पश्चिम नवलपरासीमा ११ जनाको आरडिटि रिपोर्ट पोजेटिभ

१७ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
जेष्ठ १७,
नवलपरासी, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित कोभिड १९ को आरडिटी परीक्षण गरिँदा ११ जनामा पोजिटिभ रिपोर्ट आएको छ । गाउँपालिकाका ८ स्थानमा क्वारेन्टाइन छन् । तीमध्ये ७ वटा क्वरोन्टाइनमा रहेका ९१ जनामा गरिएको आरडिटी परीक्षणमा ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

पोजिटिभ देखिएका सबैको स्वाब संकलन गरेर काठमाडौँ पठाइएको छ । अरुलाई घर पठाउन थालिएको छ । सुस्ता गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या २ सय ६९ छ ।
पीसीआर परीक्षण गर्न जिल्लामा भिटिएम नभएकाले क्वारेन्टाइनमा बस्नेहरुलाई आरडिटी परीक्षण नेगेटिभि आएपछि घर पठाउने गरिएको छ ।

“सरकारले १४ दिन पूरा गरेकालाई आरडिटी गरेर घर पठाउन भनेको छ । सोही निर्देशन अनुसार नेगेटिभ आएकालाई घर पठाउन थालिएको हो,” ढकालले भने । पीसीआर परीक्षण नगरी घर पठाउँदा गाउँलेले बिरोध गर्न थालेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । “भिटिएम छैन । १४ दिन पूरा भएकाहरुले घर नपठाए भागेर जान्छौँ भनेर धम्की दिन्छन् । पठायो पीसीआर नगरी घर पठाएको भन्दै गाउँले बिरोध गर्छन्,” अध्यक्ष पाण्डेले गुनासो गरे ।

सरकारले भिटिएम नपठाउँदा स्थानीय तहहरु समस्यामा परेको उनले बताए । यसअघि सुस्ता गाउँपालिकामा गरिएको पिसीआर परीक्षणमा २ जनामा पोजिटिभ देखिएको थियो । अहिलेसम्म जिल्लामा ५ जना कोरोना संक्रमित छन् ।

शनिबारसम्म जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या १४ सय ८ छ । क्वारेन्टाइनमा बस्ने सबै भारतबाट आएका हुन् । जिल्लामा हरेक दिन भारतबाट आउनेको संख्या  बढ्दो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया