रुकुम पश्चिम घटनाको छानबिन गर्न संसदीय समिति

प्रकाशित मिति:

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ। सांसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।कार्यविधिअनुसार समितिले ३० दिनभित्र काम सम्पन्न गरिसक्नु पर्ने छ । छानबिनका क्रममा आवश्यक देखे समितले अन्य व्यक्तिको सहयोगसमेत लिन सक्ने छ ।

यही जेठ १० गते सोती गाउँकी प्रेमिका भनिएकी मल्ल थरकी केटीलाई लिन जाजरकोटबाट साथीसहित गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो । गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको पीडित पक्षको दाबी छ । नवराजसँगै गएका केही युवाले भने नदीमा हाम फालेर ज्यान जोगाएका थिए । अन्तरजातीय विवाहको विषयलाई लिएर हत्या भएको भन्दै यो घटनालाई प्रमुख विपक्षी कांग्रेसले नरसंहार भनेको छ र संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । सोही मागअनुसार यही जेठ २३ गते सभामुख अग्निप्रसाद सापकोटाले समिति गठनको घोकषणा गरेका थिए । समितिले सोमबार पूर्णता पाएको हो ।