सूचना प्रवाहमा इन्टरनेटको प्रयोग

प्रकाशित मिति:

कोभिड १९ जस्ता विश्व महामारीको समयमा इन्टरनेटको प्रयोग र प्रभावकारीता बढ्दै गएको पाइएकोमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएकाछन् । शुक्रबार सेफर्ड कलेज काठमाडौले आयोजना गरेको सूचना प्रवाहमा इन्टरनेटको प्रयोग विषयक भर्चुअल संवादमा उनीहरुले प्रयोग बढ्दै गएपनि सुधारको आवश्यकता रहेको निश्कर्ष निकालेका थिए । कविता शर्माले संयोजन गरेको संवाद कार्यक्रममा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटका प्रमूख बाबुराम अर्याल,पत्रकार तथा द स्टोरी किचेनका प्रमुख जया लुइंटेल,आइटी बिज्ञ सुधिर श्रेष्ठ र सन्जय ढुंगानाले विचार राखेका थिए । प्रस्तुत विचारको सम्पादित अशं यहाँ राखिएको छ ।

जया लुईटेल : नेपालको सन्दर्भमा लकडाउनले घरबाटै कामले सार्थकता पाएको छ । यसले घरबाट कार्यालयको काम गर्न सकिन्छ र ? भन्ने कुरालाई इन्टरनेटको माध्यमबाट सफल बनाएको छ । यसका केही बेफाइदा होलान् तर हामीले भर्चुअल रुपमा काम गर्न एउटा संयन्त्र बनाउन सक्ने हो भने हामी हाम्रा योजना सफल हुन्छन् । यसले हामीलाई थप जिम्मेवार र स्वउत्तरदायी समेत बनाउन सहयोग गरेको छ ।
सेयर कास्ट एनिसियटिभको पछिल्लो अध्ययन अनुसार ४४ प्रतिशतमात्र इन्टरनेटको पहुँचमा छन्, यसको मतलव ५६ प्रतिशत अझै पनि इन्टरनेटको पहुँच भन्दा बाहिर छन् । इन्टरनेट हाम्रो सुविधाको रुपमा रहेको हो तर यो भनिरहँदा बाँकी ५६ प्रतिशतलाई बिर्सनु हुँदेन । त्यसमा पनि जम्मा १२ प्रतिशत बिद्यार्थीमात्र इन्टरनेटको पहुँचमा छन् । यस्तो अवस्थामा रेडियो जस्ता संचारका माध्यम नै प्रभावकारी बनेकाछन् । मुलधारका मिडियामा सिमान्त नागरिकको आवाज नउठेको सन्दर्भमा कारोनाको महामारीमा हामीले स्टोरी किचन मार्फत महिलाको अवस्थालाई समेट्न कथा कोरोना मार्फत आवाज उठाउँदै आएका छौं,यस्ता प्रकोगहरुमा महिला तथा सिमान्तकृतका सवालहरु दस्तावेजिकरण भएर राखिएको कमै पाइन्छ ।
पत्रकारितामा यस्ता कुराहरु आउनुपर्छ, पत्रकारिताको शैलीलाई पनि परिवर्तन गर्नुपर्ने समय आएको छ । अहिलेको अवस्थामा यो शैलीलाई सार्थकता दिन इन्टरनेट सहयोगी पक्कै बनेको छ । इन्टरनेटले निर्णय प्रकृयालाई पनि चुनौती दिएको छ । अहिले इन्टरनेको प्रयोगले निर्णय प्रकृयामा सहभागी हुन जुनसुकै ठाउँमा भएको भए पनि जोडिन संभव बनाएको छ । अर्को तिर यो समय र लागतका हिसावले पनि उत्तिकै मितव्यीय छ ।
इन्टरनेट मल्टिमिडिया जर्नालिज्मको पाटो हो । एक दशक अगाडिसम्म अहिलेको जस्तै सबै जनासँग सबै खालको प्रविधि र सीपको प्रयोगको आवश्यकता खड्किएको पनि थिएन । तर अहिले सबैजनासँग सबै खालको न्युनतम सिप आवश्यक भैसकेको छ । यसले हाम्रो काममा जति सहजता ल्याएको छ, त्यत्तिकै डाटा सेक्युरिटी लगायतका जोखिम र चुनौती त पक्कै छन् । समय अनुसार सबैको पहुँचमा इन्टरनेट पक्कै पनि पुग्नेछ, त्यसबेला यसको अर्थपुर्ण र सुरक्षित प्रयोगको आवश्यकता खड्किन्छ ।

