ठोरीको सीमा क्षेत्रमा काँडेतार

प्रकाशित मिति:

काठमाडौं, जेठ २ । भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण हुन थालेपछि पर्साको ठोरी गाउँपालिका–३ ले सीमामा काँडेतार लगाएको छ। भारतले गर्दै आएको सीमा अतिक्रमण रोक्न काँडेतार लगाइएको हो। ठोरी गाउँपालिका ३ का वडा अध्यक्ष सूर्य लामाका अनुसार भारतीय ज्यादती धेरै नै भएकाले जनताको आग्रहमा काँडेतार लगाएको हो। ०६४ सालदेखि नै तत्कालिन गाविस हुँदा सीमामा काँडेतार लगाउन प्रपोजल पेस गरेपनि ०७४ को अन्तिममा विकास बजेट कटौती गरेर तारबार लगाएको उनले बताए। उनले भारतसँग सीमा जोडिएको नेपालको ठूटेखोला नजिकैको पिल्लर नम्बर ४३५÷१ देखि ४३१÷४ सम्मको करिब साढे चार किलोमिटर क्षेत्रफलमा काँडेतार लगाएको बताए। काँडेतार लगाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा गाउँपालिककै सहयोग र भारतीय एसएसवीको समेत समर्थन रहेको थियो। उत्तः क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तारबार लगाइएको छ।

भारतीय दवाबपछि काम रोकियो साढे चार किलोमिटर क्षेत्रमा काँडेतारबार लगाएपछि भारतीय सीमा छुट्टिन करिब एक किलामिटर बाँकी छ। तर भारतका वन रक्षकको दवावको कारण काम पुरा हुन सकेको छैन। भारतीय हस्तक्षेप बढ्न थालेको र भारतबाट बन्यजन्तुले खेतीबाली नष्ट पारेपछि स्थानीयको माग अनुसार काँडेतार लगाउन थालिएको हो उनले भने, अब काम सक्किन एक किलोमिटर जति मात्र बाँकी छ। तर भारतका वन रक्षकको दबावले गर्दा काम अघि बढ्न सकेको छैन्।भारतले उक्त क्षेत्र आफ्नो भूमि रहेको भन्दै बिवाद झिकेपछि काम रोकिएको हो। उनी भन्छन्,’आफ्नो एक इन्च जमिन कसैलाई छाडिने छैन बरु मर्न किन नपरोस्।’

३३ लाख खर्चिएर काँडेतारसाढे चार कलोमिटरको क्षेत्रमा काँडेतारबार लगाउँदा अहिलेसम्म ३३ लाख रुपैयाँ खर्च भइसकेको छ। ०७४ सालको अन्तिमबाट काँडेतार लगाउन सुरु गरेको काम अब अन्तिम चरणमा पुगेको छ।सीमामा काँडेतार लगाएपछि अतिक्रमण रोकिनुका साथै भारतबाट मनोमानी रुपमा आउने जाने पनि बन्द भएको छ। काँडेतार लगाउनु अघि नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठ लगायतको टिमले उक्त क्षेत्रको अध्ययन गरेका थिए। अध्ययनपछि उनीहरुको राय अनुसार नै काँडेतार लगाउने काम अघि बढाइएको अध्यक्ष लामाले बताए।सीमा विवाद र अतिक्रमणबारे कुरा आइरहेको समयमा सीमानामा काँडेतारबार लगाउनु पर्ने झन् सान्दर्भिक देखिएको ठोरी गाउँपालिकाका प्रवत्ता रामप्रकाश कुँवरको भनाई छ।