मुख्यमन्त्री पोखरेललाई राजपा सांसदको प्रश्न : बर्दियाका विरामी दाङको अस्पतालमा लैजान नपाइने ?

प्रकाशित मिति:

३१ बैसाख, बुटवल । दाङको शान्तिनगर गाउंपालिकाले बर्दियाका कोरोना संक्रमित विरामीलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ल्याउन नपाइने भन्दै विज्ञप्ति जारी गरेपछि त्यसले तरंग ल्याएको छ । शान्तिनगर गाउपालिका प्रमुख कमासिंह डांगीले मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्लाको बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा कोरोना संक्रमित विरामी ल्याउन नपाइने भन्दै रोक्नुपर्ने मंगलबार विज्ञप्ति नै निकालेका थिए । जिल्लामा कोरोना संक्रमण फैलिएको खण्डमा क्षति र जोखिमको सम्पूर्ण जिम्मेवारी सरोकारवाला पक्षले लिनुपर्ने उनले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।
सोही विज्ञप्तिलाई लिएर राष्ट्रिय जनता पार्टीकी प्रदेश सभा सांसद कल्पना पाण्डे लम्सालले मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएकी छन् ।

प्रदेश सरकारको लगानीमा स्थापना भएको कोरोना विशेष अस्थायी अस्पतालमा अन्य जिल्लाका विरामी ल्याउन नपाइने भनी गाउपालिका प्रमुखले विज्ञप्ति निकाल्नु आश्चर्यजनक विषय भएको भन्दै सांसद पाण्डेले मुख्यमन्त्रीले यस्ता विषयमा ध्यान पु¥याउनुपर्ने आग्रह गरेकी छन् । ‘बर्दियाका कोरोना संक्रमित बिरामीलाई बर्दियामा नराखेर किन दाङ ल्याइएको भनेर बिज्ञप्ति निकालिएको देखेर अचम्म लाग्यो, प्रदेश सरकारले यत्रो लगानी गरेर हस्पिटल बनाउनुको के अर्थ ? यदि अर्काे जिल्लाको बहानामा बिरामी लैजान पाइंदैन भने ? यसतर्फ सबैले ध्यान दिइयोस्’–सांसद पाण्डेले भनेकी छन् । मुख्यमन्त्री शंकर पोखरेलले गाउंपालिकाको नाम नलिई फेसबुक स्टाटसमार्फत अस्पतालमा विरामी राख्ना कोरोना नफैलिने भनेर प्रष्टीकरण दिएका छन् । ‘कोरोना संक्रमितलाई अस्पताल ल्याउनु भनेको सुरक्षित तरिकाले उपचार गर्नु हो,कोरोना विशेष अस्पतालवाट नेपालमा कोरोना फैलिएको छैन’–मुख्यमन्त्रीले लेखेका छन् ।