उखु किसानको पैसा नतिर्ने राकेश अग्रवाल प्रकाउ

प्रकाशित मिति:

काठमाडौं–किसानबाट उखु खरिद गरेको लामो समयसम्म ४६ करोड रुपैयाँ भन्दा बढी बक्यौता नतिर्ने एक चिनी उद्यागीलाई प्रहरीले पक्राउ गरेको छ। अन्नपूर्ण सुगर मिल्सका सञ्चालक राकेश अग्रवाललाई नवलपरासी र सर्लाहीका किसानलाई उखुको रकम भुक्तानी नगरेका कारण काठमाडौं प्रहरी परिसरको टोलीले आज त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ गरेको हो।

नवलपरासी र सर्लाहीका प्रमुख जिल्ला अधिकारीले भुक्तानीबारे छलफलका लागि ताकेता गर्दा पनि अग्रवाल सम्पर्कमा नआएपछि गृहमन्त्रालयको पहलमा उनलाई पक्राउ गरि संवन्धित जिल्ला पठाउन लागिएको हो।सरकार र उद्योगी तथा किसानबीच भएका विभिन्न छलफलहरुमा दसैं तिहार पहिले नै बक्यौता भुक्तान गर्ने सहमति गरे पनि उक्त समयमा भुक्तानी गर्न अटेरी गरेपछि पीडितहरुले गृहमन्त्रालयमा व्यापारीविरुद्ध उजुरी गरेका थिए।

गृहका सूचना अधिकारी एकदेव अधिकारीका अनुसार अधिकाँश उद्योगीले रकम भुक्तानी गरिरहेपनि अग्रवाल सम्पर्कबिहीन रहँदै आएका थिए।‘जिल्लामा किसानले भोकै आन्दोलन गरिरहनु पर्ने, तर भुक्तानी दिनुपर्ने व्यापारी भागिरहने अवस्थाले जिल्लाको शान्ति व्यवस्थामै असर पर्न थालेको थियो,’ अधिकारीले भने, ‘रकम भुक्तानी गर्ने जिम्मेवारीबाट उनी भाग्न मिल्दैन, नगरे कानुन बमोजिम कारबाही हुन्छ।’

अग्रवालले सञ्चालन गरेको सर्लाहीको अन्नपूर्णबाट उखु किसानको ३८ लाख ६८ हजार रुपैयाँ र नवलपरासीमा रहेको अग्रवालकै इन्दिरा सुगर एण्ड एग्रोबाट ८ करोड ५८ लाख रुपैयाँ नतिरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ।

थप समाचार