कोभिड १९ मा सूचनाको हकको अवस्था

प्रकाशित मिति:

कोभिड १९ को समयमा सूचनाको हकको प्रयोगको अवस्था कमजोर रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएकाछन् । सेफर्ड कलेज काठमाडौंले शुक्रबार आयोजना गरेको कोभिड १९ मा सूचनाको हकको अवस्थामा विषयक अनलाइन अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले अहिलेको अवस्थामा नागरिकलाई सूचना झनै बढि आवश्यक भएपनि राज्यले नै त्यसको वातावरण नवनाएको विचार राखेका थिए । उनीहरुले नागरिकले सूचना नमागेकै अवस्थामा पनि उपलब्ध गराउनुपर्ने मत राखे । कविता शर्माले संयोजन गरेको अन्तरक्रियामा सूचनाको हकका अभियान्ता तारानाथ दाहाल, सूचना विभागका पूर्व सूचना आयुक्त द्धय सविता भण्डारी बराल र किरण पोखरेल र सेफर्ड कलेजका प्राध्यापक सुर्यचन्द्र बस्नेत सहभागी थिए । हामीले अन्तरक्रिया कार्यक्रममा राखिएका विचारलाई सम्पादन गरि समेट्ने प्रयास गरेका छौं ।

सरकारले जोखम बाहेकका सूचना उपलब्ध गराउनुपर्छ : तारानाथ दाहाल –यस्तो वेलामा सूचना सबैको लागि महत्वपूर्ण हुन्छ । अत्यावश्यक सूचनाको उपलब्धतामा सक्रियता जरुरी हुन्छ । सरकारले सूचना दिने कुरालाई तल देखी माथिसम्म रणनैतिक तरिकाले महत्व दिनुपर्छ भन्ने कुरा हामीले शुरु देखी नै उठाउँदै आएको आवाज हो । कोभिड १९ मै केही कुराहरुको तथ्यपरक सूचना नपाइएका उदाहरणहरु छन् । धेरै देशले सूचनाहरुलाई सक्रिय रुपमा प्रदान गर्न छुट्टै वेवसाइट समेत बनेका छन् तर हाम्रोमा सूचना लुकाउने काम भएको छ । अहिले जस्तो महामारीको अवस्थाको परिकल्पना थिएन । सय वर्ष अगाडि आएका महामारीमा यसरी विश्व जोडिएको थिएन । प्रविधिको विकास थिएन, क्षति भए पनि त्यस प्रतिको त्रास फैलिएको थिएन । अहिले प्रविधिले गर्दा अहिले भोगेको स्थितिको महसुस हुन पाएको छ । यो अवस्थामा सबै भन्दा उपयुक्त तरिका भनेको भएका सूचनाको खुलासा नै महत्वपूर्ण हो । सूचना तथ्यांक पारदर्शी र अध्यावधिक भैरहनुपर्छ । कोरोनाको नियन्त्रणमा नागरिक र राज्यको सकारात्मक शक्तिको प्रयोग हुनुपर्छ । यसमा एकिकृत रणनीति नै आवश्यक पर्छ । तर त्यस तर्फ सरकारले प्रयास गरेन । अरु त अरु अहिले उच्च स्तरीय कार्यदल, क्याविनेटका निर्णय समेत सार्वजनिक भएका छैनन् । सरकारका निर्णय माग्न जाँदा पत्रकारले पाउनुभएको छैन । सरकारले जोखम बाहेकका सूचना उपलब्ध गराउनुपर्छ । सरकारले भ्रामक समाचार बाँड्छ त्यसको प्रभाव संचार माध्यममा पर्छ । सरकारले सूचना व्यवस्था गर्न सकेको छेन यसले जनतामा भय र त्रास बढेको छ । अहिले हुने सूचनाको दुस्प्रचारको जिम्मा कसले लिने ? अहिले यस्ता आयोग र संसदको सक्रियता झनै बढ्नुपर्छ ।  नागरिकको व्यावहारमा सुधार, मास लेवलमा परिक्षण, संक्रमितलाई छुट्याउने र आम नागरिकलाई भय त्रासबाट मुक्त राख्नुपर्यो । अहिले संचार माध्यमा मात्र छैनन्, सामाजिक संजालहरु पनि छन् । हरेक नागरिकमा सूचना प्रवाह गर्ने प्रविधि उपलब्ध छ । नागरिकले यिनै माध्यमबाट पनि एक अर्काका संचार गर्न सक्छन् । तसर्थ यि माध्यमबाट सही सूचना प्रवाह हुन्छन् नै भन्ने छैन । भयाभह सूचनाले त्रास फैलाउने र मनोवैज्ञानिक असर पुराउने काम गरेको हुन्छ । सरकार र नागरिकबीच बिश्वासमा संकट पैदा गरेको हुन्छ । सूचना तथा संचार मन्त्रालय यस्तो अवस्था पनि एक किसिमले सुतेर बसेको छ । यो गंभिर त्रुटी हो यसले प्रभावकारी संचारमा बाधा पुराएको छ । व्यावहार परिवर्तनमा प्रभावकारी संचारको आवश्यकता छ । यो अवस्थामा पत्रकारको दक्षता क्षमता बढाउनको लागि सहयोग गर्न सके विश्वसनीय र तथ्यपरक समाचार संप्रेषण हुन्छ । सकारात्मक कुराको पनि सम्प्रेषण हुनुपर्यो ।

