१२ जना कोरोना संक्रमित गाउंपालिका अध्यक्षको प्रश्न : गाउंमा भयावह अवस्था आइसक्यो, केन्द्र र प्रदेश सरकारले के हेरेर बसेका छन् ?

प्रकाशित मिति:

सबलपोष्ट । १२ जना कोरोना संक्रमित भएका कपिलवस्तुको यशोधरा गाउंपालिकाका अध्यक्षले स्थानीय तहहरुमा भयावह अवस्था आइसक्दा पनि केन्द्र र प्रदेश सरकारले बेवास्ता गरेको भन्दै आक्रोश पोखेका छन् । भारतसंग सीमा जोडिएको आफ्नो गाउंपालिकामा १२ सय जना भन्दा बढी नागरिक क्वारेन्टाइनमा बसेको १२ दिन भइसक्दा जम्मा ६२ जनाको मात्रै स्वाब परीक्षण हुन सकेको उनले बताए । क्वारेन्टाइनमा बसेकाहरु अधिकांश भारतको मुम्बई,कानपुर लगायतका स्थानबाट फर्केका हुन् । ‘६२ जनाको पीसीआर परीक्षण हुंदा १२ जनामा कोरोना पोजेटिभ आयो’–गाउंपालिका अध्यक्ष गिर्जेशकुमार पाण्डेले भने–‘क्वारेन्टाइनमा बसेका एघार सय भन्दा धेरैको परीक्षण गर्नै बांकी छ, केन्द्र र प्रदेश सरकारले के हेरेर बसेका छन् ?।’ १०–१२ दिन पुग्न लाग्दा पनि परीक्षण नभएपछि क्वारेन्टाइनमा बसेकाहरु भाग्न थालेका भन्दै अध्यक्ष पाण्डेले स्थानीय सरकारले मात्रै सबै गर्नुपर्ने हो भने केन्द्र र प्रदेश सरकारको के काम भनी प्रश्न गरे । सत्तारुढ दलबाट चुनाव जितेका प्रदेशसभा सदस्यहरु बृजेशकुमार गुप्ता र धर्मबहादुर लाल श्रीवास्तवलाई पनि गाउपालिकाको समस्या जानकारी गराएपनि कुनै पहल नगरेको गाउंपालिका अध्यक्ष पाण्डेले गुनासो गरे ।

‘आफ्नै पार्टीको सरकार छ, गाउंमा कोरोनाको भयावह अवस्था आइसक्यो तर प्रदेशका सांसदहरुले कुनै पहल गरेका छैनन्’–उनले प्रश्न गरे–‘आफ्नो निर्वाचन क्षेत्र उच्च जोखिममा पर्दा नागरिकलाई बचाउने दायित्व प्रदेश सांसदको होइन ?’ परीक्षण हुन ढिला भएपछि गाउंवासी अत्तालिन थालेकाले किटको व्यवस्था गर्न सामाजिक विकास मन्त्री सुदर्शन बराललाई आइतबार दिउसो दश पटक फोन गर्दा पनि नउठको र त्यसपछि मुख्यमन्त्रीलाई फोन गर्दा एक दुई दिनमा व्यवस्था हुने आश्वासन आएको अध्यक्ष पाण्डेले बताए । सरकारले काठमाडौंलाई मात्रै ध्यान दिएको तर प्रदेशका सीमा क्षेत्रका पालिकाको समस्यामा बेवास्ता गरेको उनको आरोप छ । पालिकाका २५ वटा क्वारेन्टाइनमा बसेका सबैको पीसीआर टेस्ट गर्नुपर्ने भएकाले एक हप्ता अघिदेखि नै जिल्ला स्वास्थ्य कार्यालयलाई अनुरोध गर्दा कहिले प्रदेश सरकार त कहिले केन्द्रबाट आज–भोलिमा किट आउंदैछ भन्दै अल्झाएर राखिएको गाउंपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले गुनासो गरे । गाउंपालिकाले आफै किन्न पनि नपाउने अनि प्रदेश र केन्द्रले यसरी ढिलासुस्ती गर्दा अवस्था जटिल बनिसकेको उनले गुनासो गरे ।

‘एक हप्तादेखि सिडिओ र जिल्ला स्वास्थ्य प्रमुखलाई किटको व्यवस्था गरेर छिटो परीक्षण गर्न अनुरो गरेको ग¥यै छौं तर कसैले सुनेनन्’–दुबेले भने–‘न समयमा परीक्षण हुन्छ, न क्वारेन्टाइनमा गर्मीमा पंखा लगायत सुविधा नै छन्,अनि मान्छे भाग्दैनन् त ?।’ गाउंपालिकाको वडा नंं. ८ का दुई क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति शुक्रबार र शनिबार भागेका थिए । भागेकालाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताएपनि क्वारेन्टाइनमा अझै नआएका स्वास्थ्य शाखा प्रमुख दुबेले बताए । वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राबिको क्वारेन्टाइनबाट शुक्रबार राति ३० जना र सोही वडाको राष्ट्रिय निमाबि सिंहोखोरका १५ जना शनिबार राति क्वारेन्टाइन छोडेर भागेका वडा अध्यक्ष सहाबुद्दिन मुसलमान बताउंछन् । ‘भागेकाहरुलाई मर्यादपुर प्रहरी चौकीका प्रहरीले घर घर पुगेर नियन्त्रणमा लिइसकेका छन्’–उनले भने–‘उनीहरु सबैलाई छुट्टै क्वारेन्टाइनमा राख्छौं ।’ यशोधरा गाउंपालिकाका १२ जनामा कोरोना संक्रमण भएकामा वडा नंं ८ मा मात्रै पाँच जना संक्रमित छन् । पहिल्यै गाउं नै शिल गर्नु पर्नेमा खोरिया गाउंको क्वारेन्टाइनका व्यक्ति भागेर पुनः घरमा फर्किनु सुरक्षा निकायको चरम लापरवाही भएको स्थानीयको आरोप छ ।