कोभिड १९ को अवस्थामा अग्रमोर्चामा रहने पत्रकारको हितमा किन सम्बन्धित निकाय मौन छ ?

प्रकाशित मिति:

कोभिड १९ को उच्च प्रभाव क्षेत्रमा रहेका पत्रकारले बढ्दो संक्रमणसँगै सूचना संकलनमा जोखिम बढ्दै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । तर जोखिम बहन गरेरै भए पनि पत्रकारको धर्म पुरा गरेका संचारकर्मीको समस्यामा कमैको ध्यान पुगेको उनीहरुको भोगाई छ । सेफर्ड कलेज काठमाडौंले शुक्रबार आयोजना गरेको हटस्पटमा नेपाली मिडिया विषयक भिडियो संवाद उनीहरु सोध्छन्, यस्तो अवस्थामा अग्रमोर्चामा रहने पत्रकारको हितमा किन सम्बन्धित निकाय मौन छ ? काठमाडौंमा कविता शर्माले संयोजन गरेको कार्यक्रममा नेपालगञ्जबाट कालपृष्ठ दैनिकका सम्पादक हेमन्त कर्माचार्य, बुटवलबाट नागरिक दैनिकका व्युरो प्रमुख रेखा भुसाल, बिरगञ्जबाट माउण्टेन टेलिभिजनका ब्युरो प्रमुख महेश दास र उदयपुरबाट कारोवार दैनिकका संवाददाता गोपाल पोखरेलले विचार राखेका थिए । प्रस्तुत विचारको सम्पादित अंश 

हेमन्त कर्माचार्य  :नेपालगञ्ज क्षेत्रमा रहेका पत्रकार साथीहरु सामान्य मास्क, सेनिटाइजर उपयोगमा ल्याउनु भएको छ । स्वास्थ्य सचेतना अपनाउँदै आएको छ । कोभिडको प्रभाव बढे पछि पिसिआर परिक्षण समेत गरिएको छ । अहिलेसम्म नेगेटिभ परिणाम देखिएको छ ।
समाचार संकलनमा प्रतिस्पर्धा देखिने गरेको पनि हो । यसले गलत सूचना जाने समेत भएको थियो तर पछिल्लो समयमा हामीले समाचार संकलनको क्रममा सचेतता अपनाउनको लागि समाचारको भेरिफाइ गर्ने मेकानिज्म बनाएर काम गर्ने अभ्यास गरेका छौं । पत्रकारले अनावश्यक जोखिम नलिने गरि काम गर्न टास्क फोर्स समेत बनाएकोले समाचार संकलनमा केही सहज भएको छ । बाँकेमा धेरै स्वास्थ्य लाभ भएर फर्किएको भए पनि ६ सय भन्दा बढि रिपोर्ट आउन बाँकी रहेकोले अवस्था अझै जोखिम पूर्ण नै तर संचारकर्मीले माहोललाई सहज बनाउन जिम्मेवार भएर लाग्दै आएका छौं । समर्गमा हेर्दा पत्रकारिता आफैमा कहिल्यै सिकाई पुरा नहुने अभ्यास हो । कोभिड १९ को समाचार संकलनको क्रममा पनि हामीले शुरु देखी नै यसलाई भित्रननदिन बाहिरबाट संक्रमण रोक्ने भन्नेका जोड दियौं । विस्तारै जब कोरोना मुलुकमा भित्रियो त्यस पछि रिर्पोटिंगको दायरा बढ्यो । हामी पत्रकार नै कुन कुरालाई कसरी उठाउने भन्ने मै अन्यौलता आयो । एकातिर नागरिकलाई सूचना दिनुछ अर्को तिर नियन्त्रित भएर कसरी समाचार संकलन गर्ने भन्ने कुरालाई बाँधिएर समाचार सम्प्रेषण गर्नुपर्ने भएको छ । यसले के देखाउँछ भने सामाजिक रुपमा असर नपुराउने गरि समाचार संकलन गर्ने भन्ने आम साझा बुझाइ त छ तर संयमित हुनुपर्ने धेरै क्षेत्र छन् ।
उद्योग क्षेत्र माथि उठ्न अझै लामो समय लाग्ने र उद्योग धन्दा संचार संस्थाको आर्थिक स्रोतको रुपमा रहेकोले अबका एक वर्ष नेपाली संचार संस्थाको लागि पक्कै पनि चुनौती पुर्ण रहन्छ । सरकारले साना तथा मध्यम खालका संचार संस्थाको दीगोपनामा सहयोग गनुपर्छ ।