राज्य सूचना प्रति उत्तरदायी भएन भने संचारमामध्यमले जिम्मेवार भएर सूचना प्रवाह गर्नुपर्छ : किरण पोखरेल –कोरोना कस्तो लक्षण देखिए के रोग हो, रोगलागे कहाँ जानुपर्छ, उपचार कसरी गर्नुपर्छ भन्नकै लागि पनि सूचनाको आवश्यकता पर्छ । अर्को तिर राज्यले बनाएका नीति नियम तथा प्रावधान समेत अक्षरस कार्यान्वयन हुनको लागि पनि सूचना प्रवाह हुनु आवश्यक छ । तर यसको लागि भरोसा योग्य सरकारको आवश्यक पर्छ । जनताको विस्वास जित्न सरकार पारदर्शी, जवाफदेही, अनुशासित र उत्तरदायी हुनु जरुरी छ । यसको लागि जनताको सूचनाको हकको प्रत्याभुती हुनुपर्छ । सूचनाको हक स्वतन्त्रता, लोकतन्त्रको सुदृढिकरण र सेवा प्रवाहमा चुस्ततासँग सम्बन्धित छ । अझ अहिले महामारीमा त सूचनाको हक सिधै जनताको जीवनसँग सम्बन्धित बनेको छ । यसले स्वास्थ्य मात्र हैन जनजिवीकाका हरेक सवालमा प्रभाव पारेको हुन्छ । अझ स्वस्थ्य क्षेत्रको सवालका केही सूचना प्रवाह गर्ने प्रयास गरिएको भए पनि न त त्यो प्रयाप्त छ, न त सन्तोषजनक नै छ ।
कारोना जटिल परिस्थिति हो । यो महामारीको जोखिममा सूचनाको भूमिका महत्वपुर्ण हुन्छ । यसले महामारीसँग जुध्न तयार रहन आम नागरिकलाई सूचनाले सहयोग गरेको हुन्छ । जनता निवेदन लेखेर सूचना माग्न जाने अवस्थामा छैनन् , त्यसैले राज्यले आफैले बुझेर दिनुपर्दछ । यो जनता सूचना माग्न आउँछन् भनेर मुख ताक्ने बेला हैन । केही गरेर राज्य सूचना प्रति उत्तरदायी भएन भने संचारमामध्यमले जिम्मेवार भएर सूचना प्रवाह गर्नुपर्छ । संचार माध्यमले समाचारलाई नागरिकलाई आश्वस्त पार्दै, उत्साह थप्ने प्रयास गर्नुपर्छ । अहिलेको अवस्थामा संचार माध्यमले पनि जनता प्रति आफ्नो भरोसालाई बढाउनुपर्छ ।

अहिले हामीले आआफ्नो ठाउँबाट भूमिकाहरु सशक्त रुपमा पुरा गरेकै छैनौं : सविता भण्डारी बराल-अहिले पनि सूचना माग्ने परिपाटी नै छैन । कोरोनाको महामारी पछि सबै भन्दा बढि मानसिक समस्या आउन सक्छ । अहिले कसैले सूचना माग्न भन्दा पनि राज्यले आफैले सूचना दिनु आवश्यक छ । अहिले कोरोना कशै सन्दर्भमा गलत मान्यता छन् । त्यसलाई बुझाउन राज्य नै अगाडि आउनुपर्छ र राज्यको दायित्व यति कोरोना संक्रमित भेटिए भन्ने मात्र भन्दा पनि भोली कस्तो अवस्था आउँछ र के गर्नुपर्छ भन्ने कुरा सूचनाबाट सचेत गराउनु पर्छ । राज्यका निकाय जवाफदेही र उत्तरदायी बन्नुपर्छ । अहिले झनै अन्यौलता बढाइरहेको अवस्था पनि छ । यसबेला राज्यले सूचना उपलब्ध गराउन सक्रियता जनाउनुपर्ने हुन्छ । सूचना आयोगले पनि अहिलेको अवस्थालाई हेरेर आफ्नो अधिकार प्रयोग गरेर आवश्यक व्यवस्था गर्न सक्दछ । आयोग आफैले पनि जनताले सूचना माग्न आउछन् र दिन्छौ भनेर बस्नु भन्दा पनि संवेदनशिलतालाई बुझेर आफै सक्रियता जनाउन जरुरी छ । नागरिकको स्वास्थ्य, जाँच्ने प्रविधि, सामाग्रीको उपलब्धता के छ भन्ने जस्ता कुराको सूचनाको लागि आयोगले सरकारलाई निर्देशन दिने समय आएको छ ।
अहिले आम नागरिक बिहान उठ्दा देखी नै बिभिन्न खालको सूचनाको खोजीमा हुन्छ तर ति सूचना पनि गलत रुपमा आइरहेको भन्ने देखिन्छ । अहिले हामीले आआफ्नो ठाउँबाट भूमिकाहरु सशक्त रुपमा पुरा गरेकै छैनौं । अहिले लकडाउनमा छौं जसरी भएनी बाँचौंला तर भोली कस्तो स्थिति आउने हो भन्ने कुराको जानकारी नै छैन । यस्तो अवस्थामा राज्यले भूमिका निर्वाह गर्नुपर्छ । स्वास्थ्य देखी,यातयात, कृषि लगायतका सूचना उपलब्ध भए नभएको खोज ीगर्न सूचना विभागको सकृयता जरुरी छ ।

कसैले पनि गलत सूचना दिनुहुँदैन र सही सूचना लुकाउन हुँदैन :  सुर्यचन्द्र बस्नेत-सूचनाको हकलाई कार्यान्वयन गर्न सके सरकारलाई जवाफदेही गराउने नागरिकलाई सूसुचित गराउने कुरामा सहयोग पुग्छ । पहिलेको तुलनामा सूचना माग्ने प्रवृति त बढ्दो छ तर यस्तो अवस्थामा अझै बढि सूचना माग्नुपर्ने हो । सरकारले गरेका काम, रोग नियन्त्रणमा भएका प्रयासहरुबाट सूसुचित हुन सके ढिलासुस्ती तथा अनियमितता रोक्ने र थप नोक्सानीबाट बचाउन सहयोग पुग्छ । सूचना माग्ने कार्य यो अवस्थामा अरु समयको तुलनामा झनै बढ्नुपर्ने हो तर भएको छैन । यो समयमा मागेकै अवस्थामै पनि सूचना पाइरहेको अवस्था छैन । अहिले कहाँबाट कसरी सूचना दिने भन्ने कुरा अन्यौता छ । लकडाउनको अवस्थामा हामीले् सही सूचना नागरिकमा दियौं भने सही प्रभाव पर्छ । यदि गलत सूचना दियौं भने त्यसको प्रभाव नकारात्मक नै पर्छ । समाजका स्वास्थ्य देखी आर्थिक, शैक्षिक क्षेत्रमा परेका प्रभाव जुन भौतिक मात्र नभएर मानसिक रुपमा पनि प्रभाव पर्न नदिन संचार माध्यमको सही सूचना प्रवाहको भूमिका रहन्छ । यस अर्थ कसैले पनि गलत सूचना दिनुहुँदैन र सही सूचना लुकाउन हुँदैन । दुत्रता भन्दा पनि तथ्यपरक भएर संचार माध्यमले सूचना प्रवाह गर्नुपर्छ ।