बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको पुष्टि

प्रकाशित मिति:

काठमाडौं । बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको थियो । बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

मृतक बालिकाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । पीसीआर रिपोर्ट आएपछि उनमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । बालिकाको शव व्यवस्थापन परीक्षण रिपोर्ट आएपछि गर्ने तयारी गरिएको छ ।बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा बालिका आफ्ना बाबुआमासँगै थिइन् । बालिकासहित आमाबुवाको स्वाब संकलन गरी धनगढी पठाइएको थियो ।अवस्था जटिल भएपछि उनलाई मार्तडीको जिल्ला अस्पतालको आइसोलेसनमा जेठ १५ गते साँझ राखिएको थियो । बालिका पखाला, ज्वरो र श्वासप्रश्वास समस्याबाट ग्रसित रहेकी थिइन् ।