माथिको आदेश’मा पत्रकारलाई जाजरकोट प्रवेशमा रोक , दलित पत्रकार संघद्वारा छानवीनको माग

प्रकाशित मिति:

बुटवल २३ जेठ । रुकुम चौरजहारी घटनाको स्थलगत अध्ययनका लागि हिंडेका दुईजना पत्रकारलाई प्रहरीले ‘माथिको आदेश’ भन्दै सल्यान प्रहरीले रोकेको घटनाप्रति राष्ट्रिय दलित पत्रकार संघ नेपालले विरोध र भत्र्सना गरेको छ । रुकुम पश्चिम घटनाको स्थलगत अध्ययन र समाचार संकलनका लागि संघका केन्द्रीय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीको नेतृत्वमा हिंडेको ९ जनाको मिसन टोली मध्येका दुई सदस्यलाई जाजरकोटको सिमाना सल्यानको सल्लीबजार नजिकै बालुवासंग्रही भन्ने ठाउंमा सल्यान प्रहरीले बिहीबार रोकेको थियो । गृहमन्त्रीको आदेशले संघका केन्द्रीय सदस्य टेकेन्द्र विश्वकर्मा र कर्णाली प्रदेश कमिटी अध्यक्ष खगेन्द्र सुनारलाई स्थलगत अध्ययन र समाचार संकलनमा रोकेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएको संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘पत्रकारलाई स्थलगत अध्ययन र समाचार संकलनमा रोक लगाइएको घटनाले स्वतन्त्रपुर्वक हिंड्न पाउने नागरिकको अधिकार कुण्ठित मात्र गरेको छैन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको छ, यो निरंकुशताको पराकाष्ठा र लोकतन्त्रको विरुद्धमा छ, यसबाट रुकुम घटनाको थप सत्यतथ्य बाहिर लयाउने काममा प्रशानसबाट अवरोध हुनुले घटनाको ढाकछोपमा प्रशासन नै सक्रिय भएको हो कि भन्ने आशंका बढाएको छ’– राष्ट्रिय दलित पत्रकार संघको विज्ञप्तिमा भनिएको छ–‘गैरकानुनी काम प्रशासनबाटै भएकाले घटना निन्दनीय छ,घटनाको छानवीन र संलग्नलाई कारवाहीको माग गर्दछौं, पत्रकारलाई रोकिएको घटनाको छानवीनको माग गर्दछौं ।बिहीबार दिनभर सल्यानमै रोकिएका पत्रकार जाजरकोट जान नपाएपछि सुर्खेत फर्किएका संघका अध्यक्ष पहाडीले जानकारी दिए । पत्रकारलाई अवरोध गरिएको घटनाको स्थलगत अध्ययनका लागि संघका केन्द्रीय अध्यक्ष पहाडी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, एड्भोकेसी फोरम रुपन्देही अध्यक्ष शिव गौडेलसहित केही अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि शुक्रबार बिहान बुटवलबाट जाजरकोट हिंडेका छन् ।