विराटनगर संगको खेलमा बुटवल पराजित

प्रकाशित मिति:

पोखरामा जारी पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट प्रतियोगिताको रोमाञ्चक खेलमा विराटनगरले पहिलो जित निकालेको छ। अघिल्ला तीन खेलमा हार व्यहोरेको विराटनगरले बुधवार भएको खेलमा बुटवललाई १२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो। बुधबारको हारसँगै बुटवलले प्रतियोगितामा खेलेका तीन खेलमा पहिलोमा हार व्यहोरेको छ।

विराटनगरले दिएको १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन मात्रै जोड्न सफल भयो। बुटवललाई अन्तिम ओभरमा जितका लागि १३ रनको आवश्यकता हुँदा विराटनगरका लागि अन्तिम ओभर लिएर आएका किशोर महतोले उत्कृष्ट बलिङ गर्दै आफ्नो टोलीलाई जित दिलाए। उनको ओभरमा सिद्धान्त लोहनी रन आउट भएका थिए भने ओभर मेडन भएको थियो। बुटवलकालागि भिम सार्कीले सर्वाधिक ५० रन बनाएपनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन्। यस्तै सागर पुनले २९ तथा शंकर रानाले २३ रन जोडे। विराटनगरका सन्दिप लामिछाने र किशोर महतोले समान २ तथा शाहब आलम र सुनिल धमलाले एक एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन जोडेको थियो। विराटनगरका लागि ओपनिङ ब्याट्सम्यान मोहम्मद जैद आलमले सर्वाधिक ७२ रन जोडे। ४५ बल सामना गरेका उनले ६ चौका र ५ छक्का प्रहार गरे। आलम सागर पुनको बलमा स्टम्पिङ हुन पुगे। यस्तै प्रदिप ऐरीले ४१ रन जोडे। ४३ बल सामना गरेका उनले लगातार विकेट जान थालेपछि सम्हालिएर खैल्दै आफ्नो टोलीलाई सम्मानजनक स्कोर दिलाए। ऐरी अन्तिम ओभरको पहिलो बलमै ललित भण्डारीको बलमा एलबीडब्लु आउट हुन पुगे। विराटनगरकालागि अन्य ब्याट्सम्यानले भने दोहोरो अंक समेत छुन सकेनन्। बुटवलका ललित भण्डारीले २ तथा विपिन खत्री, सम्साद सेख र सागर पुनले समान एक एक विकेट लिए।