धन्य नेपाल प्रहरी !

प्रकाशित मिति:

विशाल भण्डारी – सत्य सेवा सुरक्षणम भन्ने मुल नारालाई आत्मसाथ गर्दै अगाडी बढिरहेको नेपाल प्रहरीले ऐतिहासिक काल देखिनै जनताको सेवा र देशको रक्षा गर्दै आइरहेको छ । प्रहरी एक-एक प्रहरमा बदलिने पाले (बालचन्द्र शर्मा, नेपाली शब्दकोष) प्रहरी भन्ने शब्द र प्रहरी संगठनको सुरुवात बेलायत बाट भएको पाइन्छ । परापुर्व कालमा विभिन्न नामले चिनिने प्रहरीलाई वि.स २०१२ सालदेखि नेपाल प्रहरीको नामले चिनिन थाल्यो । बिगतदेखीनै मुलुकमा शान्ती सुरक्षा कायम राख्न , अपराध नियन्त्रण गर्न अब्बल नेपाल प्रहरीको गरिमा देख्दा र सुन्न पाउँदा कसको मन प्रफुल्ल हुदैन् र ? विभिन्न कालखण्डमा प्रहरीले गर्दै आएको सेवालाई पनि मन पराउनेहरुको कमि छैन यहाँ ।
समय र परिस्थिति अनुसार नेपाल प्रहरीले पनि आफ्ना सांगठनिक कार्यहरुलाई के-कसरी अगाडि बढाएर जनमानसको मनस्फटलमा बस्न सकिन्छ भन्ने किसिमले आफ्ना कार्यहरुलाई अगाडि बढाउँदै आइरहेको छ । अपराध अनुसन्धानमा अब्बल नेपाल प्रहरीले गरेको अनुसन्धानले आज विश्वमै राम्रै चर्चा पाइरहेको हुन्छ । समाजमा शान्ती सुरक्षा कायम गर्दै अपराध अनुसन्धान गर्ने नेपाल प्रहरी आजको यो विषम परिस्थितिमा पनि आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न अग्रपंक्तिमा रहेर जनताको सेवामा र देशको रक्षाको लागि अहोरात्र ड्युटीमा खटिरहेको छ । जस्तो सुकै कठिन परिस्थितिमा पनि अगाडि बढेर देश र जनताको लागि चौविसै घण्टा ड्युटीमै हुन्छ नेपाल प्रहरी । जनताको ज्युधनको रक्षा गर्नु , सरकारी सम्पत्तिको रेखदेख गर्नु, महत्त्वपूर्ण प्रतिस्ठानहरुको संरक्षण गर्नु , समाजमा शान्ती सुरक्षा कायम गर्नु , सफल अपराध अनुसन्धान गर्नु, राज्यका नितिनिर्देशनको पालना गर्नु/गराउनु , कानुनको पालना गर्नु/गराउनु । यस्तै महत्त्वपूर्ण जिम्मेवारी बोकेर अगाडि बढेको नेपाल प्रहरीले प्रहरी संगठनको छवि उच्च बनाएको छ । इतिहासलाई फर्केर हेर्दा विभिन्न काल खण्डमा जनताहरुसंग प्रत्यक्ष सम्पर्कमा रहि गाउँ , समाज र समग्र रास्ट्रको हक,हितको लागि आफ्नो कार्य सम्पादन गर्दै आएको नेपाल प्रहरी आजको यो महासंग्रामको मैदानमा पनि अग्रपंक्तिमा रहि कतिपनी बिचलित नभइ जनता र रास्ट्रको सुरक्षामा खटी आएको देख्न र सुन्न सकिन्छ ।
आफ्नो ज्यानको बाजि लगाएर आफ्नो कर्तव्य पुरा गर्दै आएको नेपाल प्रहरीले विषम परिस्थितिहरुमा पनि जनता र रास्ट्रको सेवामा कार्यरत हुदाँ गर्व लाग्छ मलाई नेपाल प्रहरी । महाभुकम्प जादाँको बेला होस,आगलागी हुँदाको बेला होस वा भवितव्य भएको बेला होस वा संसारलाई नै तहसनहस बनाइरहेको यो कोरोना भाइरसको महामारीको बेला होस , जस्तोसुकै परिस्थितिमा पनि अग्रपंक्तिमा रहेर काम गर्दै आएको नेपाल प्रहरीले उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी र कर्तव्यलाई पूरा गर्ने क्रममा नेपाल प्रहरी पनि यो कोरोना भाइरसको महामारी बाट अछुतो रहन सकेन । प्रहरी कर्मचारीहरुमा कोरोना भाइरसले आक्रमण गर्दैगर्दा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले दिनुभएको सान्त्वना र यो महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , सञ्चारकर्मी र सम्बद्ध निकायका प्रतिनिधिहरुलाई दिनुभएको प्रेरणा र हौसलाले थप उर्जा मिलेको छ ।
नेपाल प्रहरी राज्यको नीति निर्देशनको सहि पालना गर्ने र गराउने प्रमुख निकाय भएकोले राज्यका हरेक नीति निर्देशनहरुलाई केन्द्र , प्रदेश र स्थानिय तह गरि सबै ठाउँमा कार्यान्वयन गराउन सफल हुन्छ नेपाल प्रहरी । राज्यले दिएको जिम्मेवारी पुरा गर्दागर्दै आफ्नै घर,परिवार समेत बिर्सिरहेको हुन्छ भने कतिपय अवस्थाहरुमा बिर्सनुपर्ने बाध्यता पनि हुन्छ । हो प्रहरी पनि यहि समाज बाट आएको मानव हो । प्रहरीको पनि घर-परिवार संग बसेर दु:ख सुख साटासाट गर्ने इच्छा र चाहना हुन्छ तर ती सपना जस्तै हुन् किनकी यो विषम परिस्थितिमा नेपाल प्रहरी जहिले पनि जनताको सेवामा र रास्ट्रको हकहितको लागि चौविसै घण्टा ड्युटीमा रहेको हुन्छ ।
नेपाल प्रहरी देश र जनताहरुको लागि जस्तो सुकै जोखिम झेल्दै पनि नि-स्वार्थ सेवामा लागिरहेको देख्दा पनि प्रहरी प्रतीको सोच अझै बदलिएको छैन । प्रहरी पनि समुदायकै एक सदस्य हो । आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न राज्यको नीति निर्देशनअनुसार आफ्नो काम कारबाही गर्दा सबैलाई कहाँ चित्त बुझाउन सकिन्छ र यहाँ ? तर पनि कोहि कसैलाई अन्याय भने गरेको हुदैन , बुझाई मात्रै फरक हो । प्रहरीलाई पनि थाहा छ सेवा निवृतिभरण भैसकेपछी हामीपनि समुदायमै गएर बस्ने हो ।

सके सहयोग गर्ने हो नसके असहयोग गर्ने होइन् । त्यसैले प्रहरी प्रती सवैले सकारात्मक चिन्तन लिन अनुरोध गर्दछु । ४०/४५° को चर्को घामामा पनि ड्युटी खटिएकै हुन्छ प्रहरी 0° को हिउँमा पनि ड्युटी खटिएकै हुन्छ । न त दिन भन्छ , न त रात भन्छ , न त वर्खा भन्छ , न त हिउँद भन्छ , न त भोक भन्छ , न त प्यास भन्छ , न त आराम भन्छ , न त निद भन्छ यसरी अहोरात्र देश र जनताहरुको सेवा गर्ने प्रहरीको पनि उचित मुल्यांकन गर्ने कि ? सार्है मर्कामा छन निम्न स्तरका प्रहरी कर्मचारीहरु । यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।
प्रहरी संगठनको छवि उच्च देखेर प्रहरी बन्न होमिएका युवाहरु आज दिनप्रतिदिन राजिनामा दिन बाध्य छन किनकी प्रहरीको पनि परिवार , इष्टमित्र , नातागोता , साथीभाइ हुन्छ । सधै आफ्नो ज्यानको बाजि लगाएर चौविसै घण्टा ड्युटी खटिदाँ पनि आफू पालिन र परिवार पाल्न हम्मे हम्मे परिरहेको हुन्छ सधै । बिगत १/२ हप्ता पहिले एपिवान टेलिभिजनमा आफ्नो तर्कहरु प्रस्तुत गर्नुभएको प्रहरी नायब महानिरीक्षक विस्वराज पोखरेल सरलाई आत्मै देखि धन्यवाद दिन चाहान्छु ।
