मंसिर पछि आयोगले बिज्ञापन खोल्छ : अध्यक्ष मैनाली

प्रकाशित मिति:

काठमाडौं, कात्तिक १४। लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने बताएका छन् । यस बर्ष लोकसेवा आयोगले विज्ञापन ननिकाल्ने चर्चा चलिरहेको बेला बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष मैनालीले भने, “लाखौँ युवाहरुलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन् । मंसिरपछि भर्ना विज्ञापन खोल्छौं ।’”
अध्यक्ष मैनालीले इतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने आशयकासाथ विज्ञापनलाई दुई महिना पर (मंसिर) सम्म सारिएको स्पष्ट पार्दै भने, “अब अर्कोपटक सार्दैनौं ।”
उनले आयोगले एक–दुई वटा विषयमा सरकारलाई सुझाव दिएको र सरकारले त्यसलाई परामर्शको रुपमा लिनुपर्ने कुरामा जोड दिए , उनले भने ”हामीले नचाहँदा नचाहँदैपनि सरकारको असहजतालाई ध्यानमा राखेर दुईमहिनाको लागि विज्ञापन रोकेका हौं, यो हाम्रो बाध्यता हो, सरकारप्रति सदासयता देखाएका हौं, भूकम्पको बेलामा पनि नरोकिएको विज्ञापन यतिखेर रोकिएको अवस्था छ ।”
उनले अघि थपे, “सरकारले आवश्यक कर्मचारीको संख्या र आवश्यक ऐन ल्याई लोकसेवाको तयारीमा बसेका १० लाख बढि यूवाहरुको भविष्यलाई ध्यानमा राखेर काम गर्नुपर्छ, उमेरको कुरा हुन्छ, समयको कुरा हुन्छ, पारिवारिक अवस्थाको कुरा हुन्छ, यस्ता संवेदनशीलतामा सरकार गम्भिर बन्नुपर्छ, त्यसको लागि आयोगले भन्न मिल्ने र स्वयम् म आँफै पनि जान मिल्ने ठाउँमा गएर सुझाव दिईरहेको छु, तर एक महिना बाँकी छ । सरकारले यो काम गर्नेमा हामीलाई शंका छ । यसतर्फ सरकारको गम्भिर ध्यान जान जरुरी छ ।”