मल,बिउ उपलब्ध गराउन र तस्करी रोक्न समाजवादीको माग

प्रकाशित मिति:

बुटवल, ५ जेठ । देशव्यापी लकडाउनका कारण किसानहरुले खेती गर्ने समय आउन लागिसक्दा पनि मल, बिउ पाउन नसकेकाले तत्काल सहजरुपमा उपलब्ध गराउन समाजवादी पार्टी रुपन्देहीले माग गरेको छ । पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादवले विज्ञप्ति जारी गर्दै तराईका जिल्लाहरुमा धानको बिउ राख्ने बेला भएपनि किसानले सहजरुपमा बिउ र मल पाउन नसकेको उल्लेख गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण देशको उद्योग व्यवसाय ठप्प रहेकाले कृषि क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिई उत्पादन बढाउन किसानलाई समयमै मल, बिउ,सिंचाई र किटनासक औषधी लगायतका आधारभूत आवश्यकता परिपुर्ति गर्नेतर्फ सरकारको उचित ध्यान नभएको विज्ञप्तिमा उल्लेख छ । समयमा मल, बिउ,सिंचाई, औषधि नपाए कृषि उत्पादन घट्ने र खाद्य संकट निम्तिन सक्ने अध्यक्ष यादवले विज्ञप्तिमा औंल्याएका छन् ।

एकातिर खेतीको सिजन शुरु हुन लाग्दा किसानलाई अति आवश्यक मल,बिउ,सिंचाईको अभाव भइरहंदा लबकडाउनकै बीचमा भारतीय सीमा क्षेत्रबाट भन्सार छलेर चिनी,कपडा लगायत वस्तुहरुको अवैध आयात जारी रहेको पनि विज्ञप्तिमा दावी गरिएको छ । समाजवादी पार्टीले सीमा क्षेत्रबाट हुने चोरी तस्करी पुर्णरुपमा रोक्न पनि प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ । रूपन्देहीका केही गाउँपालिका तथा नगर पालिलका पुर्ण रूपमा शिल गरिएको अवस्थामा पनि सीमावर्ती खुला सिमाना एवं साना नाकाबाट ब्यापक तस्करी बढेको विज्ञप्तिमा उल्लेख छ । भन्सारका कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निगरानी गरिरहेको दाबी गरेता पनि बेलहिया, रोहिणी, मर्चवार, ककरहवा क्षेत्रबाट राजस्व छलेर लाखौं मूल्यका सामान भित्रिंदा यसबाट राज्यलाई राजस्वमा नोक्सानी र अर्कोतर्फ त्यस्ता सामाग्रीको कारणले सजिलैसंग कोरोना भाइरस फैलिन सक्ने त्रास रहेको विज्ञप्तिमा औंल्याइएको छ । लकडाउनको मौकामा जिल्लाको विभिन्न भागमा नदिजन्य पदार्थको उत्खनन् गरी अवैध तरिकाले चोरी निकासी भैरहेको भन्दै समाजवादीले यस्तो कार्यमा संलग्न ब्यक्तिहरु पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न समाजवादी पार्टी रुपन्देहीले माग गरेको छ ।