आगामी शैक्षिकसत्रको पठनपाठन अनलाइन, रेडियो तथा टेलिभिजनबाट

१६ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
65 Shares


काठमाडौँ — सरकारले आगामी शैक्षिकसत्रको पठनपाठन भर्चुअल, अनलाइन, रेडियो तथा टेलिभिजनको माध्यमबाट अघि बढाउने भएको छ ।अर्थमन्त्री युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै कोरोना संक्रमण जोखिमको कारण विद्यार्थीलाई परेको मनोसामाजिक समस्या निवारण गर्न सिर्जनात्मक विकासका कार्यक्रम सञ्चालन गरिने बताए ।कोरोना प्रभावका कारण शिक्षण संस्था ठप्प छन् । आगामी वर्षभित्र सबै बालबालिकामा आधारभुत शिक्षाको पहुँच सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । विद्यालय जाने उमेर समुहका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने उनले जनाए । सरकारले विद्यार्थी भर्ना अभियान कार्यक्रम नै सञ्चालन गर्दै आएको छ ।मातृभाषामा आधारभुत शिक्षा प्रदान गरिरहेका मदरसा, गुरुकुल, गुम्बाको शिक्षालाई आधारभुत शिक्षाको मुलधारमा आवद्ध गरिने भएको छ । २०७७ भित्र साक्षर नेपाल घोषणा गरिने अर्थमन्त्री खतिवडाले बताए । ११ वर्षदेखि सुरु भएको साक्षरता अभियान अर्न्तगत हालसम्म ५३ जिल्लालाई पुर्ण साक्षरता जिल्ला घोषणा गरिएको छ । आगामी वर्ष २४ जिल्लालाई पनि साक्षर घोषणा गरिने उनले जनाए ।माध्यमिक तह देखि नै प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिने बजेटमा उल्लेख छ । ‘सबै स्थानीय तहका कम्तिमा १ विद्यालयमा प्राविधिक धारको पठनपाठन सञ्चालन गर्ने कार्यक्रम अघि बढाएको छ’, उनले भने ।अहिलेसम्म ६ सय ७ स्थानीय तहमा प्राविधिक धारको शिक्षालय पुगेको छ । आगामी वर्ष बाँकी स्थानीय तहमा शिक्षालय विस्तार गरिने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन लगत्तै दुई वर्ष भित्र सबै स्थानीय तहमा प्राविधिक धारको पठनपाठन सुरु गर्ने प्रतिवद्धता जनाएका थिए ।अर्थमन्त्री खतिवडाले संसदमा शिक्षा, विज्ञान तथा प्रविधि १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेका हुन् । गतवर्षको तुलनामा शिक्षा क्षेत्रको बजेट केहि अर्बले मात्र बढी हो ।गतवर्ष १ खर्ब ६३ अर्ब ७६ करोड बजेट छुट्टाइएको थियो । सत्तारुढ दल नेकपाको चुनावी घोषणा पत्रमा शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट पुर्‍याउने प्रतिबद्धता गरिएपनि १० प्रतिशतको हाराहारीमा मात्रै बजेट विनियोजन हुँदै आएको छ ।

गतवर्ष नै ५ अर्ब बजेट छुट्टाएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुन नसकेपनि यसपाली पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको छ । यस कार्यक्रमलाई थप विस्तार गरिने भन्दै यसपटक ६ अर्ब बजेट विनियोजन गरिएको हो ।सामुदायिक विद्यालयमा कक्षाकोठा निर्माण प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिक, स्वयमसेवक शिक्षक परिचालन गरिने बजेटमा उल्लेख छ । यस कार्यक्रमले विज्ञान, प्रयोगशाला, सुचना प्रविधि ल्याब, खेलमैदान, खेलसामग्रीको व्यवस्था गर्ने भनिएको छ । शैक्षिक पूर्वाधार र गुणस्तर अभिवृद्धिको काम राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम गर्ने खतिवडाले जनाए । ‘सार्वजनिक विद्यालय सबलिकरण दशक कार्यक्रमलाई राष्ट्रपति कार्यक्रमको अंगका रुपमा सञ्चालन गरिनेछ’,उनले थपे ।आगमी शैक्षिक वर्षमा ६ हजार स्वयंमसेवक शिक्षक परिचालन गर्न २ अर्ब २३ करोड विनियोजन गरिएको छ । शिक्षक विद्यार्थी अनुपात धेरै भएका विद्यालय र गणित, विज्ञान, अंग्रेजी शिक्षक अपुग भएका विद्यालयमा स्वयसेवक शिक्षक परिचालन गर्न लागिएको हो । गतवर्षको बजेटमा पनि उक्त कार्यक्रम समावेश भएपनि स्वयमसेवक शिक्षक परिचालन हुन सकेनन् । आवेदन माग्दामाग्दै लडकाउन सुरु भएको थियो ।आगामी वर्ष १ हजार ८ सय विद्यालय भवन, ३८ आंगिक क्याम्पस पुनर्निर्माण, २ हजार ५ सय २० कक्षाकोठा, १/१ हजारको संख्यामा विज्ञान प्रयोगशाला पुस्तकालय, कम्प्युटर ल्याब निर्माण गरिने भएको छ । छात्रवृत्ति कार्यक्रम एकीकृत रुपमा सञ्चालन गरिने भएको छ । विपन्न र अपाङ्गता भएका, सहिद परिवारका छोराछोरी र जेहेन्दारका विद्यार्थीका लागि लागि छात्रवृत्ति वितरण गर्न २ अर्ब ७० करोड बजेट छुट्टाइएको छ । २६ लाख विद्यार्थीले छात्रवृत्ति पाउने उनले बताए ।माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निजी विद्यालयले सामाजिक उत्तरदायित्व पुरा गर्दै कम्तिमा १ सामुदायिक विद्यालयलाई सहयोग गर्नुपर्ने कार्यक्रम ल्याइएको छ । सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार सामग्री सहित शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी निजी लिनुपर्ने बजेटमा उल्लेख छ । सामुदायिक विद्यालयमा अध्ययरत ७७ जिल्लाकै बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने भएको छ । हाल ४३ जिल्लामा लागु भएको दिवा खाजा कार्यक्रम विस्तार गर्न ७ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको हो ।

