रुकुम र देवदह घटनामा संयुक्त राष्ट्र संघको गम्भीर चासो , घटनाको निन्दा गर्दै स्वतन्त्र अनुसन्धान गर्न आग्रह

प्रकाशित मिति:

सबलपोष्ट १६ जेठ, बुटवल । रुकुम पश्चिम र देवदहमा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ६ जनाको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्र संघ मानव अधिकार प्रमुखको कार्यालयले गम्भीर चासो व्यक्त गरेको छ । मानव अधिकार प्रमुख मिशेल बाचेलले शुक्रबार जेनेभाबाट विज्ञप्ति जारी गर्दै दुबै घटनाको निन्दा गर्दै शोक व्यक्त गरेकी छन् । नेपाल सबै प्रकारको जातीय विभेद उन्मूलन सम्मेलनको एक पक्ष राष्ट्र भएको स्मरण गराउंदै मिशेलले नेपालमा छुवाछूतको अन्त्य भएको भनिएपनि दलितहरूले गहिरो भेदभावको सामना गरिरहेका र यसले अन्तरजातीय विवाहसम्बन्धी मुद्दाहरूको बारेमा धेरै चिन्ताहरू पनि उठाएको औंल्याएकी छन् । गत एक साताको बीचमा नेपालमा अन्तरजातीय सम्बन्धका विरोधीहरूले रुकुम पश्चिममा ५ जना र रुपन्देहीको देवदहमा एक दलित किशोरीको हत्या गरेको घटनाको निन्दा र शोक व्यक्त गर्दछु’–मिशेलले उल्लेख गरेकी छन्–‘यो दुःखलाग्दो कुरा हो कि २१ औं शताब्दीमा जाति आधारित पूर्वाग्रह हाम्रो संसारमा गहिरो रूपमा व्याप्त छ, र यी युवाहरूप्रति म शोकले भरिएको छु ।’ जातीय भेदभाव नेपालमा मात्र नभएर अन्य देशहरूमा पनि व्याप्त रहेको र यसले प्रायः गम्भीर क्षति निम्त्याउने हुंदा दिगो विकास लक्ष्य हासिल गर्न जातीय विभेद अन्त्य हुनुपर्ने मिशेलले उल्लेख गरेकी छन् । २१ वर्षीय दलित युवक नवराज विक र उनका साथीहरूको समूह जाजरकोट जिल्लाबाट पश्चिमी रुकुममा नवराजकी प्रेमिकाको घरमा आएका र उनीहरूले युवतीलाई उनकै अनुरोधमा नवराजको घर लैजाने योजना बनाएकामा उनीहरूलाई लखेटेर हमला गरी नदीमा पु¥याइएको जहां नवराजसहित पांचजना मृत अवस्थामा भेटिएका र एक जना हराइरहेका मिसेलको विज्ञप्तिमा उल्लेख छ ।

मानव अधिकार प्रमुखको विज्ञप्तिमा रुपन्देहीको देवदहमा शंकास्पद रुपमा ज्यान गुमाएकी १२ वर्षीया दलित किशोरीको बारेमा अत्यन्तै चिन्ताजनक रिपोर्टहरू पनि आइपुगेको उल्लेख छ । उनीमाथि कथित उपल्लो जातको युवकले जबरजस्ती करणी गरेको र किशोरीलाई उक्त युवकसंग बलपूर्वक विवाह गराइदिन खोजिएको र सोही घटनाका कारण किशोरीको झुण्डिएर मृत्यु भएको रिपोर्ट उच्चायुक्त कार्यालयमा आएको मिशेलले उल्लेख गरेकी छन् । यो घटनाको पनि स्वतन्त्र अनुसन्धान गर्न माग गर्दै उनले पीडित परिवारले न्याय पाउनुपर्ने र सत्य तथ्य बाहिर आउनुपर्नेमा जोड दिएकी छन् । ‘नेपाली समाजमा दलित जातिगत तहको सबैभन्दा कम संख्यामा देखिन्छन्, परम्परागत रूपमा छुवाछुतको रुपमा विभेद गरिएको र उक्त हत्याले नेपालमा आक्रोश बढाएको छ’–मानव अधिकार प्रमुख मिशेलले भनेकी छन्–‘संवैधानिक ग्यारेन्टीहरूको बाबजुद नेपालमा जातीय विभेद र हिंसाको दण्डहीनता अझै उच्च रहेको छ,यस संकटलाई सम्बोधन गर्न नेपालले ठुलो कदम चालेको छ, तर समाजमा भएको यो उन्मूलनलाई उन्मूलन गर्न अझ धेरै गर्न बाँकी छ र गर्नु आवश्यक छ तर कोभिड १९को महामारीले उनीहरूको जोखिम बढाएको छ।’ लकडाउन शुरु भएदेखि नै क्वारेन्टाइनहरुमा समेत दलितमाथि जातीय भेदभाव, बलात्कार, मारपीट, जस्ता विभेदका धेरै घटनाहरू दलित कार्यकर्ता र पत्रकारहरूले रिपोर्ट गरेका मिशेलले उल्लेख गरेकी छन् । संसदको कानून, न्याय र मानव अधिकार समितिले जातीय विभेद र हिंसाका सबै घटनाहरूको छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको र संसदीय समितिले अधिकारीलाई दलित महिलाको सामूहिक बलात्कारका दुई घटनाका साथै हत्या, जबरजस्ती बेपत्ता पार्ने र जबरजस्ती गर्भपतन सम्बन्धी अन्य जातीय मुद्दामा तुरुन्त अनुसन्धान गर्न भनेको उनले उल्लेख गरेकी छन् ।

