कांग्रेस नेता कनौडियाद्वारा ईदको शुभकामना

प्रकाशित मिति:

बुटवल, १२ जेठ । प्रदेश ५, प्रदेश सभामा प्रमुख विपक्षी दलका कार्यवाहक नेता विरेन्द्र कुमार कनौडियाले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्रको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रदेश सभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसको तर्फबाट र आफ्नो निर्वाचन क्षेत्र कपिलवस्तु ३ ९ ख० को प्रदेश सभा सदस्यका तर्फबाट नेता कनौडियाले ईदको शुभकामना सन्देश व्यक्त गरेका हुन् ।कपिलवस्तु क्षेत्र नंं ३ (ख) बाट निर्वाचित प्रदेश सभा सांसद कनौडियाले सोमबार एक विज्ञप्ति जारी गर्दै इद उल फित्र (ईद) आपसी भाइचारा सम्बन्ध प्रगाढ बनाउने र मानवता प्रवद्र्धन गर्ने महत्वपूर्ण सांस्कृतिक पर्व भएको भन्दै आफ्नो निर्वाचन क्षेत्र कपिलवस्तु सहित नेपाल र विश्वभरका इस्लाम धर्मावलम्बीमा सुस्वास्थ्य, समृद्धि र शान्तिको शुभकामना व्यक्त गरेका छन् ।

पवित्र पर्व ईद उल फित्रले सबै जात,धर्म र समुदायका नेपालीहरुबीच सांस्कृतिक सद्भाव विस्तार गर्ने विश्वास पनि उनले गरेका छन् । नेपाल वहुजातीय, वहुधार्मिक र वहु सांस्कृतिक मुलुक भएकाले जातीय, धार्मिक र सांस्कृतिक विविधता रहेको उल्लेख गर्दै नेता कनौडियाले राज्यले सबै धर्म,जाति र संस्कृतिलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् । इस्लाम धर्मावलम्बीहरुमा सम्पन्न र धनी व्यक्तिले वर्षभरि आफूले कमाएको आम्दानीको २.५ प्रतिशत हिस्सा आफू भन्दा कमजोर वर्गलाई बांड्ने जुन प्रचलन छ, यो सबै धर्मावलम्बीले अनुशरण गर्नुपर्ने पक्ष हो भन्दै नेता कनौडियाले यसले धनी र गरीबबीचको खाडल कम गर्दै सामाजिक सद्भाव र मानवता प्रवद्र्धन गर्ने आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् । विगत केही महिना यता नेपालसहित सिंगो विश्व कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणले आक्रान्त बनेकाले यसबाट बच्न व्यक्तिगत दूरी कायम गर्दै घरमै बसेर ईद मनाउन पनि नेता कनौडियाले आग्रह गरेका छन् ।

नेता कनौडियाले कोरोना भाइरसका कारण ज्यान गुमाएका नेपालीसहित विश्वभरका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमणका कारण उपचार गराइरहेका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । कोरोनाको संक्रमणबाट बच्न सबै नेपालीलाई लकडाउनको पूर्ण पालना गर्न अपील गर्दै कनौडियाले लकडाउनको मारमा परेका श्रमिक वर्ग,उद्योगी,व्यवसायीलाई राहत कार्यक्रम घोषणा गर्न पनि सरकारलाई सुझाव दिएका छन् । नेता कनौडियाले सरकारको गैर जिम्मेवार रवैयाका कारण विदेशमा लाखौं नेपाली अलपत्र परेको हुंदा उनीहरुलाई अविलम्ब आफ्नो देशमा ल्याउन केन्द्र र प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने माग समेत विज्ञप्तिमा गरेका छन् ।