कविता : पशु पक्षी

प्रकाशित मिति:

पशु र पक्षी चीत्कार गर्दा, आवाज सुनेर
घरमै बस्न सकिन मैले यि कानै थुनेर ।
कुकुर रुन्छ, गौ माता पनि गरेकै सुन्छु बाँ
नसकी उड्न भुइँमा खस्दा देखियो परेवा ।।

गिज्यायो आज मलाई आफ्नै थालको भागले
इनार–पानी पाइन कतै भन्दैछ कागले ।
दयालु मान्छे हरायौं कता लुकेका छौ किन ?
फुटाउ बरु यि मेरा आँखा म हेर्नै सकिन ।।

मन्दिर वारि बाटोको पारि चिच्च्याए बाँदर
हरायो पक्कै पहिले जस्तै माया र आदर ।
आत्तियो मान्छे सुतेरै खाँदा घरकै छानामा
हात्ती र बाघ कसरी बस्छन् चिडियाखानामा ।।

जीव र जन्तु बसेका हुन्छन् मान्छेकै भरमा
के खान्छन् कठै खुवाउँ केही नलुकौं घरमा ।
पानी र चारो भएनी थोरै राखौं है गेटमा
केहीका छोरा–छोरीको पक्कै पर्लानी पेटमा ।।

लाख नै बत्ती बालेर पनि पाउछौं के भन ?
पुण्य नै हुन्छ बचायौं भने पक्षीको जीवन ।
गरिब म त के सक्छु दिन, कुरो हो धनीका
छर्दैनौं किन आँगन तिर मुठीले कनिका ।। – बाबुराम भण्डारी