दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी

प्रकाशित मिति:

बुटवल । नेपाल भारत सीमा क्षेत्रमा भारतीय हस्तक्षेप र अतिक्रमण भएकोमा राष्टिय अखण्डता सरोकार सञ्चार अभियान, नेपालका संयोजक अधिवक्ता बालकृष्ण चापागाईंले एक प्रेस विज्ञप्ति जारी गरी उक्त कार्यको विरोध जनाउनु भएका  छ । उहाँले जेठ १९ गते सोमबार विज्ञप्तिमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि समेटिएको नक्सा नेपाल सरकारले जारी गरी आफ्नो भूमिको रक्षाको लागि दृढतापूर्वक अगाडि बढिरहेको बेलामा सीमा क्षेत्रको दशगजासँगै जोडेर देशका विभिन्न भागमा भारतले सडक निर्माण कार्य जारी राखेकोमा गम्भीर आपत्ती जनाउनु भएको छ ।

हालैका दिनमा भारतले प्रदेश नं. ५ अन्र्तगत पर्ने रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं.५ र ६ का इमिलीहवा, बुची, बोधवार र विष्णुपुरा गाउँ डुवानमा पर्नेगरी सडक निर्माण गर्नु सीमा सम्बन्धी अन्तर्राष्टिय मान्यता विपरीत भएको भन्दै विज्ञप्तिमा भारतले दशगजासँग जोडेर वरिपरिको क्षेत्रमा सडक निर्माण गर्ने, प्राकृतिक बहावलाई अवरुद्ध गरी नेपाली भूमिलाई डुवानमा पार्ने गरी तटबन्ध गर्ने जस्ता कार्य विभिन्न स्थानमा भइरहेकोले यसप्रति नेपाल सरकारको अबिलम्ब ध्यानाकर्षण होस् भनिएको छ ।उहाँले विज्ञप्तिमा यस प्रकारका नेपालको हित विरुद्धका गतिविधिहरुलाई भारत सरकारले अबिलम्ब रोक्नुपर्ने बताउँदै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट नेपालको भूमि रक्षार्थ सबै नेपालीहरु एकजुट भएर अगाडि बढ्न सबैमा हार्दिक अनुरोध गर्नु भएको छ ।