नेकपा पार्टीमा एक ढिक्का, हँसिया र केराउफुले पाइन

प्रकाशित मिति:

अनिल दमाई सत्तासिन नेकपाका नेताहरुले एक ढिक्का भएर जाने त भने तर यो ढिक्का भन्ने कुरामा पाइन र हँसियाको सम्बन्ध जोड्न मन लाग्यो । हँसियाले राम्ररी घाँस काट्न हँसियाको धारमा केराउफुले पाइन बस्नु पर्छ । कथम कदाचित केराउफुले पाइन बस्यो तर धार चर्कियो भने घाँस काट्ने बेलामा हँसियाले घाँस काट्नुको सट्टा हँसिया नै घाँसमा अल्झिन्छ र घाँस काट्न दुःख हुन्छ । उस्तै परे हँसिया नै भाचिन सक्छ । हँसियाले राम्ररी घाँस काट्नलाई पहिलो कुरा केराउफुले पाइन बस्नु पर्यो र चर्किन भएन । मतलव हँसियाको धार एक ढिक्का भई टम्म मिलेको हुनु पर्यो । हो, नेकपाको सन्दर्भमा यही हँसियाको धार र केराउफुले पाइनको संयोजन मिलेको छ कि छैन ? एक ढिक्का भएर जाने संकल्प त एमाले र एमाओवादीको एकता हँुदा नै दुबै पार्टीका शिर्षस्थ नेताहरुले कुर्कुचाले भुई छोड्ने गरी एकले अर्काको समाएको हातमाथि उठाएर गरेका हुन । फेरि कहाँबाट आइरहन्छ घरीघरी एक ढिक्का भन्ने शब्द ? हुन त यो एक ढिक्का हुनु राम्रो हो, नेकपाका लागि र नेता कार्यकर्ताका लागी पनि । तर त्यो एक ढिक्का भन्ने शब्द प्रयोग गर्नेले एक ढिक्का बनाउन पार्टीभित्र गतिलरी केराउफुले पाइन राख्न जाने कि जानेनन् ? यसबारेमा नेकपाहरुले सोंच्नु पर्छ कि । वा नेकपा पार्टीमा केराउफुले पाइन कसले कसरी राखिंदै आएको छ ? त्यो केराउफुले पाइन नेकपामा जान्नेले राखेको हो की वा नजान्नेले ? वा जान्नेले नै जानी जानी केराउफुले पाइन त राखिदियो तर हँसियाको धार फुट्नेगरी एक नेकपाको एक ढिक्का भित्र ? वा नेकपामा पार्टीको एकतालाई बोल्दा एक ढिक्का भन्ने तर पाइन राख्दा केराउफुले नराखिदिएर अर्कै फुस्रो पाइन राखिदियो ? जुन घिउ काट्न बाहेक अरुमा कामै लाग्दैन । यो सत्तासिन नेकपा र नेकपा इतरकाले बुझून् । तर म हँसिया र पाइनको बिषयमा एउटा आहान उल्लेख गर्न चाहन्छु ।

पहिले पहिले र अहिले पनि बाबाले भन्ने गर्नु हुन्छ अरु बेला जे सुकै भने पनि हँसियामा धार लाउने बेला र धारमा पाइन राख्ने बेलामा आरनेलाई खुशी बनाउनु पर्छ । किनभने हँसियाको धार राख्ने बेला आरने (अर्को अर्थ नलागोस्) कामीलाई रिसाउन हाले हँसियाको धार बिगार्दिने र यदि धार राम्रो देखिने गरी राख्यो भने पनि धारमा पाइन गतिलो नराख्दिने गर्छन् । यति मात्र होइन आरनेलाई बिष्टप्रति रिस उठेको छ भने उसले लडार्इं झगडा गर्दैन उस्तै परे ऊ केही बोल्दैन तर हसिया अर्जाप्ने बेला पाइन राख्दा धार चर्काइदिएर कामै नलाग्ने बनाइदिन्छन् । हो, नेकपामा पनि एक ढिक्का भन्ने शब्दमा तीन कुराको अर्थमा स्पष्ट हुनुपर्छ । ती तीन कुराहरु : १, हँसियामा राम्रो धार राख्ने, २, केराउफुले पाइन र ३, हँसिया नचर्काउने गरी केराउफुले पाइन नै राख्ने । बुझिने शब्दमा भन्दा आरनेलाई के कतिको खुशी बनाएर काम लगाउने भन्नेमा काम गराउने बिष्ट परिपक्व छ कि छैन ? भन्ने प्रश्न जस्तै नेकपाका कार्यकर्ताहरुलाई एक ढिक्का बनाउने गरी पार्टीमा केराउफुले पाइन राख्ने मान्छे को हो ? त्यो ब्यक्ति कस्तो हो ? भन्ने प्रश्न आम नेता कार्यकर्ताको मनमा बल्झिन सक्छ । फेरि बाबाले यो कुरा पनि सम्झाउनु हुन्थ्यो, “आरनेलाई सधैं यस्तो दिन्छु उस्तो दिन्छु भन्ने तर दिने बेलामा कहिले यसपाली बाली राम्रो भएन, कहिले यसपाली मिठोचोखो केही बनाइएन, कहिले छुट्टीमा आउँदा केही पनि ल्याइन” भनेर ढाँट्नु हुन्न । उसले पटक पटक ढाँटेको फाइदा बर्षामा बारी÷खेत खन्ने कोदालो र हिउँदमा खर काट्ने हँसिया बिगार्दिन्छ । हेर केटा, (बाबाले मलाई प्राय केटा नै भन्नु हुन्थ्यो) “आरनेलाई कहिल्यै छल्न सकिंदैन । बरु पहिल्यै साँचो साँचो बताउने भएको बेला धेरै थोरै मिठो चोखो जे जति हुन्छ । आफुनो घरमा भएको चिज दिएर उनीहरुको सम्मान गर्नुपर्छ ।”
हो, नेकपा र अन्य शासक दलहरुमा पनि आरने र बिष्टको जस्तै सुमधुर सम्बन्ध रहनु पर्छ । नेकपा र शासक दलहरुमा आफ्नालाई सबथोकको भाग पुर्याउने तर भन्दा आफ्नै भन्ने र ब्यबहार पनि आफ्नैलाई जस्तो गर्ने अनि भाग बाड्ने बेलामा खाली आफ्नोबाट शुरु गर्ने र आफ्नैलाई झैं गर्नेसम्म पुग्दा कराइको खली पनि नपुग्ने त्यसपछि यसपाली “यस्तै भयो अर्को पटक तपाईकैबाट शुरु गरौंला” भनेर भुलभुलैयामा पार्न सिपालु त धेरै छन् ।

