खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता

२४ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
498 Shares


विमल कुमार दाहाल – १. खाद्य स्वच्छता – खाद्य पदार्थको उपभोगबाट तत्कालीन वा दीर्घकालीन रुपमा उपभोक्ताको स्वास्थ्यमा कुनै हानी  नोक्सानी हुँदैन भने सो अवस्थालाई खाद्य स्वच्छताको रुपमा बुझिन्छ । खाद्य पदार्थ उत्पादन, प्रशोधन, संचय, बिक्रिवितरण र परिचालन हुँदै उपभोग गर्ने चरणसम्म उचित ध्यान पुर्याउन नसकेमा त्यसको स्वच्छता बिग्रन्छ । खाद्य पदार्थको स्वच्छता बिगार्ने प्रमुख कारक तत्त्वहरु ३ वटा रहेका छन्, ती हुन्: भौतिक, रसायनिक र जैविक l खाद्य पदार्थ उत्पादनदेखि उपभोगको चरणमा यी कुनै कारक तत्त्वको प्रवेश भएमा स्वच्छता बिग्रन सक्छ l तसर्थ, खाद्य श्रृंखलाको प्रत्येक चरणमा यस्ता हानिकारक तत्त्वहरुको प्रवेशलाई रोक्नु नै स्वच्छता कायम राख्ने मुख्य सुत्र हो l २. अस्वस्च्छ खानाको प्रभाव  –विश्व स्वास्थ्य संगठनले ३० अप्रिल, २०२० मा खाद्य स्वच्छताको अवस्था बारे जानकारी गराउन केही आंकडा सार्वजनिक गरेको छ l दुषित खानाको कारणले विश्वमा प्रतिवर्ष ६० करोड   (प्रत्येक १० मा १ जना) मानिस बिरामी पर्ने र ४ लाख २० हजारको मृत्यु हुने गर्दछ, जसमा पाँच बर्ष मुनिका १ लाख २५ हजार बालबालिका समेत पर्दछन् l दुषित खानको कारणले प्रत्येक बर्ष ५५ करोड मानिसमा झाडा पखाला लाग्ने र त्यसबाट प्रभावित भई २ लाख ३० हजारको मृत्यु समेत हुने गरेको छ l नेपालको सन्दर्भमा यस्ता तथ्यगत आंकडा जानकारीमा नआए पनि करिव ४०-४५ प्रतिशत नागरिक कुनै न कुनै खाद्य तथा पोषणजन्य समस्यामा बाँची रहेका छन् lअस्वच्छ खानाको उपभोगले झाडापखाला, आँऊ, हैजा, टाइफाइड, जन्डिस, जुका, टेपवर्म, राउण्ड वर्म, क्यान्सर लगायत धेरै किसिमका रोग लाग्न सक्छन् l रोगको उपचार गर्दा परिवारमा थप आर्थिक भार पर्ने, बिरामी तथा परिवारका अन्य सदस्यमा मासिक बिचलन हुन सक्छ l रोगी व्यक्तिको कार्यसम्पादन घट्ने र जिवनयापनका लागि अवलम्वन गरिएको पेशा धारासायी हुनसक्छ l दीर्घकालसम्म अस्वच्छ खानाको उपभोगले आउने पिढीसम्मलाई पनि नराम्रो असर गर्दछ  l

३. नेपालको अवस्था –नेपालमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागलाई नेपाल सरकारले खाद्य स्वच्छता तथा गुणस्तर नियमन गर्ने जिम्मेवारी तोकेको छ l खाद्य ऐन २०२३ लागू गरी खाद्य पदार्थमा स्वच्छता र गुणस्तर नियमन गर्न यो विभाग र मातहतका निकाय क्रियाशील रहेका छन् l बिभाग मातहत हाल ६ वटा प्रदेश स्तरीय संघीय कार्यालय, २४ वटा डिभिजन कार्यालय र १२ वटा आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरु रहेका छन् l हालै नेपाल सरकारबाट प्रस्तुत आ.व. २०७७/०७८ को बजेट तथा कार्यक्रममा पोखरा र सुर्खेतमा प्रदेश स्तरीय खाद्य प्रयोगशाला स्थापना गर्न प्रस्ताव भएको छ l यसबाट सरकारले खाद्य स्वच्छता नियमनलाई प्राथमिकता दिएको सहजै बुझ्न सकिन्छ l  यससंगै आ.व. २०७७/०७८ देखि ७ वटा प्रदेश स्तरीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय संचालनमा आउने र थप प्भावकारी नियमनको कार्य आरम्भ हुनेछ l नेपालमा खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी मुख्य मुख्य समस्याहरु के के छन् त भनी बिबेचना गर्दा उत्पादन, प्रशोधन, ढुवानी, भण्डारण र बिक्रिवितरण स्थलमा सरसफाइको कमी नै  प्रमुख समस्याका रुपमा रहेको देखिन्छ l त्यस्तै, म्याद गुज्रेका, लेवल विवरण पुरा नभएका, जथाभावी रंग तथा रसायन प्रयोग गरेका र ढुसी परेका खाद्य पदार्थ सम्बन्धी समस्या पनि प्रसस्तै देखिन्छन् l त्यसैगरी, खाजा घरहरुमा बचेको तेल-घिउलाई पटक पटक प्रयोग गर्ने गरेको पनि देखिन्छ l त्यस्तै, जथाभावी जीवनाशक विषादीको प्रयोग भएका फलफुल र तरकारी सम्बन्धी समस्या पनि बजारमा सुनिएका छन् l उपरोक्त समस्याहरु केही जानी जानी त केही अन्जानमा वा हेलचेक्राइका कारणले हुने गरेका छन् l परिस्थिति जुनसुकै भएपनि नेपाल सरकारले तोकेको मापदण्ड प्रतिकुल हुनेगरी कसैले खाद्य पदार्थको उत्पादन, संचय र बिक्रीवितरण गर्नु कानूनको नजरमा क्षम्य हुँदैन l

उपरोक्त समस्या समाधानका लागि विभागले उपभोक्ता सचेतना भेला, सूचना संदेश प्रचार प्रसार, सरोकारवालासंग अन्तरक्रिया छलफल कार्यक्रम संचालन गर्ने गर्दछ l त्यसैगरी, खाद्य ऐन २०२३ तथा नियमावली २०२७ अनुसार बिभाग तथा मातहतका कार्यालयले नियमित बजार अनुगमन, नमूना संकलन, विश्लेषण र मुद्दा दायरी समेत गर्ने गरेका छन् l  विभागबाट अंग्रेजी भाषामा प्रकाशित एन्युएल बुलेटिन २०७५/०७६ अनुसार आ.व. २०७५/०७६, २०७४/०७५, २०७३/०७४, २०७२/०७३ र २०७१/०७२ मा क्रमश: १४९, २२४, २६३, २०६ र २१९ वटा मुद्दा सम्बन्धित निकायमा दायर भएको देखिन्छ l यसरी मुद्दा दायर गरिएका खाद्य पदार्थमा प्रशोधित पिउने पानी, दूध तथा दुग्धजन्य पदार्थ, घिउ तेल र अन्न तथा दलहनमा आधारित उत्पादनहरु रहेका छन् l न्युन गुणस्तर वा दुषित खाद्य पदार्थको उत्पादन, संचय तथा बिक्रि वितरण गर्ने उद्योगी व्यवसायी उपर खाद्य ऐन २०२३ अनुसार बढीमा ५ बर्षसम्म कैद वा पचास हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।४. विश्व खाद्य स्वच्छता दिवस –विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनले संयुक्त रुपमा प्रत्येक बर्षको जुन ७ तारिखमा विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरे अनुसार यस बर्ष पनि जुन ७ तारिख, तदअनुसार यहीं जेष्ठ २५ गते सो दिवस मनाउन आह्वान गरिएको छ l  विश्वका लागि यो दोश्रो हो भने नेपालका लागि यो १२औ दिवस हो l अहिलेको लक-डाउनको अवस्थामा बिगत बर्षमा जसरी धुमधामसंग यो दिवस मनाउन नसकिए पनि पत्र पत्रिका, विभिन्न सामाजिक संजाल र अन्य संचार माध्यमबाट प्रचार प्रसार गरी यो दिवस मनाइंदै छ l  किसानको गोठदेखि उपभोक्ताको ओठसम्म अथवा किसानको आलिदेखि उपभोक्ताको थालीसम्मका श्रृंखलामा क्रियाशील सबै सरोकारवाला पक्षले सही कार्य गरेमा मात्र खाद्य पदार्थमा स्वच्छता कायम हुन सक्छ l बिभिन्न पक्ष र क्षेत्रको संयुक्त पहलमा मात्र खाद्य स्वच्छताको अवस्था प्राप्त हुन सक्ने सत्यतालाई बोध गराउन विश्व स्वास्थ्य संगठनले यस बर्षको खाद्य स्वच्छता दिवसको नारा  “Food Safety: Everyone’s Business” तय गरेको छ l नेपालमा सोही आसयलाई बुझाउन “खाद्य पदार्थमा स्वच्छताः हामी सबैको  प्रतिवद्धता” भन्ने नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो दिवस मनाउन गईरहेको छ l