बाबुराम अर्याल : इन्टरनेटको बढ्दो प्रयोगसँगै यसको भूमिका समेत विस्तार भएकोमा शंका छैन तर यसको व्यवस्थापन कसरी गरिन्छ,यसलाई कसले चलाउँछ, कसको स्वामित्वमा छ, यसको प्राविधिक पक्ष कस्तो छ ? यसको सुरक्षाको पाटोमा के छ ? भन्ने लगायतका हाम्रा दिमागमा आउने इन्टरनेटसँग जोडिएका सवालहरु हुन्छन् चाहे त्यो समावेशिताको कुरा होस् चाहे त्यो लैङ्गिकताको कुरा होस्, या बालाबालिकासँग जोडिएका सवालहरु हुन् ,यी एक आपसमा जोडिएकाछन् । यो कुनै एउटा भुगोल क्षेत्रसँगमात्र जोडिएको नभएकोले संसारभर यसका सरोकारवाला पक्षहरु हुन्छन्, तसर्थ सबै पक्षलाई समेट्ने गरि कसरी बलियोे इको सिस्टम बनाउन सकिन्छ भन्ने कुराको सुनिश्चिततामा इन्टरनेट शुसासनले काम गरेको हुन्छ । नेपालको सन्दर्भका इन्टरनेट सम्बन्धी नीति तथा कानुनमा छलफल गर्ने, सुझाव दिने, सुरक्षाका सवालमा सचेतनाका कामहरु गर्दै आएका छौं ।
अहिलेको अवस्थामा इन्टरनेटको प्रयोग बाध्यतावश पनि बढ्दै गएको देखिन्छ । म इन्टरनेटसँग जोडिएको कानुन व्यावसायी पनि हो । शुरु शुरुमा यससँग जोडिएका मुद्धा हेरेर पनि ज्यान पालिन्छ र भन्ने अवस्था थियो,अहिले आएर लाग्दैछ यस्तै अवस्था रहे अवका दुई तिन वर्ष पछि योसँग जोडिएका सवालहरु धेरै हुनेछन् । अहिले इन्टरनेको प्रयोग बढेको छ तर त्यसको सार्थक प्रयोग बढेको छैन । मोवाइलमा पहुँचको हिसावले पनि पर्याप्त नभएकोले इन्टरनेटको सार्थक प्रयोगको कुरा त २० प्रतिशत भन्दा पनि कम छ । यसको प्रभावकारिता हामीले व्याण्ड विथ इन्टरनेटको प्रयोग, यसको प्रयोग हुने डिभाइस र सफ्टव्येरको प्रयोगमा हामीले कसरी आफुलाई पोख्त गराउँदै लगेका छौं भन्ने कुराले अर्थ राख्छ । पहुँचको कुरा मात्र पर्याप्त हैन । यसको प्रयोग सम्बन्धि पनि तल्लो तहसम्मा सचेतना जगाउन र सिप सिकाउन जरुरी छ । यसको लागि संचार माध्यमको भूमिका महत्वपूर्ण रहन्छ ।

