नेपाली सेनाका जवानमा पनी कोरोना पुष्टि

प्रकाशित मिति:

काठमाडौं, जेठ ३ । काभ्रे र महोत्तरीका दुई जना कोरोना संक्रमित नेपाली सेनाका जवान रहेको पुष्टि भएको छ।शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाको संक्रमण पुष्टि भएका महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक नेपाली सेनाका जवान रहेको खुलेको हो।सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले शनिबार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेका काभ्रे र महोत्तरीका दुवै संक्रमित नेपाली सेनाका जवान रहेको बताए। उनीहरु दुवैजना मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको उनले जानकारी दिए।

योसँगै कोरोनाबाट संक्रमितको संख्या २७८ पुगेको छ। संक्रमितमध्ये २२४ जना पुरुष र ५४ जना महिला रहेका छन्। संक्रमितमध्ये ३६ जना भने निको भएर घर फर्किसकेका छन्। यसअघि शनिबार बिहान र दिउँसो कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटाका तीन जना, बर्दिया नार्खु– ११ निवासी २८ र २९ वर्षीय पुरुष, सिराह सखुवा– १९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगरा–४ निवासी १८ वर्षीय महिला र चितवन गढौली–१ निवासी २५ वर्षीय महिला गरी ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।