रेखा भुसाल :धेरै समय फिल्डमा खटेका हुन्छौं । प्रदेश ५ मा कोभिडको प्रभाव बढ्दा यस क्षेत्रका पत्रकारको दैनिकी पनि त्यसमै वितेको छ । कोभिडको संक्रमण बढ्दै जाँदा पत्रकारहरु सुरक्षा सामाग्री उपलब्ध भएका साथीहरुले् फिल्डमा पुगेको अवस्था छ भने धेरै साथीहरुले फोनबाटै भए पनि रिपोर्टिङ गरिरहनु भएको छ । टेलिभिजनका साथीहरु भिजुअलका लागि फिल्डमै जानुपर्ने वाध्यता छ । हाम्रो प्रयास आफु सुरक्षित रहेर पत्रकारिताको धर्म पुरा गरिरहेका छौं । पत्रकारमा त्रास छ तर यसमा सावधानी र सुरक्षाका बिधि प्रयोग गर्दै आएकोले पत्रकारहरुमा आत्मविश्वास बढ्दै गएको छ । स्वास्थ्य सम्बन्धी सूचना पाउन खासै गाह्रो छैन । स्थानीय तह तथा प्रदेशका मन्त्रालयका सूचना पाइएकै छ तर कहिले काहीँ हतारमा समाचार संकलन भएको अवस्था छ , यसमा पत्रकार मात्र भन्दा पनि पत्रकारले भेरिफाइ गर्ने निकायले वेवस्ता गरेको समेत पाइएको छ । उहाँहरुको आफ्नो कार्य व्यस्तता पनि होला तर हामीले समाचार संकलन गर्दै दवाव हुन्छ तर सरकारी अधिकारीलाई उदृत गर्दा पनि सही सूचना पाउन नसक्ने अवस्था छ । जिम्मेवार निकायका जिम्मेवार व्याक्ति संवेदनशिल नबनेको उदाहरण पनि छ । पत्रकार जिम्मेवार बन्न प्रयास गर्दा गर्दै पनि अहिलेको असहज अवस्थाले सूचना संकलनमा केही कठिनाइ पक्कै छन् ।
पत्रकारले सबै क्षेत्रलाई समेटेर समाचार संकलन गर्नुपर्ने वाध्यता छ, सबै तहका आधिकारीक व्याक्तिलाई भनाई उदृत गर्दा हामीले कमजोरी स्विकार्नुपर्ने वाध्यता छ तर सम्बन्धित निकाय आफैले भने कमजोरी स्विकार्न सकेको अवस्था छैन ।हाम्रो क्षेत्रमा संचार माध्यमलाई चलाउनको लागि कुनै पनि तहको सरकारले चासो नदेखाएको अवस्था छ । यसले संचार माध्यम चल्न गाह्रो भएको छ, यसको असर श्रमजीवि पत्रकारका परेको छ । जोखिम मोलेर काम गर्दै आएका पत्रकारको हितमा यो अवस्थामा सरकारको ध्यान पुग्नुपर्ने हुन्छ । सूचना दिनको लागि पत्रकार आवश्यकता पर्ने तर पत्रकारको हितमा सरकार मौन बस्न नसुहाउने कुरा हो ।

महेश दास : लकडाउन पश्चात हाम्रो व्यस्तता बढिरहेको छ । हाम्रो लागि यो चुनौती, अवसर र अग्रमोर्चामा रहँदा जोखिमको अवस्था पनि बढेको छ तर हामीमा यति छिट्टै कोरोनाको संक्रमण रहन्छ भन्ने लागेको थिएन तर जब हाम्रा साथीहरुमा कोरोना संक्रमण देखियो त्यस बेला कसरी समाचार संकलन गर्ने भन्ने चिन्ता थपियो भने अर्को तिर हाम्रो कारणले परिवारमा पनि जोखिम बढ्यो भन्ने हामीमा चिन्ता शुरु भयो ।
हामीले टेलिभिजनको लागि दृष्य संकलन गर्न जाने साथी घरमा नजाने योजना समेत बनाएर काम गर्यौं । यस विचमा धेरै इश्युहरु र्आ पछि त्यसलाई समेट्ने प्रयास गर्दा व्यस्तता बढ्यो । आम नागरिकका समस्या, कोरोनाको संक्रमण, कालोवबजारी, सिमा नाकाका समस्या, राहत वितरणका समस्या, उद्योगका समस्या लगायतका धेरै सवालमा रिपोर्टिंग गर्नुपर्दा हाम्रो व्यस्तता बढ्यो ।अधिकांश संचारगृहले पत्रकारलाई सचेत भएर काम गर्नुहाला भन्ने बाहेक अरु केही भएको छैन । हामीसँग जे उपलब्ध स्रोत र साधन छ त्यसमै निर्भर रहेर समाचार संकलन गर्नुपरेकोछ । अहिले हामी मास्कको भरका समाचार संकलन गर्दै आएका छौं ।सूचना हामीसँग आएको हुन्छ । त्यसै अनुसार अन्य संचार माध्यममा प्रकाशन प्रसारण भएपछि हामीलाई पनि त्यसलाई प्रशारण गर्ने दवाव हुन्छ तर स्रोत कुनलाई बढि आधिकारिक मान्ने भन्ने कुरामा चुनाती सृजना हुन्छ । हामीलाई जिल्ला स्तरमा सम्बन्धित निकायले सूचना दिन कन्जुसाई गर्दै आएको अवस्था छ । जिल्लामै भएको सूचना पनि हामीले केन्द्रसँग समन्वय गर्नुपर्ने बाध्यता छ । कतिपय अवस्थामा कोभिड प्रभावित क्षेत्रमा पत्रकारले नै कोरोना फैलाएको जस्तो व्यवहार आएको छ । जिल्लामा लामो समय हामीले सुरक्षित रुपमा समाचार संकलन गर्न पाएका छैनौं । कतिपय अवस्थामा स्थानीय प्रशासन पनि हावी भैरहेको अवस्था छ ।जव पत्रकारमै कोरोनाको संक्रमण देखियो पत्रकारलाई त्यसकै आधारमा दवाव दिने र नकारात्मक व्यवहार हुँदै आएको छ । सूचना पाउन गाह्रो पर्दै गएको छ ।अर्को तिर जिल्ला स्तरमा संचालनमा आएका संचार संस्था विज्ञापन अभावका कारण गाह्रो पर्दै गएको छ । यस क्षेत्रमा धेरै उद्योगी भएको र उनीहरु उद्योग संचालनमा समेत गाह्रो परेको बताइरहेकोले संचार संस्था बन्द हुने संकेत गरेको छ । यस्तो अवस्थामा पत्रकारको हितमा बोल्ने संस्थाको भूमिकाको खोजी हुने बेला भएको छ । कोरोनाको बहानामा पत्रकारको श्रम शोषण हुने संभावना बढेको छ । कोभिडको क्रममा जनचेतना जगाउन संचार माध्यमले भूमिका खेलेकोले पत्रकारको हितको लागि पनि सम्बन्धित निकायले चासो देखाउन आवश्यक छ ।

