भोलिदेखि बुटवलमा राष्ट्रिय छात्रा भलिवल प्रतियोगिता

प्रकाशित मिति:

झविन्द्र देवकोटा ,
चौथो एभरेष्ट कप जुनियर राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता बिहीबारदेखि बुटवलमा हुने भएको छ । कार्तिक १७ गतेसम्म हुने राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था एभरेष्ट इङ्लिस बोर्डिङ्ग माध्यमिक विद्यालय बुटवलले जनाएको छ । प्रतियोगितामा देशभरका १६ समूहले सहभागीता जनाउने भएका छन् । एभरेष्ट कप छात्रा भलिबल यसअघि जिल्ला स्तरीय हुँदै आएकोमा यो वर्षबाट भने राष्ट्रिय रुपमा गर्न लागिएको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले जानकारी दिनुभयो । १९ वर्षमुनीका खेलाडीहरु सहभागि हुने गरी जुनियर तहको प्रतियोगिता गर्न लागिएको उहाँले बताउनुभयो ।

बुटवलस्थित एभरेष्ट इंङ्लिस माध्यमिक विद्यालयको प्राङगणमा बिहीबार काभ्रे जिल्ला भलिवल संघ र एभरेष्ट मावि बुटवल, सुदुपश्चिम क्याम्पस कैलाली र रुद्रपुर पिसल्याण्ड रुपन्देही, सगरमाथा मावि देवदह र जानकी मावि चितवन, थ्रीस्टार एकेडेमी काठमाण्डौ र वीस्डम कञ्चनपुर, टप्स मावि कास्की र मणिमुकुन्द मावि बुटवल, श्रीखेलकुद विकास समिति दाङ र नवज्योती मावि, न्यू डायमण्ड मावि काठमाण्डौ र दीप मावि बुटवल, प्यारामाउण्ट मावि मणिग्राम र ज्ञानज्योती मावि बाके बिच प्रतिस्पर्धा हुने आयोजकले बताएका छन् ।

प्रतियोगितामा प्रथम हुने समूहले उपाधी सहित नगद ५० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी द्वितिय समूहले नगद २५ हजार, तृतियले १२ हजार र सान्त्वनाले नगद ५ हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी उत्कृष्ट ५ जना खेलाडीलाई जनही ५ हजार प्रदान गर्ने कार्यक्रम संयोजक अर्जुन घिमिरेले बताउनुभयो । विद्यालयले खेलकुद मार्फत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गरिएको विद्यालयका सहायक प्राचार्य भिमसेन गौतमले जानकारी गराउनुभयो । ९ लाख ८५ हजार बढीखर्च लाग्ने प्रतियोगितामा काठमाडौं, बुटवल, पोखरा, दाङ, धनगढी, नेपालगञ्ज, कञ्चनपुर, चितवन, काभ्रे र रुपन्देहीका गरी १६ समूहले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सहभागि हुने रुपन्देही जिल्ला बाहिरका समुहलाई बुद्ध जन्मस्थल लुम्विनी भ्रमण गराउने कार्यक्रम समेत रहेको आयोजकले बताएको छ ।