साहित्यकार घिमिरेको संझनामा गृह जिल्लामा स्मृति सभा

प्रकाशित मिति:

कात्तिक १४,रामेछाप– वरिष्ठ साहित्यकार तथा समाजसेवी स्वर्गीय जगदीश घिमिरेको पाँचौँ वार्षिक स्मृति दिवसका अवसरमा उनको गृहजिल्ला रामेछापमा स्मृति सभा गरिएको छ । घिमिरेले स्थापना गरेको तामाकोशी सेवा समितीको आयोजनामा सदरमुकाम मन्थलीमा गरिएको स्मृति सभाको अवसरमा साहित्यकार घिमिरेको सम्झनाका साथै उनिप्रति श्रद्धासुमन व्यक्त गरिएको हो । नेपाली साहित्यको आख्यान विधामा ख्यातिप्राप्त घिमिरेको पाँच बर्ष अघि २०७० साल कात्तिक १४ गते माइलोमा क्यान्सरको कारण ६८ वर्षको उमेरमा मृत्यु भएको थियो । उनको कृति अन्तरमनको यात्राले मदन पुरस्कार समेत प्राप्त गरेको थियो । घिमिरेले लेखेको सकस नामक आख्यान नेपाली साहित्यमा बहुचर्चित छ । यसका साथै घिमिरले लेखेको लिलाम लगायतका उपन्यासहरु पनि त्यतिकै चर्चित छन् । तत्कालीन समयमा घिमिरे विभिन्न पत्रिकाहरुको स्तम्भकारको रुपमा समेत चर्चित थिए ।

साहित्यको क्षेत्रमा मात्र नभई उनको सामाजिक क्षेत्रमा पनि ठूलो योगदान रहेको छ । गैरसरकारी संस्था महासंघ नेपालका संस्थापक अध्यक्ष रहेका घिमिरेले रामेछापको मन्थलीमा २०४५ सालमा तामाकोसी सेवा समिति नामको गैरसरकारी संस्थाको स्थापना गरी रामेछाप जिल्लामा स्वास्थ्य, खानेपानी, शौचालय निर्माण, शिक्षा र सिंचाइ लगाएतका क्षेत्रमा उल्लेख्य काम गरेका थिए । गृहजिल्ला रामेछापमा उनले स्थापना गरेको तामाकोशी सेवा समितिले जिल्लाका ग्रामिण भेगका नागरिकको आयआर्जनमा महत्वपुर्ण टेवा पु¥याएको थियो । हाल उक्त संस्थाले सदरमुकाम मन्थलीमा तामाकोशी सहकारी अस्पताल र मन्थली बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरिरहेको छ ।