सीमामा अलपत्र नेपालीको उद्धार गर्न सांसद खानको माग

प्रकाशित मिति:

बुटवल,२८ बैसाख । नेपाल–भारत सीमा क्षेत्र दशगजामा अलपत्र नेपालीहरुलाई अविलम्ब स्वदेश ल्याउन कांग्रेस सांसदले माग गरेका छन् । रुपन्देहीको क्षेत्र नंं ५ (ख) बाट निर्वाचित सांसद फखरुद्दिन खानले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउंदै भारतका विभिन्न राज्यबाट हजारौं नेपाली रुपन्देहीसहित प्रदेश ५ का ६ वटा तराईका जिल्लाका दशगजा क्षेत्रमा आएर एक हप्तादेखि अलपत्र परेका उल्लेख गर्दै उनीहरुलाई तत्काल स्वदेश ल्याउन माग गरेका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको असरले भारतका विभिन्न राज्यमा रोजगारी गरिरहेका नेपालीहरु रोजगारी गुमेपछि र ती राज्यले प्रत्यक्ष अप्रत्यक्षरुपमा नेपाल फर्कन दवाव दिएकाले ढिला नगरी नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न सांसद खानले माग गरेका छन् ।

दशजगामा आइपुगेर एक हप्तादेखि जोखिमपूर्ण ढंगले बस्न वाध्य नेपालीहरुलाई स्वदेश लयाउनुको विकल्प नभएकाले ढिला नगर्न उनले सरकारसंग आग्रह गरेका छन् । सरकारले सीमामा अलपत्र नेपालीलाई स्वदेश ल्याउन ढिला गर्दा कतिपयले सुरक्षाकर्मीलाई रकम बुझाएर रातको समयमा लुकिछिपी खुला सिमाको फाइदा उठाउंदै नेपाल प्रवेश गर्ने गरेकाले कोरोना संक्रमण फैलिनसक्ने सांसद खानले औंल्याएका छन् । सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई अबिलम्ब नेपाल भित्राई सबैलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गर्न र बेरोजगारलाई स्वदेशमै रोजगारी दिन अब बन्ने नीति तथा कार्यक्रम र वजेटमा व्यवस्था गर्न पनि सांसद खानले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । भारतले दार्चुलामा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको विषय सरकारलाई ६ महिना अगावै थाहा हुंदाहुंदै चुप लागेर बस्नु भएको उल्लेख गर्दै उनले सडक निर्माण तत्काल रोक्न सरकारले वार्ता र संवादमार्फत कुटनीतिक पहल गर्न पनि उनले माग गरेका छन् ।