कोरोना भाइरस संक्रमित नेपालीको संख्या कतारमा २ हजार नाघ्यो

प्रकाशित मिति:

काठमाडौं-कतारमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २ हजार ३ सय पुगेको छ। गैरआवासीय नेपाली संघ एनआरएनए को स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म २ हजार ३ सय नेपालीहरू कोरोना संक्रमित भएका हुन्। कतारमा हालसम्म कोरोनाका कारण कुनै पनि नेपालीको ज्यान भने गएको छैन। पछिल्लो समय कतारमा कोरोना संक्रमणको दर उच्च रहेको पाइएको छ।कतारमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण १३ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कतारमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।एकैदिन थप १ हजार १३० जनामा कोरोनाको संक्रमण देखिएसँगै कतारमा कोरोना संक्रमितको संख्या २१ हजार ३३१ पुगेको हो । कतारमा हालसम्म २ हजार ४४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १८ हजार ८९९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।उपचाररत कोरोना संक्रमित बिरामीमध्ये ७२ जनाको अवस्था गम्भीर रहेको छ । कतारमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण कतारस्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।