मेलामा सांस्कृतिक कार्यक्रममा दर्शकको भिडभाड

प्रकाशित मिति:

बिष्णु खत्री, १३ कार्तिक सैनामैना
सैनामैनामा जारी तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला अवलोकन गर्ने दर्शकको भिडभाड बढेको छ । मंगलबार छैँठौ दिन सांस्कृतिक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल सङ्गै ,लोक तथा दोहोरी गायक बैकुण्ठ महत,गायिका विष्णु श्रीपाली लगायत स्थानिय कलाकारहरुको प्रस्तुति हेर्ने दर्शकको भिडभाड बढेको व्यापार संघका सचिव एवम् मेलाका प्रचार प्रसार संयोजक दिपेन्द्र ढकालले बताउनुभयो ।
साथै मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यालय स्तरीय नृत्य प्रतियोगिता,वडा स्तरीय दोहोरी गित प्रतियोगिता र डान्सिङ आईडल दिन प्रतिदिन रोचक हुँदै गएपछि मेला हेर्ने दर्शकको संख्या बढ्दै गएको हो । महोत्सवमा सञ्चालित डान्सिङ आईडल २०७५ मा मंगलबार ८ जना प्रतस्पर्धी अघिल्लो चरणका लागि छनोट भएका छन् भने बुधबार देखि हरेक दिन १ जना प्रतिस्पर्धी बाहिरिदै जाने अतिरिक्त क्रियाकलाप संंयोजक देविदत्त सुवेदीले बताउनुभयो । निर्णायक र दर्शकको भोटिङको आधारमा कम मत प्राप्त गर्ने प्रतियोगी बाहिरिने छन् ।
यसैगरी वडा स्तरीय दोहोरी गित प्रतियोगितामा मंगलबार वडा नं ९ विजयी भएको छ । वडा नं ५ र वडा नं ९ का बिच भएको प्रतिस्पर्धात्मक घम्साघम्सी दोहोरी गित प्रतियोगितामा वडा नं ९ विजयी भएको मेलाका सांस्कृतिक संयोजक पिताम्बर न्यौपानेले जानकारी दिनुभयो । बुधबार वडा नं ३ र वडा नं ५ का बिचमा दोहोरी प्रतियोगिता हुनेछ । साथै मेलामा बुधबार राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनी, थारु गायक श्री निवास चौधरी, लोक तथा दोहोरी गायिका इन्दिरा गैरे (इन्दु)का साथमा मम्मी डान्स लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ ।
मेलामा सोमबार देखि सुरु भएको खुल्ला भलिवल प्रतियोगितामा मंगलबार कन्चन भलिबल क्लव र बेभ्र गोर्खा बुटवल विजयी भएका छन् । मंगलबार भएको पहिलो खेलमा मुर्गिया युथ क्लव सेतो र कन्चन भलिबल क्लव बिच भएको खेलमा कन्चन भलिबल क्लव ३–२ ले विजयी भएको हो । त्यसैगरी दोस्रो खेलमा ब्रेभ गोर्खा बुटबल र कालिजंगगण सालझण्डी बिच भएको खेलमा ३ – ० को सोझो सेटले बेभ्र गोर्खा बुटवल विजयी भएको हो ।
खेलमा बुधबार ३ खेल हुने भएका छन् । जसमा पहिलो खेल जिल्ला भलिबल संघ गुल्मी र मुर्गिया युथ क्लव रातो र दोस्रो खेलमा मणिमुकुन्द तिलोत्तमा र रिभर साईड कन्चनका बिच प्रतिस्पर्धा रहने खेलकुद संंयोजक प्रकाश पौडेलले बताउनुभयो । यसैगरी तेस्रो खेलमा बेभ्र गोर्खा बुटबल र कालि गण्डकी स्याङ्जाका बिच खेल हुने पौडेलले बताउनुभभयो । देश निर्माणमा व्यापारको आवश्यकता व्यवसायिक हित संगै सामाजिक एकता भन्ने मुल नाराका साथ कार्तिक १८ गते सम्म संचालन हुने सैनामैना औद्योगिक व्यापार मेला पर्रोहा मा.वि. को अगाडि रहेको खेल मैदानमा चलिरहेको छ ।