नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी नेकपालगायत पार्टीबाट जनता निरास भएको नयाँ शक्ति पार्टी नेपालको दावी

प्रकाशित मिति:

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी नेकपालगायत पार्टीबाट जनता निरास बनेको दाबी गर्दै वैकल्पिक राजनीतिको खोजीमा बलियो क्रान्तिकारी–लोकतान्त्रिक पार्टी निर्माणको बलियो आधार बनेको बताएको छ ।

बुधबारदेखि शुरु भएको सो पार्टीको १५औँ सङ्घीय परिषद्को बैठकमा संयोजक डा बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नयाँ शक्तिले समावेशिता, समानुपातिकता र सहभागितामार्फत लोकतन्त्रलाई अझ ठोस, जीवन्त र मूर्तरुपमा विकास गरी आर्थिक क्रान्तिमार्फत नेपालको समृद्धीकरणको युगलाई नेतृत्व गर्ने दाबी गरिएको छ ।

सत्ता राजनीतिको असफलता चौतर्फीरुपमा उजागर हुन थालेको औँल्याउँदै प्रतिवेदनमा नयाँ शक्ति पार्टी नेपालले रोजेको मार्ग ठीक छ भन्ने कुरा दिनप्रतिदिन पुष्टि हुँदै गएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा निर्णायक राजनीतिक शक्ति निर्माण गर्न ढिला हुँदा नेपालको अरु केही दशक समय यसरी नै खेर जाने र अझै नेपाल विश्व समुदायसामु गरीब, कमजोर, भ्रष्ट र कुशासित देशका रुपमा चित्रित भइरहने टिप्पणी गरिएको छ । बिहीबारसम्म चल्ने उक्त बैठकमा संयोजक डा भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुनेछ ।

त्यस्तै वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिबारे ठोस छलफल हुने प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । बैठकमा महाधिवेशन आयोजक समितिका १५० नेता कार्यकर्ताको सहभागी भएका छन् ।