भातृत्व र मानवताको पर्व ईद र शुभकामना

प्रकाशित मिति:

फखरुद्दिन खान-इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईदुल फित्र (ईद ) र बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा (व्रत) राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व त्यो अद्वितीय कुरबानी (बलिदान) को सम्झना हो जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए । इस्लाम धर्मावलम्बिहरूले संसारभरी नै प्रायशः एकै किसिमले मनाउने यो चाड नेपालमा बसोवास गर्ने मुसलमानहरूले पनि धूमधामका साथ मनाउँदछ्न् । यसको नियममा १ महिनासम्म सुर्यन नअस्ताउन्जेल पूर्णरुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछि त्यही दिन रोजा सकिएको मानिन्छ । अर्को दिन ईदको शुभकामना एक आपसमा आदान प्रदान गरी आपसी भातृत्व,बन्धुत्वलाई अझ प्रगाढ बनाइन्छ । ईदको दिनमा बिहानै सबै मुसलमान समुदायले स्नान गर्छन् । आफ्नो सामथ्र्य अनुसार राम्रा–राम्रा नयाँ कपडा लगाउँछन् । रमजानको ईदमा नमाजका लागि जानुभन्दा अगाडि सम्पूर्ण मानिस एउटा निर्धारित सद्का ए फित्र (धर्मादान) लाई निकालेर गरीब, असहाय वा मदरसाहरूलाई दिन्छन् ।हजरत मुहम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीब गुरूवाहरूको पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरूले आफ्नो संचित धनको २.५ प्रतिशत हिस्सा गरिबहरूलाई फित्रा (दान) गर्नु पर्ने नियम छ । बिहान केही घाम चढेपश्चात् सबै मानिस घरहरूबाट निस्किन्छन् जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होस् । त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित र सम्मिलित हुन्छन् ।

यस सामूहिक खुसीमा सबै सरिक होऊन् भन्ने विचार गरिएको हुन्छ । ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदान (जसलाई इदगाह भनिन्छ) मा पढिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान यो तक्विर (जप) पढ्दै हिंड्छन् ‘अल्लाहु अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द अर्थात अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकै लागि हुन् । ईदगाहको मैदानमा जब सबै मानिस नमाज पढ्नका लागि एकत्रित हुन्छन् तब पंक्तिबद्ध भई एकाग्रतासाथ दुई रकअत नमाज पढ्छन् । इमाम (धर्मगुरु) उभिएर प्रवचन (खुत्बा) दिन्छन् । शुक्रवारको नमाजका विपरीत यो प्रवचन नमाजपश्चात् हुन्छ । यो मौका वर्षमा दुई पटक मात्रै आउने गर्छ । धर्मगुरुले आफ्ना प्रवचनहरूमा शिक्षा, सचेतता, मार्गदर्शन र इस्लामी जमाअत (समूह) का सम्बन्धमा महत्वपूर्ण समस्या र मुद्दाहरूमाथि प्रकाश पार्छन् । यो समूह ईदगाहबाट नमाज पढेपछि हिंड्छ । जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किन राम्रो मानिन्छ । यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तुतिबाट खाली नहोस् भन्ने हो । सबैको घरघरमा सेमईको गुलियो परिकार बन्ने हुंदा नमाज पढेर आएपछि सबैले एक अर्काको घरमा गएर ईदका लागि बनाइएका परिकार खाने प्रचलन हुन्छ ।

यसको अर्थ विगतका कुनै कारणवश एक आपसमा मनमुटाव र तिक्तता हुन गएको छ भने पनि ईदको पवित्र दिनमा एक अर्काको घरमा गएर खानपिन गरेर मनमुटाव र तिक्तता हटाउने हो । यो चाडले आपसी भाइचारा सम्बन्ध प्रगाढ बनाउने गर्दछ । नेपालमा अहिले कोरोना भाइरसको संक्रमणको जोखिमका कारण देशव्यापी लकडाउन छ । तसर्थ मुस्लिम समुदायले आफ्नो घरमै बसेर इद उल फित्र मनाउनुपर्ने वाध्यता छ । कोरोनाको महामारीबाट बच्न सबैले आफ्नो घरमै बसेर यो महान चाड मनाउनुहुन म सम्पूर्ण मुस्लिम समुदायमा विनम्र आग्रह गर्दछु । मुस्लिम समुदायको यस महान र पवित्र चाडको अवसरमा समस्त मुस्लिम समुदायसहित विशेषगरी रुपन्देही क्षेत्र नंं ५ का बासिन्दा सहित सबै नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । अन्त्यमा कोरोना संक्रमणबाट नेपाल र विदेशमा मृत्यु भएका सम्पूर्ण नेपाली र मुस्लिम समुदायका व्यक्तिप्रति भावपूर्ण श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना पनि प्रकट गर्दछु । कोरोना संक्रमण भएर उपचारका क्रममा अस्पतालमा रहनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु । कोरोना महामारीबाट बच्न र बचाउन घरमै बसौं । लकडाउनको पूर्ण पालना गरौं । हामी बांच्यौं भने मात्रै हाम्रो धर्म,संस्कार र संस्कृति बचाउन सकिन्छ । यही नै मेरो तर्फबाट इद उल फित्रको फेरि पनि शुभकामना ।(लेखक नेपाली कांग्रेसका युवा नेता एवं रुपन्देही ५ (ख)का प्रदेश सभा सदस्य हुन् )