राष्ट्रबादको बांसुरी बजाएर मात्रै हुंदैन सरकार

प्रकाशित मिति:

मोहम्मद इस्लाम खान – अहिले कोभिड १९ (कोरोना भाइरस ) ले पूरा बिश्व जगत महामारीको सामना गर्दै आएको कुरा सर्वबिदित नै छ । हाम्रो देश नेपालको सन्दर्भमा यो देशमा पनि संक्रमितको संख्या १०१ पुगेको आवस्था छ । पछिल्ला दिनहरुमा निरन्तर बढ्ने क्रम जारी छ । यसको खास कारण व्यापक रूपमा परिक्षण नहुनु हो र अर्को कारण मित्र राष्ट्र भारतदेखि चोरबाटो हुँदै नेपाल पस्ने कार्यले पनि हो, जुन हाम्रो लागि दुखद कुरा हो ।कामको सिलसिलामा भारतका विभिन्न शहरमा फसेका नेपालीहरु आफ्नो देश र सरकारसंग विभिन्न माध्यमबाट हारगुहार गरेको आवस्था छ । उता भारतले तिमिहरु आफ्नो देश जाउ भन्दै गरेको अवस्था छ । समस्यामा परेका नेपाली हरुलाई अर्काको देशमा न खाने ब्यवस्था छ ,न उचित बास बस्ने ब्यवस्था छ ।

असाध्यै समस्यामा परेपछि नेपालीहरु ज्यानको बाजि लगाएर दुईहजारदेखि पांच हजार किलोमिटर पैदल हिंडेर आफ्नो देश नेपाल फर्किने गरेको अवस्था छ । तर उनीहरु आफ्नो देशको सीमा पारी आएर पनि आफ्नो मातृभूमिमा सहजरुपमा प्रवेश गर्न पाएको अवस्था छैन । आज यसको फलस्वरूप विभिन्न चोरबाटो हुँदै नेपाल प्रवेश गर्नेको लर्को छ जुन देशको लागि पनि हितकर छैन,न स्वयंको लागि,यता सरकारले कुनै हालतमा पनि प्रबेश गराउन सकिँदैन भन्ने कुरा गर्छ । आखिर यो खेल कहिले सम्म चल्छ सरकार ? आज जो पीडित छन तिनीहरुलाई यो हाम्रो पनि देश हो, हाम्रो देशमा जनताको पीडा सुन्ने सरकार छ भन्ने भावनाको बिकास कसरी गर्ने सरकार ? जहिलेसुकै राष्ट्रबादको बांसुरी बजाएर हुदैन सरकार, यस्तो गलत क्रियाकलापले आज उनिहरु राष्ट्रियतामाथि प्रश्न उठाएको आवस्था छ । के उनीहरु यो देशको नागरिक होइनन्, के उनीहरुसित राष्ट्रिय भक्ति छैन सरकार ? यो गम्भीर विषय हो ।

यसमा सरकार संबेदनशील हुनु प¥यो, होइन भने भयावह स्तिथिको सिर्जना हुन्छ ,र हामिले कल्पना गरेको भन्दा फरक स्तिथि आउन सक्छ । त्यसैले भारत र नेपालको सीमा इलाकामा प्रशस्त मात्रामा क्वारेन्टाइन बनाएर भारतबाट आउने नेपाली दाजुभाइलाई देश प्रवेश गर्न दिएर राम्रोसंग चेकजाँच गरी क्वारेन्टाइनमा राख्ने ब्यवस्था अबिलम्ब गरियोस् । यदि यस्तो काम गरियो भने निश्चितरूपमा हामीले राहत पाउने छौ,त्यसैले यहाको सम्पुर्ण जनप्रतिनिधिहरु चाहे संघीय सांसद हुन् ,चाहे प्रदेश सांसद हुन् या पालिका अध्यक्ष र मेयर हुन् , तपाईंहरु संकटमा रहेका नेपाली दाजुभाइहरुलाई बैधानिक बाटो देखि प्रवेश गराउनु हुने छ भन्ने आशा र बिश्वासको साथ हार्दिक अनुरोध छ । (लेखक साविक राजपाका रुपन्देही प्रवक्ता एवं हालको जनता समाजवादी पार्टीका नेता हुन् । )