मस्जिद समिति ले गर्यो रक्तदान

प्रकाशित मिति:

इस्लामिक नववर्ष १४४० औं हिजरी सम्वतको अवसरमा रजा–ए मुस्तफा मस्जिद समितिले सोमबार बुटवलमा पाँचौंपटकरक्तदान गरेको छ ।
मस्जिद परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको समितिले जानकारी दिएको छ । समितिले पाँच वर्षअघि गरेको पहिलो रक्तदान कार्यक्रममा एक सयजना भन्दा बढीले रक्तदान गरेका थिए भने दोस्रो रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको थियो ।
सोमबार आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले रक्तदान भन्दा ठूलो मानवीय कार्य अरु नभएको उल्लेख गर्दै सामाजिक कार्यलाई निरन्तरता दिएर मस्जिद समितिले प्रशंसनीय काम गरेको उल्लेख गरे । उनले १०५ वर्ष भन्दा पूरानो मस्जिद धार्मिक पर्यटनको संभावना बोकेको ऐतिहासिक धरोहर रहेको उल्लेख गर्दै यसको व्यवस्थापनका लागि सार्वजनिक जग्गा उपलब्ध गराउन नगरपालिकाले सक्दो पहल गर्ने आश्वासन दिए ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासले सबै धर्म र समुदायबीच एकता र सदभाव दर्शाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले धार्मिक सहिष्णुता आजको आवश्यकता रहेको उल्लेख गर्दै इस्लाम धर्मावलम्बीहरुले बेलाबखतमा गरेका सामाजिक कार्यहरुको प्रशंसा गरे । साथै उनले रक्तदान जस्तो मानवीय सेवाको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
रजा–ए मुस्तफा मस्जिद समितिका अध्यक्ष हाजी मकबुल मियाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल–१ का वडाध्यक्ष महेन्द्रप्रसाद लिगल, समितिका उपाध्यक्ष हाँजी रहमद खान, मौलाना निजामुद्दिन, समितिका सचिव अब्दुल सहमद लगायतले मन्तव्य व्यक्त गरेका थिए । मस्जिद समितिले विभिन्न समयमा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण, अनाथ बालबालिकाहरुलाई खाद्यान्न र लत्ता कपडा वितरण जस्ता सामाजिक कार्य गर्दै आएको समितिका अध्यक्ष मकबुल मियाले बताए ।