न्युयोर्कका प्रवासी नेपाली एकता मञ्चको राहत सहयोग

प्रकाशित मिति:

न्युयोर्क। प्रवासी नेपाली एकता मञ्च अमेरिकाको आर्थिक सहयोगमा कोरोना बिरुद्ध रोकथाम तथा सचेतना अभियान न्युयोर्कले समन्वय गर्ने गरी न्युयोर्क र न्युजर्सीमा एफ-१ भिसा स्टाटसमा रहेका नेपाली बिद्यार्थीहरुका लागि क़रीब एक महिना पुग्ने खाद्यान्न बितरण गरेको छ। संगठनका उत्तर-पूर्वी क्षेत्रका संयोजक कृष्ण लामिछाने र उप-संयोजक विजय ज्ञवालीले कोरोनाबिरुद्ध सचेतना समूह न्युयोर्कका संयोजक आनन्द बिष्ट तथा अभियन्ता अच्युत सिग्देल,बिष्णु रानामगर र राज कुमार बिष्ट लगायतका अगुवाहरुलाई शनिबार दिउसो न्युयोर्कको उडसाईडमा राहत स्वरुपको ग्रोसरी हस्तान्तरण गरेका हुन्।

ब्रुकलिन बोरोका प्रेसिडेन्ट एरिक एडम्सको समेत उपस्थिति रहेको सो राहत बितरण कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अमेरिकाको २५०० डलर बराबरको सहयोगबाट ५० जना बिद्यार्थीलाई प्रतिब्यक्ति २० पाउन्ड बाँसमती चामल,नुन,दाल,तेल,प्याज,आलु र ब्रेड गरी क़रीब एक महिनालाई पुग्ने ग्रोसरी सचेतना तथा सहयोग समूहका सदस्यको सहयोगमा बिद्यार्थीको घर घरै पुर्याउने प्रतिबद्धता गरिएको छ। अमेरिकामा प्रवासी नेपाली एकता मन्चले महामारी सुरु भए यता संक्रमित नेपालीहरुलाई टाईलेनोल,थर्मोमिटर,एन नाईन्टी फाईब मास्क,हेन्ड स्यानिटाईजर र ग्लोभ्स समेत बाँडिरहेको कुरा संगठनका उत्तर पूर्वी उपसंयोजक विजय ज्ञवालीले नेपाली पत्रिकालाई बताए। न्युयोर्कका सामाजिक अगुवा आनन्द बिष्ट,अच्युत सिग्देल,टेक गुरुङ,आङ छिरिङ शेर्पा, बिष्णु राना मगर,मिलन कुमार शाही,राज कुमार बिष्ट,पासाङ शेर्पा,याम लामा, भरत सङ्ग्रौला,शिव बानियाँ,सोनम गेल्बु शेर्पा,नवराज खड्का,छिरिंग लाक्पे लामा,मुना राई,छिरिङ योन्जन,अंकुर लुईटेल र टिकाराम पाण्डे लगायतका झण्डै दुई दर्जन सामाजिक अगुवाहरुले आफूहरु जोखिममा रहेर पनि राहत तथा सहयोगको लागि अग्र मोर्चामा रहेर गरेको सत्कर्मको सर्वत्र चर्चा भईरहेको छ।