नेपाल र अन्य देशका दलितहरूले आफ्नो दैनिक जीवनको हरेक तहमा भेदभावको अनुभव गर्छन्, उनीहरूको रोजगारी र शैक्षिक अवसरहरू सीमित गर्छन्, जहाँ उनीहरू पानी र पूजा संकलन गर्न सक्दछन्, र कसले विवाह गर्ने भनेर छनौट गर्दछन्’–मिशेलले भनेकी छन्–‘संरचनात्मक अवरोध र भेदभावले दलितहरुलाई कम आय र अमानवीय रोजगारीलाई जारी राख्न बाध्य तुल्याउँछ ।’
यसअघि शुक्रबार नै रुपन्देही देवदह नगरपालिका– ११ की १३ बर्षीया दलित किशोरी अंगिरा पासीको ‘शंकास्पद’ मृत्युको निष्पक्ष अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग लगायत संस्थाले माग गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका सचिव तथा प्रवक्ता वेद भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जेठ ९ र जेठ १० गते देवदहमा भएको घटनाको निश्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याई कारवाही गर्न माग गरेका छन् । १३ वर्षिय किशोरीमाथि जेठ ९ गते राति जबरजस्ती करणी भएको, अर्को दिन जनप्रतिनिधिको रोहबरमा किशोरीलाई बलात्कार आरोपी व्यक्तिको जिम्मा लगाइनु र युवकको परिवारले अन्तरजातीय भन्दै किशोरीलाई घर भित्रिन नदिएको र त्यसपछि किशोरीको शंकास्पद मृत्यु भएको घटना बाल अधिकार हनन् र जातीय विभेदजन्य अपराध भएकाले निश्पक्ष अनुसन्धान हुनुपर्ने आयोगले माग गरेको छ । जातीय विभेद र बाल अधिकार हनन्का यस्ता घटनामा शुन्य शहनशीलता कायम गर्न पनि आयोगले सरकारसंग आग्रह गरेको छ ।

यस्तै समाजवादी पार्टी रुपन्देहीले पनि १३ वर्षिया दलित किशोरीमाथि जबरजस्ती करणी गरिनु र जातीय आधारमा युवकको परिवारले दलित किशोरीलाई घर भित्राउन अस्वीकार गर्दा उनको मृत्यु हुन गएको भन्दै घटनाको निष्पक्ष छानवीन गर्न माग गरेको छ । पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादवले शुक्रबार विज्ञप्ति जारी गर्दै मुलुक छुवाछुत मुक्त र जातीय भेदभाव उन्मुलन घोषणा भएपनि २१ औं शताब्दीको वर्तमान युगमा जातको आधारमा विभेद गर्दै छुवाछूतको आधारमा अमानवीय व्यवहार गर्नेमाथि कारवाही गर्न माग गरेका छन् ।
देवदहकै २२ वर्षीय वीरेन्द्र भरसंग शारीरिक सम्पर्क राखेको भन्दै स्थानीयले अंगिरालाई वडा अध्यक्ष अमरबहादुर चौधरीको रोहबरमा युवकको जिम्मा लगाएका थिए । तर युवककी आमाले दलित भएको भन्दै घर भित्रिन नदिने भन्दै दुव्र्यवहार गरेकी थिइन् । सोही सांझ अंगिराको शब देवदह–२ रोहिणी खोला किनारमा रुपमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । तर अंगिराकी आमाले छोरीको आत्महत्या नभएर हत्या भएको भन्दै प्रहरीमा जबरजस्ती करणीको किटानी जाहेरी दिएपछि प्रहरीले तीनजनालाई पक्राउ गरिसकेको छ । प्रहरीले वीरेन्द्र भर,उनकी आमा र ठूली आमालाई पक्राउ गरी म्याद थपका लागि शुक्रबार नै जिल्ला अदालत पठाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतिकसिंह राठौरले बताए ।

किशोरीको मृत्यु हत्या वा आत्महत्या कसरी भएको हो भन्ने यकिन गर्न प्रहरीले मृतकको भिसेरा र भेजिना स्वाबको नमूना परीक्षणका लागि केन्द्रीय प्रहरी विविध विज्ञान प्रयोगशाला काठमाडौं पठाएको राठौरले बताए । ‘आज (शुक्रबार) मात्रै भिसेरा र भेजिना स्वाबको नमूना काठमाडौं पठाएका छौं’–डीएसपी राठौरले भने–‘अब यसको रिपोर्ट आउन कम्तीमा १५ दिन लाग्छ, त्यपछि मात्रै हत्या वा आत्महत्या के हो भन्ने खुल्छ ।’ घटनाको स्थलगत अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय बुटवलका निमित्त प्रमुख इन्द्रजित सहनीले उमेर नपुगेकी किशोरीमाथि जबरजस्ती करणीको जानकारी पछि बलात्कारमा संलग्नलाई कानुनी कारवाहीका लागि जानुपर्नेमा उल्टै वडा अध्यक्षको रोहबरमा पीडकको जिम्मा लगाउनु आपत्तिजनक भएको बताए । झुण्डिएको भनिएपनि किशोरी शरीरको माथिल्लो भागमा लगाएको कपडा च्यातिएको र भित्री वस्त्र देखिएको, भित्री वस्त्रमा युवकको चांदीको सिक्री फेला परेकाले आत्महत्या नभई हत्या भएको किशोरीकी आमा शान्ति पासीले दावी गरिन् । ‘समाजले जबरजस्ती केटाको जिम्मा लगाइदिँदा छोरीको ज्यान गयो’–शान्तिले भनिन् । वडाध्यक्ष चौधरीले भने छलफलमा आफू सहभागी भएपनि किशोरीलाई केटाको जिम्मा लगाउर बिहे गराइदिने बेला आफू सहभागी नभएको बताए ।