तर सिपालुभित्र परिपक्वता भने छँदै छैन । त्यही परिपक्वता नभएकै कारण नेकपा र अन्य शासक दलहरुमा सत्ता मोह र पद लोलुप्ता रुपी धार चर्किएर घाँसीले राम्ररी घाँस काट्न नसके झैं घाँसीले घाँस काट्दा कहिले घाँस जरैसँग आउँछ, कहिले घाँसमै हँसिया अल्झेर घाँसीलाई थकाइदिन्छ त कहिले घाँसमा हँसिया चिप्लिएर घाँस समाउने औंलामा आएर ठोक्किए झैं दृष्य पदार्पण भइरहेको छर्लंग देखिंदै आएको छ ।पार्टीभित्र र बाहिर बोलिने र गरिने जुन ब्यबहारमा फरक देखिन्छ तबसम्म हँसियाको धारले काम गर्दैन । आरने र बिष्टको सम्न्धमा झैं नेताहरुले कार्यकर्तासामु “निकैहोला र गर्ला” झैं गरी फकाउने तर अन्तमा केही नहँुदा तीनै सोझा कार्यकर्ताहरुले धारे हात लगाउने प्रबृत्ति बढछ र यसैको सिलसिला हो, निरन्तरता हो अहिले नेकपामा देखिएको एक ढिक्का भन्ने शब्द । यतिबेला नेकपाका नेता कार्यकर्ताहरुले नेतालाई पार्टीको लाइन र नीति तथा कार्यक्रमका बारेमा सोधेका पनि छैनन । किनभने नेकपाको दिमागमा घोषणा पत्र अनुसार कसैले पनि चुनावमा भोट नहालेको छाप बसेको छ ।ठूलो र सानो भन्ने कुरामा मलाई एक पटक बाबाले भन्नु भाथ्यो, “हेर सानो हँसियाले थोरै घाँस काट्ने र ठूलो हँसियाले धेरै घाँस काट्ने भन्ने होइन । मात्र के हो त भन्दा जसले जत्रो हँसिया धान्न सक्छ, उसैले त्यही हँसिया समाउने हो । सोही अनुसारको घाँस काट्ने हो ।” हो नेकपा र शासक दलहरुमा हँसिया धान्ने र काट्ने प्रसङ्गसँग निकै राम्रो नाता मिल्छ । नेकपा र अन्य शासक दलहरुमा आ–आफ्नै तहको हँसिया छ । तर त्यो हँसियालाई धानेर घाँस काट्ने ढंग छैन । र त त्यही हँसिया कहिले आफैतिर फर्किएको छ, कहिले घाँस तिर । कहिलेकाही घाँसतिर फर्किएको हँसियालाई धान्न नसक्दा हात गलेर घाँस काट्न खोजेको हँसिया घाँसको जरामा तुर्लुंग झुण्डिएर भुइमा खसेको छ । अहिले नेकपामा ठूलो हँसिया त छ तर धान्न सकेको छैन । त्यो ठूलो हँसिया सही ठाउँमा प्रयोग हुन सकेको छैन र त त्यो ठूलो हँसिया नेकपाको औंलामा लतारिंदै भुइमा खस्दैछ ।त्यसैले नेकपामा जुन एक ढिक्का हुने प्रतिबद्धता आएको छ, त्यो प्रतिबद्धतामा कसले जुराइदिएको हो ? आज देखिएको नेकपा एक ढिक्काको धार कुन आरनेले लाइदिएको हो ? आरनेको इच्छा पूरा गरिदिएको हो कि नाई ? यो पटक कस्तो धार लगाईएको हो ? कतिञ्जेल धार रहन्छ ? काम लाग्ला कि नाईं ? हेर्दै जाऔं ।