प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

प्रकाशित मिति:

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ अस्पतालले जानकारी दिएको छ। छातीमा संक्रमण र शरीरमा ग्लुकोजको मात्रा कम भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा सोमबार बिहान ४ बजे भर्ना गरिएको थियो।

प्रधानमन्त्री ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली संलग्न छ।

प्रधानमन्त्रीका निजी चिकित्सक दिब्या सिंह शाहका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले ६० प्रतिशत सुधार आएको छ।
उनका अनुसार प्रधानमन्त्री ओलीलाई अझै कम्तीमा तीन दिन अस्पतालमै राख्नुपर्ने हुन्छ। त्यसपछि आराम गर्दा हुने अवस्था देखिएको छ,’ उनले भनिन्। प्रधानमन्त्री ओलीको छातीमा निमोनिया भएर पानी जमेको अवस्था भने नरहेको उनले जानकारी दिइन्।

ओलीको स्वास्थ्य जाँचको रिपोर्ट अनुसार दसैंमा टीका लगाउने क्रममा धेरै जनासँग सम्पर्कमा आएका कारण प्रधानमन्त्री ओलीलाई रुघाखोकी सरेको हो। मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुने गर्छ। चिकित्सकका अनुसार यस्तो अवस्थामा रुघाखोकीले सतायो भने संक्रमण चाँडै बढ्ने खतरा रहन्छ।
यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल भर्ना भएपछि उनलाई भेट्न प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा बादल, नेता भिम रावल, प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेललगायतका नेताहरु अस्पताल पुगेका थिए।