नयाँ नक्साको ऐतिहासिक महत्व बुझाउनुपर्ने भएकोले आफै नेताहरुको घरमा गएको मन्त्री अर्यालको भनाई

प्रकाशित मिति:

काठमाडौँ – लिम्पियाधुरा इतिहासदेखि नै नेपालको नक्सामा नरहेको बताएपछि आलोचित भूमिसुधार मन्त्री पद्मा अर्याल नक्साकै विषयलाई लिएर फेरि एकपटक विवादमा तानिनुभएको छ । भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी भएसँगै सरकारको वाहवाही भइरहेको थियो । नयाँ नक्सा जारी गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने मन्त्री अर्यालले पनि चौतर्फी प्रसंशा र बधाई खाइरहेकै बेला एकाएक फेरि उहाँको आलोचना सुरु भएको हो । जारी नयाँ नक्सालाई अन्तराष्ट्रियस्तरमा स्थापित गर्न, संयुक्त राष्ट्र संघ लगायत विभिन्न अन्तराष्ट्रिय नियोगहरूमा पु¥याउन विज्ञहरूले सुझाव दिइरहेका बेला मन्त्री अर्यालको प्राथमिकता आफ्नै देशका नेताहरुमा परेपछि आलोचना चर्केको हो ।

राजनीतिक विश्लेषक पुरन्जन आचार्यले मन्त्री अर्यालको यो कार्यलाई सस्तो लोकप्रियताको संज्ञा दिनुभयो । सरकारले जारी गरेको नयाँ नक्सालाई फजुल खर्च गरेर नेताहरुको घरघरमा पु¥याउन गएको विषयमा मन्त्री अर्यालले आलोचना खेप्नुपरिरहेको छ । सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले मन्त्री अर्यालले राज्यको ढुकुटी दुरुपयोग गरेर आफ्ना नेता रिझाउन खोजेको भनेर पनि आलोचना गरिरहेका छन् । प्रमुख विपक्षी दलका नेता चन्द्र भण्डारीले पनि मन्त्री अर्यालबाट अशोभनीय काम भएको टिप्पणी गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक अध्यक्ष कमल थापाले पनि नक्सा बाँड्नकै लागि मन्त्री नै नेताहरुको घरघरमा चहारिएको विषयलाई सस्तो लोकप्रियता भन्नुभएको छ । मन्त्री अर्यालको नाम नलिए पनि उहाँले नेताहरुको घरघरमा गएर नक्सा बाँड्दै सस्तो लोकप्रियताको पछि नलाग्न आग्रह गर्नुभएको छ ।

तर यता मन्त्री पद्मा अर्यालले भने नयाँ नक्सालाई जतिसक्दो चाँडै जनस्तरसम्म पु¥याउने सरकारको कर्तव्य बमोजिम नेताहरुलाई पनि नक्सा वितरण गरिएको स्पष्ट पार्नुभएको छ । नेपाली रेडियो नेटवर्कसँग बोल्दै मन्त्री अर्यालले ऐतिहासिक नक्साको महत्व नेताहरुलाई बुझाउनका लागि पनि आफै नक्सा वितरणका लागि नेताहरुसमक्ष पुगेको बताउनुभयो । मन्त्री अर्यालले नयाँ नक्सा नेताहरुलाई बाँड्यो भनेर विरोध गरिरहन आवश्यक नरहेको बताउनुभयो । उहाँले नयाँ नक्सा छिट्टै प्रकाशनको चरणमा पनि रहेकोले आधिकारिक नक्सा स्थापित गर्न सबैलाई सहयोगका लागि आव्हान पनि गर्नुभयो । यसैबीच चौतर्फी आलोचना भएपछि मन्त्री अर्यालले नेताहरुका घरघरमा नयाँ नक्सा पु¥याउन जाने कार्य स्थगित गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । घरघरै पुगेर नक्सा सार्वजनिक गर्ने र वितरण गर्ने कार्य सस्तो लोकप्रियताका लागि गरिएको भन्दै आलोचना भएपछि यो कार्य स्थगित गरिएको सचिवालयले जानकारी दिएको छ । तर देशभरका अन्य सरकारी कार्यालयमा नक्सा पु¥याउने कार्य भने जारी नै रहने मन्त्रालयले जनाएको छ । रेडीयो एनआरएन वाट साभार