विस्तारै बढ्दैछ चिसो,, यो वर्ष बढी चिसो हुने

प्रकाशित मिति:

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ । उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो।

धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद्हरूले बताएका छन्। अघिल्लो वर्ष १० कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यसपटक ८ दशमलव २ डिग्रीमा झरेको छ। शनिबारभन्दा आइतबार अझ तपक्रम घटेरे ८ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

अबको केही समयमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुने मौसमविद् अर्यालले बताए । ‘सिजनल इफेक्ट’ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो,’ उनले भने, ‘तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।’ तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको छ । यद्यपि, दिउँसोको समयमा भने तापक्रम केही बढी छ।