२८ लाख बालबालिका दिवा खाजा कार्यक्रमबाट लाभान्वित हुनेछन् ।देशभरका सामुदायिक विद्यालयका १३ लाख ४० हजार छात्राहरुलाई स्थानीय तह मार्फत निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन १ अर्ब ८२ करोड पठाइने भएको छ । गतवर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छुट्टाइएको केहि बजेट सेनेटरी प्याड उपलब्ध गराउन खर्च गरिने कार्यक्रम रहेपनि अधिकांश छात्राहरुले निशुल्क प्याड पाउन सकेका छैनन् ।बालविकास केन्द्रहरुको सुधारका लागि स्थानीय तहको लागत सहभागितामा सर्शत अनुदान उपलब्ध गराइने भएको छ । आधारभुत तहसम्म ४६ लाख छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट विनियोजन गरिएको छ ।आगामी वर्षभित्र कैलालीको गेटा मेडिकल कलेज सञ्चालन गरिने अर्थमन्त्री खतिवडाले बताए। उक्त मेडिकल कलेजलाई सिकलसेल एनिमियाको अनुसन्धान केन्द्र बनाउने समेत उनले जनाए । त्यस्तै बर्दिबास, बुटबल, सुर्खेत मेडिकल कलेजको समेत पूर्वाधार विकास गर्न १ अर्ब १७ करोड विनियोजन गरिएको छ । उनले विश्वविद्यालयलाई अध्ययन अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गरिने जनाए । उनले भने, ‘जनशक्तिको प्रत्क्षेपण गरि विषयक्षेत्रगत आधारमा जनशक्तिको उत्पादन गरिनेछ ।’ अनुदान आयोगलाई १७ अर्ब ४३ करोड विनियोजन गरिएको छ ।कृषि, विज्ञान, इन्जिनियरिङ लगायतका विषय पठनपाठन हुने सुदुरपश्चिम र कर्णाली प्रदेशका सामुदायिक क्याम्पसहरुलाई क्रमशः त्रिभुवन विश्वविद्यायको आंगिक क्याम्पस बनाउने कार्यक्रम अघि सारिएको छ । आयुर्वेद उच्चशिक्षा प्रदान गर्न योगमाया आयुर्वेद विश्वविद्यालय र विज्ञान प्रविधिको क्षेत्रमा उच्चशिक्षा दिन मदन भण्डारी विश्वविद्यालयको कानुनी संरचना सहित सञ्चालनमा जोड दिइएको छ ।मदन भण्डारी विज्ञान तथा प्रविधिक विश्वविद्यालयका स्थापना र सञ्चालनका लागि १ अर्ब २५ करोड बजेट विनियोजन गरिएको हो राष्ट्रिय स्तरको विधि विज्ञान प्रयोगशालाको सुदृढिकरणमा जोड दिइएको छ । आगामी वर्ष २ प्रदेशमा प्रयोगशालामा निर्माण गरिने र क्रमशः ७ वटै प्रदेशमा प्रयोगशाला बनाउने अर्थमन्त्री खतिवडाले बताए ।ekantipur

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवल देविनगर मनकामना पथमा आगलागी
  • कोरोनाको प्रभाव कम गर्न संगित सिक्न व्यस्त छन् स्याङ्जाका बिद्यार्थी…
  • नवलपरासीमा लागुपदार्थ विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • लियो क्लव अफ कञ्चनको प्रशिक्षण
  • मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीतामा मनिश र शेर बहादुरको टिम विजयी
  • उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण
  • संविधान दिवस र कार्यान्वयनको अवस्था
  • मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा  कुलपानी क्षेत्रको अवलोकन
  • कोरोनाका कारण बर्दघाट नगरपालिकामा अत्यावस्यक बाहेकका सम्पुर्ण सेवा बन्द
  • गल्याङ नगरपालिकाको विकासका लागि बृहत गुरुयोजनाको तयारी