क्याम्पस प्रमुख नै क्वारेन्टाइनमा बस्न मानेनन् : सीडीओ भन्छन् गलहत्ताएर भारतै पठाउनु

प्रकाशित मिति:

हरि शर्मा,  नवलपरासी   २ जेठ :  पश्चिम नवलपरासीको बेलाटारीस्थित त्रिभुवन क्याम्पसका प्रमुख मनोजधर दुवे क्वारेन्टाइनमा बस्न अटेरी गर्दै आएका छन् । ३ दिनअघि भारतबाट आएका उनी आफ्नै क्याम्पसको क्वारेन्टाइनमा नबसी होम क्वारेन्टाइनमा बस्ने भन्दै अडान लिएका हुन् । दुई दिनअघि सोही क्याम्पसको क्वारेन्टाइनमा बसेका एक जनामा कोरोना पुष्टि भएको थियो । क्वारेन्टाइनमा नबसी होम क्वारेन्टाइनमा बस्ने जनाएपछि क्याम्पस प्रमुख बाहिर हिडडुल गर्न सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । गाउँपालिकाले सोही क्याम्पसमा क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइन स्थलदेखि केही पर रहेको भवनमा उनी बस्दै आएका छन् । भारतबाट आएको जानकारी पाएपछि प्रशासनले उनलाई क्वारेन्टाइनमा लैजान लागेको थियो । तर राजनीतिक दबाबले उनलाई त्यसै छाडिएको स्थानीयले बताएका छन् । राजनीतिक दबाबपछि प्रशासनले समेत उनलाई क्वारेन्टाइनमा लैजान वास्ता नगरेको स्थानीयको भनाई छ ।

भारतबाट आउने सबैलाई होम क्वारेन्टाइनमा नभई संस्थागतमा राख्दै आएपनि राजनीतिक दबाबले उनलाई छुट्टै राख्दा स्थानीयले त्यसको बिरोध गरेका छन् । क्वारेन्टाइनमा रहेको स्वास्थ्य टोलीले आउने बित्तिकै उनको नाम समावेश गरेको थियो । तर डेरामै बस्ने अडान लिएपछि सुरक्षा दिन नसक्ने भन्दै प्रशासनले नाम हटाउन लगाएको क्वारेन्टाइनका स्वास्थ्य इन्चार्ज क्रषी चौधरीले बताए । भारतबाट आउने जो कोही पनि घरमा नभई संस्थागत क्वारेन्टाइनमा बस्नु पर्ने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए । क्याम्पस प्रमुखले क्वारेन्टाइनमा बस्न अटेरी गर्दै आएको र लकडाउन उल्लगंन गरेको आरोपमा कारबाही हुने प्रजिअ दाहालले बताए ।“ क्वारेन्टाइन नजिकै डेरा भएपनि बस्न पाईदैन । स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्नु पर्छ । क्याम्पसको क्वारेन्टाइनमा नबसे गलहत्ताएर भारतमै पठाउनु भनेर प्रहरीलाई निर्देशन दिइएको छ ।” प्रजिअ दाहालले भने । क्वारेन्टाइनमा हाल ५२ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् ।