीको बैठक नराखी सचिवालयका नेताहरुले सुख नपाउने भन्दै स्थायी कमिटीमा छलफल नभई संसद चल्न गाह्रो हुने बताउनुभयो । अहिले उठेको विषयहरुमा छलफल नगरी संसदमा जाने हो भने सरकार अप्ठ्यारोमा पर्ने र संसदमा भद्रगोल हुने धारणा उहाँको छ । स्थायी कमिटीका एकतिहाई सदस्यले बैठक मागेको अवस्थामा बैठकबाट भाग्न प्रधानमन्त्रीले नमिल्ने भन्दै बैठक माग गर्नेले राजीनामा नमागेको गजुरेलले बताउनुभयो । पार्टीमा एकरुपता र विश्वासको बातावरण बनाउनका लागि पनि सहमति चाहिएको भन्दै उहाँले कोरोना विरुद्ध लड्न पार्टीमा सहमति नगरी अगाडी बढ्दा सरकार असफल हुने बताउनुभयो ।

गजुरेलले पार्टीमा आफ्नो आलोचना भयो भन्दैमा ओलीले भाग्न नमिल्ने भन्दै सचिवालय बैठकमा अध्यादेश किन र कोरोना विरुद्धको काम कसरी प्रभावकारी बनाउने विषयमा मात्रै प्रमको जवाफ मागेको भनाई राख्नुभयो । उहाँले एक पद र एक व्यत्तिको कुरा अहिले नउठेको र यो पहिले देखिनै उठेकाले विधानमा समेत व्यवस्था रहेको बताउँदै पार्टीले सरकारलाई सहयोग गर्नुपर्ने र पार्टीको निर्देशन अनुसार सरकारले काम गर्नुपर्ने दावी गर्नुभयो । जहिले जसरी सहमति हुन्छ त्यसैगरी जान प्रधानमन्त्री तयार भए स्थायी कमिटीमा समस्या नआउने भन्दै नेता गजुरेलले पार्टीको बैठकबाट नभागी आफ्ना कमिकम्जोरी स्वीकार्नु पर्ने बताउनुभयो । गजुरेलले भन्नुभयो, ‘अहिले शीर्ष नेतादेखि धेरै नेताको बोलीको टुंग्गो हुन छाडेको छ । यसले पार्टीमा अराजकता बढ्ुदै गएको छ । यसरी पार्टी अगाडी बढ्दैन । गुटका बैठक बढाउनु भएन । प्रमले पनि बालुवाटारमा मान्छे बोलाएर हस्ताक्षर गराउनुभएन । अहिलेको अवस्था भनेको कसरी अगाडी जाने भन्ने एजेण्डा तय गर्ने हो । यसका लागि स्थायी कमिटीमा छलफल गर्नुपर्यो ।