प्रहरीले किन भटाभट राजिनामा दिदैं छन ? किन प्रहरी सेवा १६ बर्ष बाट २० बर्ष बनाइयो ? किन कर्मचारीहरुको राशन बढेको छैन् ? प्रहरीले किन समयमै पाउदैनन् लत्ताकपडाहरु ? यी र यस्तै प्रश्न तेर्सिरहेका थिए जसमा प्रहरी प्रहरी नायव महानिरीक्षक ज्युले प्रहरी कर्मचारीहरुको हकहितमा राम्रोराम्रो बिचारहरु राख्नुभएको थियो । भावी संगठन प्रमुखको रुपमा मुल्यांकन गरिएको हुँदा नेतृत्व तहमा पुगेपछी पक्कै पनि प्रहरी कर्मचारीहरुको हकहितमा खुलेरै आवाज उठाउँदै समस्याको समाधान गर्नुहुनेछ भन्ने सकारात्मक चिन्तन पनि गरिएको छ ।
प्रहरी नियमावली २०४९ अनुसार प्रहरी सेवा प्रवेश गरेको प्रहरी कर्मचारीहरुलाई सेवा प्रबेश गर्दा जुन नियम कानुन थियो त्यसको आधारमा सेवा निवृतिभरण पाउने ब्यबस्था हुन आवश्यक देखिन्छ ।
किनकी निम्न स्तरको प्रहरी कर्मचारीहरुको काम , कर्तव्य र जिम्मेवारीको पनि उचित मुल्यांकन हुन सकेमा थप हौसलाका साथ आफ्नो काम कर्तव्यमा अझै बढी बफादार र जिम्मेवारी हुने थिए प्रहरी कर्मचारीहरु ।
जुन लक्ष्य र उदेश्यको साथ सेवा प्रवेश गरेको प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली २०७१ को नियम १३१ (१) ले सार्है मर्कामा पारिरहेको देखिन्छ । प्रहरी नियमावली २०४९ अनुसार सेवा प्रबेश गर्दा प्रहरी हवल्दार र प्रहरी जवानको निवृतिभरण पाउने सेवा १६ बर्ष कायम रहेको थियो । हो यहि नियमअनुसार राज्यले प्रहरी कर्मचारीहरुलाई उचित ब्यबस्थापन गर्न जरुरी देखिन्छ । आ-आफ्नै लक्ष्य र उदेश्य प्राप्तीका लागि सेवा प्रबेश गरेका प्रहरी कर्मचारीहरु दिनप्रतिदिन राजिनामामा जानुले प्रहरी संगठनलाई मात्र नभइ राज्यलाई नै ठूलो धक्का पर्ने आंकलन गर्न सकिन्छ । त्यसैले पनि नेपाल सरकारले प्रहरी कर्मचारीहरुको काम , कर्तव्य र जिम्मेवारीको उचित मुल्यांकन गर्दै प्रहरी हवल्दार र प्रहरी जवानको सेवा अवधी १६ बर्षनै कायम गर्नुहुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छु ।
अन्त्यमा यो महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण गर्न राज्यको नीति निर्देशन पालना गर्न गराउन अग्रपंक्तिमा खटी आफ्नो कर्तव्य पूरा गर्नुहुने सम्पुर्णमा थप उर्जा मिलोस । उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीलाइ पुर्णता दिनुहोला । साथै कोरोना भाइरसको कारण देश तथा बिदेशमा ज्यान गुमाउनु हुने सम्पुर्ण प्रती हार्दिक श्रद्धाञ्जली एबम यो रोगबाट संक्रमित हुने सम्पुर्णमा सिघ्र स्वास्थ्य लाभको कामाना गर्दछु ।
(लेखक भण्डारीले नेपालको बर्तमान परिवेशलाई उठान गरेर आफ्नो धारणा समेट्ने गर्दछन )