सियारीमा रहेको दुई सय वर्ष इतिहास बोकेको रामजानकी मन्दिरको संरक्षण किन हुन सकेन

प्रकाशित मिति:

रुपन्देही, जेष्ठ १२ ।  करिब २ सय वर्ष पुरानो इतिहास बोकेको रुपन्देही जिल्लाको सियारी गाउँपालिकामा रहेको रामजानकी मठको चल अचल सम्पत्ती रहेपनि मन्दिर तथा यसको जग्गा संरक्षण हुन सकेको छैन । जस कारण पर्यटकीय संभावना बोकेको ऐतिहासिक रामजानकी मन्दिर ओझेलमा पर्दै गएको छ । जग्गा दाताले मन्दिरको नाममा जग्गा दिएर गुठी सञ्चालन गरे पनि मठको अवस्था नाजुक बन्दै गएको छ । राजनीतिक र गुठीयारका केही महन्तको ब्यक्तिगत स्वार्थले गर्दा सम्पत्तीको दुरुपयोग गर्दै बेचबिखन हुँदै आएको स्थानियको भनाई छ ।रुपन्देहीको सियारी गाउँपालिकामा करिब २ सय वर्ष पुरानो रामजानकी मठ रहेको छ । सो मठको सम्पूर्ण रेखदेख र संचालन भने लक्ष्मीनारायण मठ मटिहानी महोत्तरीबाट हुने गरेको छ । मन्दिरको नाममा चल अचल सम्पत्ती छ ।

गुठीको नाममा करिब ६० विगाहा जमिन छ । तर मठ मन्दिरको भने कुनै विकास हुन सकेको छैन ।यो मठ राजकीय गुठी अन्र्तगत पर्दछ । गुरु शिष्य पद्धतीबाट गुठी चल्दै आएको छ । गुठीको जग्गालाई यकिन, ब्यवस्थित तथा संरक्षण गर्न नसक्दा जग्गा अतिक्रमणमा पर्ने गरेको छ । भने कतिपय भू–माफियाले चलखेल समेत गर्ने गरेका छन् । गुठीको सम्पत्तीको दुरुपयोग र मठ मन्दिरको विकास हुन नसक्दा स्थानीय रुष्ट छन। मन्दिरको सामान्य मर्मत सम्भार समेत हुन पाएको छैन । गुठी सम्बन्धि स्पष्ट ऐन नीति नबन्दा गाउँपालिकाले गुठीको जग्गा रेखदेख तथा संरक्षण गर्न नसकेको सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु बताउँछन् । जनस्तरबाट समिति बनाई सो क्षेत्रलाई गाउँपालिकाको प्रमुख पर्यटकीय स्थालका रुपमा विकास गर्न सकिने समेत उहाँको भनाई छ ।

गुठीको जग्गा संरक्षण तथा मठको विकासको लागि स्थानीयबाट नै समिति गठन गर्नको लागि लक्ष्मिनारायण मठ मटाहानीबाट १ वर्ष अघि पत्र आएपनि कुनै समिति गठन हुने सकेको छैन ।अहिले मन्दिर र गुठि जग्गा संरक्षणका लागि गाउँपालिका र गुठीका संरक्षक भनिने महन्त विच आपसी द्धन्द चलेको छ । परिणाम स्वरुप मठ अलपत्रमा छ । राजनीतिक चलखेलले गर्दा मठको विकास हुन नसकेको मठका महन्तको आरोप छ । गुठीको जग्गा यकिन गरि संरक्षणमा लाग्न आफु तयार रहेको सो मठका प्रमुख संरक्षक रविन्द्रदास वैष्णव बताउँछन् ।मठको जग्गा यकिन गरि जग्गा संरक्षण तथा इतिहास बोकेको रामजानकी मन्दिर संरक्षण गरि मठको विकास हुनुु पर्ने आश्ययकता रहेको स्थानीयको भनाई छ । सो गुठीबाट आम्दानी सोही मन्दिरमा लगानी गरिनु पर्ने र लुम्बिनी संग जोडिएर रहेको मन्दिरको पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनु पर्ने स्थानियको माग छ ।