प्रधानमन्त्रीले भने एसईई दिन नपाएका विद्यार्थीको शैक्षिक वर्ष खेर जादैन

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा रोकिएपछि भविष्यप्रति चिन्तित बनेका लाखौं विद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिने बताउनुभएको छ। सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले रोकिएको एसईई परीक्षा पुन सञ्चालन गर्न सकिने अवस्था नरहेको स्पष्ट पार्नुभयो।तर, सरकारले विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिने गरी शिक्षा मन्त्रालयले योजना ल्याउने उहाँले बताउनुभयो। सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गरिएको एसईई कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण अझै सञ्चालन हुन सकेको छैन।

परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन्। तर, विद्यार्थीको भविष्य खेर जान नदिने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘एसईई परीक्षार्थीहरुको सिङ्गो शैक्षिक बर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउनेछ ।’प्रधानमन्त्री ओलीले विद्यालयहरुमा नयाँ शैक्षिक वर्षको पठन पाठनको व्यवस्थासमेत मिलाइने बताउँदै आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्षअन्तर्गतको पठन पाठन सञ्चालनको काम अघि बढाउने उहाँले बताउनुभयो।