सुधिर श्रेष्ठ : जीवनशैलीलाई नै परिवर्तन गरेको छ । हाम्रो हरेक गतिविधिलाई बाँध्ने एउटा मात्र माध्यम इन्टरनेट बनेको छ ,अहिलेको अवस्थामा कोही पनि बाहिर जान सक्ने अवस्था छैन, हाम्रा दैनिक गतिविधिलाई घरमै बसेर अगाडि बढाउनको लागि इन्टरनेटको भरपर्नु परेको छ, इन्टरनेट सहयोगी बनेको छ । अर्को महत्वपुर्ण कुरा यसको प्रयोग शैक्षिक गतिविधिसँग जोडेर गर्न थालिएको छ, यो राम्रो पक्ष हो । शिक्षा क्षेत्र डिजिटल प्लेटफर्ममा जाने वातावरण बनाउनको लागि कोभिड एउटा अवसरको रुपमा स्थापित भयो । हरेक कुराको संचार गर्न र सबैलाई एउटै छातामुनी ल्याउन एउटा मात्र माध्यम इन्टरनेट बनेको छ । शिक्षा देखी अन्य क्षेत्रमा यसको प्रयोग भैरहेको छ । नेपालको सन्दर्भमा पनि अनलाइन मार्फत स्टे होम स्टे सेफ अवधारणा अनुरुप भर्चुअल माध्यमको प्रयोग भैरहको छ ।
सबै भन्दा प्रयोगकर्ता पहिचान गर्न सक्नुपर्छ । त्यस पछि मात्र पछाडिका योजनाहरु बन्छन् । यसबाट मात्र हामी एउटा संरचनाको वातावरणमा हिड्न सक्छौं । इन्टरनेटको सही प्रयोग र पहुँचको लागि यसको विस्वसनीयता र स्पीडमा विस्तार गर्न जरुरी छ, जसले प्रयोगकर्ताले चाहेको अवस्थामा प्रभावकारी तरिकाले यसको प्रयोग गर्न सकोस् । हामीहरुमा यसको प्रयोग गर्ने तरिका र उपयोगिताको क्षेत्रमा पनि धेरै सुधार गर्नुपर्ने छ । सँगै यससँग जोडिएका प्रविधि पूर्वाधारको निर्माण पनि गर्न जरुरी छ ।

सञ्जय ढुंगाना :  लकडाउनको कारण घरबाट बाहिर निस्कन नसके पनि धेरै भन्दा धेरै काम अनलाइन अथवा इन्टरनेटको प्रयोग बढाउने प्रयत्न भएको छ । शहरी क्षेत्रमा किनमेल देखी अनलाइन कक्षाहरु समेत संचालन भैरहेको अवस्था छ । तर यसको पहुँच सबै तिर नहुने देखी यसको प्राविधिक पाटोमा पनि छलफल गर्न पर्ने अवस्था सृजना भएको छ ।
पहिला पहिला दूरशिक्षाको अवधारणा विकास भएको थियो । इन्टरनेटले अहिले त्यसैको विकसित रुपमा आफुलाई विकास गर्दै लगेको छ । यो समयको आवश्यकता पनि हो । कतिपय अवस्थामा कोभिड जस्ता प्रकोप राम्रो बहाना बनेर आउँछन् , जसले त्यो आवश्यकतालाई अझै औचित्यपुर्ण बनाउन मद्धत गरेको हुन्छ । अर्को तिर इन्टरनेटको सहज पहुँच नभएका ग्रामिण भेकमा यसको पहुँच विस्तारको लागि एक खालको दवाव पनि महसुस गराउन संभव भएको छ , आवश्यकता महसुस भएको छ । त्यति मात्र हैन यसको पहुँच विस्तार गर्न सके शिक्षाको मात्र नभएर अन्य व्यावसायीक क्षेत्रको विकासमा पनि सहयोग पुराउँछ ।
सरकारले नीतिगत रुपमै आफुले सुधार गर्नुपर्ने कुराहरुमा ध्यान दिन जरुरी छ । अहिले कोभिडको अवस्थामा सामाजिक दुरी कायम गर्ने भनिएको छ । यसको लागि जति सक्दो यसको प्रयोगलाई बढाउनको लागि प्राथमिकताका साथ सूचना प्रविधिको विकासलाई जोड दिनुपर्छ ।