गण्डकी प्रदेश भित्रने झलुङ्गे पुलमा काँडेतार

प्रकाशित मिति:

गल्याङ । गण्डकी प्रदेश प्रबेश गर्ने दक्षिण तर्फका झलुङ्गे पुलमा समेत काँडेतार लगाइएको छ । स्याङ्जाको गल्याङ नगरपालिकामा पर्ने कालीगण्डकी नदिमा रहेका झलुङ्गे पुलहरुमा काँडेतार लगाएर पैदल यात्रु प्रबेशमा समेत रोक लगाइएको हो ।गल्याङ नगरपालिका वडा नम्बर एक मालुङ्गाबाट पाल्पाको बगनासकाली गाउँपालिका पाँच दर्पुग जोड्ने झलुङ्गे पुल र मालुङ्गाबाट पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर एक असेर्दी जोड्ने दुई वटा पुलमा काँडेतार लगाइएको छ ।
नगरपालिका जोड्ने दक्षिण तर्फका अन्य पुलहरुमा पनि काँडेतार लगाउने तयारी भैरहेको बताइएको छ । सबै ठाउँमा २४ सै घण्टा सुरक्षाकर्मीको व्यवस्था गर्न कठिन रहेकाले यस्तो उपाय अपनाइएको गल्याङ नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर एकका अध्यक्ष गणेश बस्यालले बताउनुभयो ।  उहाँले जुनसुकै समयमा लुकिछिपी प्रबेश गर्ने क्रम बढ्न सक्ने भएकाले यस्तो गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो –‘लुकेर आउनेहरुको तथ्याङ्क संकलन गर्न, पहिचान गरी क्वारेन्टाइनमा राख्न समेत समस्या हुने भएपछि झलुङ्गे पुल बन्द गर्न बाध्य भएका हौं ।’
प्रबक्ता बस्यालले भारतबाट छिरेका व्यक्तिहरु राम्दी नाकाबाट भन्दा अन्यत्र ठाउँबाट प्रबेश गर्दा कोरोना भाइरसको संक्रमण समुदायमा बढ्न सक्ने बताउनुभयो । रुपन्देही जिल्लामा कोरोना संक्रमण बढेको अवस्थामा अझै सचेत हुनुपर्ने अवस्था रहेको भन्दै उहाँले आएका व्यक्तिहरुलाई ससम्मान क्वारेन्टाइनमा राखिने भएकाले लुकिछिपी नआउन र खबर गर्न आग्रह गर्नुभयो । भारतबाट आउन सक्ने सम्भावित व्यक्तिहरुको अवस्थालाई मध्यनजर गर्दै दुई दिन अघि बसेको गल्याङ नगरपालिका कार्यपालिका बैठकले पाँच सय बेड क्षमताको क्वारेन्टाइन पाँच ठाउँमा राख्ने निर्णय गरेको थियो । गण्डकी प्रदेश प्रबेश गर्ने दक्षिणको मुख्य नाका रहेको गल्याङ नगरपालिका १ रामनदी धाम राम्दीमा चेकजाँचमा कडाइ गरिएसँगै यात्रुहरु अन्य बाटोबाट आउने गरेको पाइएको छ । संक्रमण भएका व्यक्ति लुकिछिपी घरमा पुगेमा संक्रमणको जोखिम झनै बढ्न सक्ने भएकाले यस्तो गर्न बाध्य भएको भन्दै नगरप्रबक्ता बस्यालले यसबाट अन्य महानुभावमा असर परेकोमा दुख व्यक्त गर्नुभएको छ ।