विज्ञापनमा सिक्किमलाई अलग देश भनेपछि दिल्लीमा हगांमा

प्रकाशित मिति:

एजेन्सी । सामान्य विषयलाई ख्याल नगरेपछि नेपालबिरुद्ध अभियान चलिरहेकै बेला दिल्ली सरकारदेखि भारतको केन्द्रीय सरकार सम्म खैलाबैला मच्चिएको छ । भारतको दिल्ली राज्य सरकारले बिहीबार निकालेको एउटा विज्ञापनमा सिक्किमलाई नेपाल र भुटानजस्तै बेग्लै मुलुकका रुपमा उल्लेख गरिएको विषयलाई लिएर बबाल मच्चिएको हो । दिल्ली सरकारअन्तर्गत सिभिल डिफेन्स कर्पले स्वयंसेवकका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा आवेदनका लागि आवश्यक पर्ने पूर्वयोग्यतामा भारतीय नागरिक वा सिक्किम, भुटान वा नेपालको नागरिक र दिल्लीको बासिन्दा हुनुपर्ने उल्लेख थियो । विज्ञापनमा सिक्किमलाई भुटान र नेपालजस्तै बेग्लै मुलुकका रुपमा उल्लेख गरिएका कारण दिल्ली सरकारको व्यापक आलोचना भएको छ ।

विज्ञापनलाई लिएर विवाद चर्किँदै गएपछि दिल्ली सरकारले जिम्मेवार अधिकारीलाई निलम्बनसमेत गरेको छ । उक्त विज्ञापन प्रकाशित भएपछि सिक्किम सरकारले तत्काल आपत्ति जनाउँदै त्यसबाट अत्यन्त चोट पुगेको भन्दै त्यसलाई तत्काल हटाउन माग गरेको थियो ।सिक्किम सरकारका मुख्यसचिव एससी गुप्ताले दिल्ली सरकारलाई पत्र लेख्दै सिक्किमका जनताले भारतीय नागरिक भएकोमा गर्व गर्ने गरेको भन्दै विज्ञापनले उनीहरुलाई अत्यन्त चोट पुगेको जनाउनुभएको थियो । १६ मे १९७५ मा भारतको २२ औं राज्यका रहँदै आएका सिक्किमका जनताका जसले महान भारतको नागरिक हुनुमा गर्व गरिहेकै बेला यो विज्ञापनले उनीहरुलाई अत्यन्त चोट पुरÞ्याएको पत्रमा उल्लेख छ ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिहं तामाङ ९गोले०ले पनि विज्ञापनमा भएको गल्ती भत्सर्नायोग्य भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्नुभएको छ । विज्ञापनलाई लिएर विवाद सिर्जना भएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत् विज्ञापनलाई हटाइएको र जिम्मेवार अधिकारीलाई निलम्बन गरिएको बताउनुभएको छ । सिक्किम भारतको अभिन्न अंग हो । यस्ता त्रुटि सहन सकिँदैन । विज्ञापन हटाइएको छ र जिम्मेवार अधिकारीमाथि कारबाही गरिएको छ,’ केजरीवालले ट्वीटमा भन्नुभएको छ । विज्ञापनलाई लिएर दिल्लीका उपराज्यपाल अनिल बैजलले पनि ट्वीट गर्दै विज्ञापनलाई तत्कालै रोक्नुपर्ने र त्यसले भारतको भौगोलिक अखण्डताको अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको थियो ।