जनमुक्ति पार्टीको माग : कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ

१७ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल, १७ जेठ । राष्ट्रिय जनमुक्ति पार्टीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाएर काम गर्नुपर्ने सरकारसंग माग गरेको छ । कोरोना महामारीविरुद्ध लड्न सरकार एक्लैले सम्भव नहुने भन्दै जनमुक्तिले संसदमा रहेका र संसद बाहिरका सबै दललाई समेटेर केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्रमार्फत काम गर्नुपर्ने माग गरेको हो । पार्टी निकट राष्ट्रिय जनमुक्ति युवा महासंघले शनिबार बुटवलमा गरेको अन्तरक्रियामा पार्टीका उपमहासचिव टोप अस्लामी मगरले सरकारले आफ्ना कमजोरी र बद्मासीहरु ढाकछोप गर्दै कोरोना विरुद्ध लड्न एक्लै सक्षम भएजस्तो गरी लकडाउन मात्रै लम्बाएर विपक्षी दल र आम जनतालाई वशीभूत बनाएको आरोप लगाए । सरकारले कोरोना महामारीलाई एक्लै नियन्त्रण र उपचार गर्न सक्छु भन्ने मानसिकता त्यागेर सबै दलको साथ लिनुपर्ने उनको सुझाव छ । ‘कोरोना महामारीमा मात्र हैन, अन्य महामारीमा पनि सर्वदलीय संयन्त्र बनाएर काम गर्नुपर्छ’–अस्लामीले भने–‘कतिपय देशमा त सर्वदलीय सरकार बनाएर नै महामारीविरुद्ध लड्ने गरिएको छ ।’

कोरोना जित्ने विकल्प लकडाउन वा मृत्यु नै हो भने जस्तो गरी लकडाउन मात्रै लम्बाउंदै सरकार अघि बढ्दा जनतामा निराशा छाउन थालेको र जनजीवन कष्टकर हुन थालेको भन्दै उपमहासचिव अस्लामीले तत्काल सर्वदलीय संयन्त्र बनाएर अघि बढ्न आग्रह गरे । ‘सर्वदलीय संयन्त्र बनाइयो भने मात्रै कोरोना विरुद्धको लडाईमा सबै पक्षको अपनत्व हुन्छ र नागरिकमा आशा जाग्छ’–उनले भने–‘सर्वदलीय संयन्त्र नहुंदा राहत वितरणमा अनियमितता र अपारदर्शीता देखिएको छ,सत्तारुढ दलका कार्यकर्ताले पहुंचको आधारमा राहत पाउने र पाउनैपर्ने लक्षित वर्गले नपाएको अवस्था पनि छ ।’ महामारीको बेलामा पनि एक्लै अघि बढ्ने र विपक्षी दलहरुलाई साथमा लिएर अघि नबढ्ने सरकारको रवैयाले जनतालाई नैराश्यतातिर धकेलेको उपमहासचिव अस्लामीले तर्क गरे । दुई महिना लामो लकडाउनमा पनि सरकारले पर्याप्त तयारी गर्न नसकेको र लकडाउनबाट प्रभावित ठूलो संख्यामा श्रमिक र विपन्न वर्गलाई राहत आवश्यक भएपनि सरकारको ध्यान जान नसकेको उनले औंल्याए । कोरोनाबाट आतंकित हुन नहुने,संक्रमितलाई आत्मीय व्यवहार सबैले गर्नुपर्ने, व्यक्तिगत दूरी कायम गरेर आफ्ना दैनिक जीवन सञ्चालन गर्नुपर्ने र आत्मबल उच्च बनाएमा कोरोनालाई जित्न सकिन्छ भन्ने कुरा आम जनतामा फैलाउन पनि सर्वदलीय संयन्त्र प्रभावकारी हुने उनले औंल्याए ।

मुख्यमन्त्रीले भेट नै दिएनन्  कोरोना विरुद्धको लडाईमा सरकारलाई साथ दिने उद्देश्यले पार्टीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग भेट गरेर कुरा राख्न खोजेपनि उनले बेवास्ता गरेको जनमुक्ति पार्टीका उपमहासचिव अस्लामीले दावी गरे । ‘प्रदेश प्रमुख र सभामुखसंग भेटेर कुरा राख्यौं तर मुख्यमन्त्रीले भेट्नै चाहेनन्’–उनले भने–‘मुख्यमन्त्री हाम्रो पार्टीसंग छलफल गर्न तयार नहुने, अरुका कुरा नसुन्ने अनि भारतबाट आएका आफ्ना नागरिकलाई मात्रै दोष लगाएर कोरोना नियन्त्रण हुन्छ त ?’  सय जनाको एन्टी कोरोना टिम  जनमुक्ति युवा महासंघका प्रदेश ५ अध्यक्ष डीबी थापाले कोरोना नियन्त्रण र उपचारमा सघाउ पुु¥याउन पार्टीले सय जनाको एन्टी कोरोना टिम बनाएर काम गर्न थालेको बताए । प्रदेश सरकारले बेवास्ता गरेपनि पार्टीले स्वयंसेवकका रुपमा सय जनाको टिम बनाएर प्रदेशका बाह्रै जिल्लामा जनचेतना र राहतका काम गर्ने तयारीमा रहेको उनले बताए । कार्यक्रममा जनमुक्ति पार्टीका युवा नेता शंकर गाहा, जनमुक्ति युवा महासंघ प्रदेश ५ की सचिव इन्दु थापा, पार्टीका बुटवल नगर अध्यक्ष थर्कबहादुर बाह्रघरे,संघीय पत्रकार परिषदका केन्द्रीय सचिव सनु थापा लगाायतको सहभागिता थियो । सो अवसरमा जनमुक्ति युवा महासंघले पत्रकारहरुलाई स्यानिटाइजर प्रदान गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया