भैरहवामा न्याय र सुरक्षासम्बन्धी जिल्लास्तरीय सरोकारवालाहरुको समीक्षा बैठक सम्पन्न

१४ कार्तिक २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
7 Shares


भैरहवामा न्याय र सुरक्षासम्बन्धी जिल्लास्तरीय सरोकारवालाहरुको समीक्षा बैठक सम्पन्न भएको छ । पहुँच परियोजना अन्तर्गत कदम नेपालको आयोजना, सेलर्ड रुपन्देही, रेडियो लुम्बिनी, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ रुपन्देही, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको साझेदार एवं सर्च फर कमन ग्राउण्ड र यूकेएडको आर्थिक सहयोगमा समीक्षा बैठक भएको हो । दुई वर्षे परियोजनाको अन्तिम बैठकस्वरुप अहिलेसम्म गरिएका कामको प्रभावकारिता बारे समीक्षा गरिएको थियो । बैठकमा जिल्लामा पहुँच परियोजनाअन्तर्ग कदम नेपाल र साझेदार संस्थाहरुले गरेको कामबारे बैठकमा सम्बन्धित योजनाका प्रमुख तथा प्रतिनिधिहरुले जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले न्याय र सुरक्षा एकअर्काबीच परिपुरक भएकाले नागरिकलाई त्यससम्बन्धी सूसुचित बनाउनु पर्ने धारणा राखे । प्रदेश सभा सदस्य थानकुमारी थापाले समाजिक कुरिती, संस्कार, हिंसा सबै एकजुट भएर हटाउनु पर्ने धारणा राखिन् । उनले पछिल्लो समय महिला हिंसाका घटना उल्लेख्य बृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै न्यूनीकरणमा सामाजिक संघसंस्थासँगै सबैले हातेमालो गर्नु पर्ने बताइन् । परियोजनाले २ वर्षे अवधिमा गरेको कामको प्रशंसा गर्दै थापाले प्रदेशमा कानूनहरु बनाउँदा न्याय, सुरक्षा, महिलामाथि हुने विभेद अन्त्य, हिंसा र पिछडिएका क्षेत्रको न्यायोचित विकास हुने गरी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाइन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले न्याय र सुरक्षा अन्तरसम्बन्धित भएको बताउँदै हरेक नागरिकले सुरक्षा र न्याय पाउनु पर्ने बताए । पाण्डेयले पछिल्लो समय मुलुकी संहिता लागू भएयता पुरुषले सम्बध विच्छेद गर्न निवेदन दिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै यस्तै अवस्था रही रहे समाज विखण्डनतिर जानसक्ने जनाए । उनले समाजलाई सुरक्षित राखी एकआपसमा मिलाई राख्न सामाजिक संघसंस्थाले सचेतनामूलक कार्यक्रम चलाउनु पर्ने बताए ।

गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट, सर्च फर कमन ग्राउण्डमा क्षेत्रीय संयोजक जीवन्त वाग्ले, कोटहीमाई गाउँपालिका उपाध्यक्ष भानमति मदरसिया, जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार प्रेमबहादुर फौजदार, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद पाण्डे लगायतले बोल्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया