तिलोत्तमाका विपन्नलाई पञ्चकन्या समूहको राहत

प्रकाशित मिति:

भैरहवा, २८ वैशाख । पञ्चकन्या समूहको प्लाष्टिक डिभिजन अन्तर्गतका डिष्ट्रिव्युटर (डिलर)हरुको अग्रसरतामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ को खाद्य बैंकलाई खाद्यान्न सामाग्री प्रदान गरिएको छ । दैनिक ज्यालादारी मजदुर, गरीब तथा विपन्न वर्गका व्यक्तिहरुलाई लकडाउनको अवधिमा जीविकोपार्जन गर्न कष्टकर भएको अवस्थालाई मध्यनजर गर्दै विपन्न परिवारलाई राहत वितरण गरिएको खाद्यान्न राहत संयोजक तथा किसान टे«डिङ बुटवलका प्रोप्राइटर बालाराम भट्टराईले बताए ।समूहसंग आबद्ध प्लाष्टिक सामाग्रीका यस क्षेत्रका अधिकृत विक्रेताहरुबाट संकलित सामाग्रीहरु तिलोत्तमा नगरपालिकाले स्थापना गरेको खाद्य बैंकलाई डिलर व्यवसायीहरुको उपस्थितिमा उपलब्ध गराइएको पञ्कन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए ।

आइतबार तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष खेमराज गुरुङलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको समूहले जनाएको छ । उपलब्ध गराइएको सामाग्रीहरुमा चामल २ हजार ५ सय २० किलोग्राम, दाल ५ सय किलोग्राम, तेल २ सय ५० किलोग्राम र सोयाबीन ५० किलोग्राम रहेको छ । त्यस्तै समुहले आइतबार काठमाण्डौंमा पनि राहत सामाग्री वितरण गरेको छ ।यस अघि पञ्चकन्या समूहमा कार्यरत कर्मचारीहरुले तिलोत्तमा नगरपालिका विपद् व्यवस्थापन कोषमा ५ लाख रुपैयाँ, पञ्चकन्या समुहमा कार्यरत मजदूर तथा वडा नम्बर १५ का विपन्न परिवारलाई २ लाख बराबरको खाद्यान्न सामाग्री वितरण गरेका थिए ।