किसानलाई आवश्यक मल उपलब्ध गराउन माग

प्रकाशित मिति:

भैरहवा, । किसानलाई आवश्यक रासायिनक मल डिएपी र युरिया जेठ मसान्तसम्ममा उपलब्ध गराउन कृषक संघर्ष समितिले माग गरेको छ । समितिले धानखेतीको लागि उन्नत जातका बिउबिजन कृषकको गाउँघरमै सुपथ मुल्य वा ५० प्रतिशत अनुदानमा यथाशिघ्र उपलब्ध गराउन माग गरेको छ ।देशभरीको ७७ वटै जिल्लाका प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, संघीय सरकारको सामान्य प्रशासन मन्त्रालय, कृषि मन्त्रालय, सातवटै प्रदेशका कृषि मन्त्रालय, सम्पूर्ण स्थानीय तह र कृषक समुदायमा कार्यरत सबै सरकारी तथा गैरसरकारी संस्थाहरुलाई अनलाइनमार्फत ज्ञापनपत्र बुझाउँदै खेतीपाती गर्न आवश्यक कृषि औजार तथा त्यसलाई चलाउन चाहिने इन्धन गाउँमै उपलब्ध गराउन समेत माग गरेको हो ।

त्यस्तै समितिले यही जेठ २८ गते परेको राष्ट्रिय कृषक दिवसको दिन कृषकलाई सम्मान गर्ने कार्यक्रम सामाजिक दुरी कायम राखी केही कृषक सहयोगी कार्यक्रम गर्नुपर्ने जनाएको छ । लकडाउनका कारण किसानलाई आवश्यक खाद्य उत्पादन सहयोगी वस्तुको व्यवस्थापन हुन नसकेकोले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाइएको कृषक संघर्ष समिति नेपालका अध्यक्ष देव धवलले बताए ।समितिले उठाएको माग सम्बोधन नभए कृषक समुदायले स्थानीय तहमा प्रदर्शन तथा धर्ना दिने तथा सम्बन्धित निकायमा तालाबन्दी गरी आमरण अन्सन गर्न समेत बाध्य हुने चेतावनी दिए ।यसैबीच समितिले रुपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिका कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव समितिले उठाएको माग जायज रहेको र गाउँपालिका किसानहरुको समस्याप्रति गम्भिर रहेको बताए । उनले संघीय सरकार र प्रदेश सरकारले पनि किसानको समस्याप्रति चासो राख्दै समाधानतर्फ ध्यान दिनुपर्ने बताए ।