गोपाल पोखरेल :उदयपुरका पत्रकार साथीहरु सेल्फ क्वारेन्टाइनमा छौं । कोभिड १९ को रिपोर्टिंगमा अग्रपंतिमा रहेका पत्रकार साथीहरु आफै जोखिममा परेपछि यो अवस्था आएको हो । हामी फिल्डमा जान नपाउँदा समाचार संकलनमा असुविधा भएको छ ।
उदयपुरमा कोरोना देखिँदा हामीलाई ठुलो तनावको स्थिति आयो । जव एकै पटक कोरोनाको महामारी देखियो , त्यसबेला हामीलाई पर्याप्त सूचना पाउन सक्ने अवस्था थिएन । जोखिम मोलेर प्रभावित क्षेत्रमा जानै पर्ने वाध्यता थियो । अहिले जिल्लामा कोरोना भन्दा बाहिरका समाचार आउन सकेको छैन । समूदायमा अन्य खालका सवाल पनि छन् तर हामी आफ्नै सुरक्षाको कारण ति सवाललाई समेट्न सकेका छैनौं । सेल्फ क्वारेन्टाइनमा बस्दा हामीले आफ्नै सुरक्षाको लागि हो भन्ने बुझेका छौं तर पनि यसले आत्मवललाई थोरै कमजोर पक्कै पनि बनाएको छ । हामी अन्य जिल्लाका साथीहरुसँग निरन्तर सम्पर्कमा छौं । कोरोना प्रभाव क्षेत्रको समाचार संकलनमा हामी अगाडि देखी नै भिडेकोले नयाँ ठाउँका साथीहरुलाई सचेत गराउँदै आएका छौं । हाम्रो भोगाई के पनि छ भने सूचना पहिलै चाहियो भनेर पत्रकारकै भर पर्ने र पत्रकारलाई कोरोना लाग्दा छिःछि र दुर दुर गर्दै आएको र त्यसै अनुसारको व्यावहार भोग्दै आएका छौं ।विभिन्न क्षेत्रबाट पत्रकारलाई सहयोग त हुँदै आएको छ तर जिल्लामा समाचार संस्थाबाट सेवा सुविधा नपाए पनि खट्नु परेको अवस्था छ । पत्रकारको धर्म हो हामीले समाचार संकलन गर्नुपर्ने नै छ तर तीनै तहका कुनै पनि सरकारले पत्रकारको हितमा व्यवस्था गर्न सकेको छैन । चासो देखाएको अवस्था छैन ।समग्र देशको आर्थिक अवस्था नै तहसनहस भएको अवस्थामा संचार क्षेत्र पनि पक्कै पर्छ । सरकारले आगामी बजेटमा संचार क्षेत्रको स्थायीत्वमा सहयोग पुग्ने बजेट आएको अवस्थामा पत्रकारको रोजगारी सुरक्षित होला तर साच्चिकै राज्यको चौथों अंगको रुपमा राज्यले सोंचेको छ भने पत्रकारको हितमा कार्य योजना ल्याउन आवश्यक छ ।