५. विश्व स्वास्थ्य संगठनको अपिल  – यो दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठनको तर्फबाट डा. फ्रान्सेस्को ब्रान्काले एक श्रब्य दृश्य मन्तव्य राख्दै खाद्य पदार्थको उत्पादन, ढुवानी, बिक्रि, तयारी, वितरण र उपभोगको चरणमा खाद्य जनित रोगबाट बच्ने सबैलाई प्रेरणा दिन र यस सम्बन्धी सचेतना फैलाउन भनेका छन् l उनले विश्व स्वास्थ्य संगठनबाट जारी ५ संदेश कार्यान्वयन गरी खानालाई स्वच्छ राख्न, अस्वच्छ खानाको दुर्घटनाबाट आफ्नो परिवार र समाजलाई बचाउन आव्ह्वान समेत गरेका छन् l उनले स्वच्छ खाना प्राप्त गर्ने सन्दर्भमा जारी गरेका पाँच संदेश देहाय अनुसार छन्: १. खाद्य पदार्थ, यसलाई तयारी गर्ने र खाने (पस्कने) स्थान सफा राख्ने, २. काँचो र पाकेको खाद्य पदार्थलाई अलग्गै राख्ने, ३. खाद्य पदार्थलाई राम्ररी पकाएर खाने, ४. खानालाई सुरक्षित तापक्रममा भण्डारण गर्ने ५. स्वच्छ पानी र कच्चा पदार्थको प्रयोग गर्ने l६. निष्कर्ष –स्वच्छ र पोषिलो खानाले हाम्रो शरीरमा आवश्यक पोषक तत्त्वहरू प्रदान गरी आन्तरिक प्रतिरोधात्मक क्षमता समेत बढाउने जसले कोभिड महामारी लगायतका विभिन्न रोगसँग लड्ने क्षमता सुद्रिढ गर्ने हुनाले आजको दिनमा यस विश्व खाद्य स्वच्छता दिवसको सान्दर्भिकता अझ बढेको छ l खाद्य श्रृंखलाका प्रत्येक चरणमा क्रियाशील पात्रले खाद्य स्वच्छताको पक्षमा प्रतिवद्ध भई क्रियाशिल हुन आवश्यक छ l यस दिवसको अवसरमा खाद्य श्रृंखलामा क्रियाशील सबै पक्षलाई खाद्य स्वच्छता कायम गर्ने गराउने कार्यमा थप प्रेरणा मिलोस् l दोश्रो विश्व खाद्य स्वच्छता दिवस (२०२०) को उपलक्षमा सबैमा हार्दिक शुभकामना  विमल कुमार दाहाल बरिष्ठ खाद्य अनुसन्धान अधिकृत  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा।

फेसबुकबाट तपाईको प्रतिक्रिया