उत्पादन गर्नुहोस् बजारको जिम्मा नगरपालिकाले लिन्छ : प्रमुख खाँण

प्रकाशित मिति:

वालिङ । वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले नगरवासीलाई उत्पादनमा जोड दिन आग्रह गर्न भएको छ । उहाँले भन्नुभयो, तपाईहरु उत्पादन तर्फ लाग्नुहोस् हामी बजारको जिम्मा लिन्छौं । वालिङ ३ मा सञ्चालन भएको कल्चरल तथा स्थानीय ड्रेस उत्पादन सम्वन्धी तालिमको समापन गर्दै प्रमुख खाँणले भन्नुभयो, सीपको सही पदुयोगबाट नै आर्थिक बिकास सम्भव छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताउदै नगर प्रमुख खाँणले भन्नुभयो, नगर भित्र कहाँ के गर्दा ठीक हुन्छ हामी त्यही काम र उत्पादनलाई प्राथमिकता दिनेछौं । उहाँले थप्नु भयो, अहिलेको बिषम परिस्थितिले पनि आफ्नै ठाँउमा केही गर्नु पर्छ भन्ने देखाएको छ ।

कुनै उत्पादनमुलक काम गर्ने क्रममा पैसाको आवश्यक्ता परे नगरपालिका जमानी बसेर ऋण उपलव्ध गराउन शुरु गरिसकिएको उहाँले जानकारी गराउनु भयो ।स्थानीय तथा कल्चरल ड्रेसको उत्पादनले आम्दानी बढ्नुका साथै धर्म संस्कार र संस्कृतिको संरक्षण पनि हुने प्रमुख खाँणको भनाई छ ।उहाँले दीर्घकालिन रुपमा नगरका सबै खाले उत्पादनको बजारको व्यवस्थापन गर्ने गरी काम भईरहेको जानकारी गराउनु भयो ।सो अवसरमा बोल्दै दियालो संस्थाका अध्यक्ष कबिता तिवारीले नगरवासीको आर्थिक उपार्जन हुने गरी आफूहरुले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले बिभिन्न प्रकृतिका तालिम तथा सहयोग उपलव्ध गराई नगरवासीलाई उत्पादन तर्फ जोड दिन संस्थाले बिशेष पहल गरिरहेको स्पष्ट पार्नु भयो ।

अध्यक्ष तिवारीले भन्नुभयो, फरक फरक प्रकृतिका सहकारी मार्फत उत्पादन बढाउने तर्फ संस्थाको ध्यान छ ।वालिङ नगरपालिका,गरिवसँग बिश्वेश्वर कार्यक्रम, युएनडिपी नेपाल र दियालो संस्थाको साझेदारीमा तालिम सञ्चालन गरिएको हो ।“सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत दुई महिने कल्चरल ड्रेस उत्पादन तालिम सञ्चालन गरिएको हो ।कार्यक्रममा वडा अध्यक्ष सुक बहादुर गुरुङ, दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे, वडा सचिव राजेन्द्र पौडेल,प्रशिक्षक बिना पुन, सहभागी निरमा गुरुङ लगायतले बोलेका थिए ।कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण तालिम समापन गर्न रोकिएको थियो ।