नयाँ नक्सासहित निशान छाप अद्यावधिक गर्ने संविधान संशोधन प्रस्ताव स्वीकृत

प्रकाशित मिति:

काठमाडौं, जेठ २७ निशान छापमा रहेको नक्सालाई अद्यावधिक गर्न संसदमा दर्ता गरेको संविधान संशोधन विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा संसदमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले राखेको प्रस्ताव सैद्धान्तिक छलफलपछि सर्बसम्मतिले स्वीकृत भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुस्त गरेपछि सत्तारुढ नेकपाका साथै प्रमुख प्रतिपक्ष कांग्रेससहित राजपा र समाजवादीलगायत सबै दलका सांसदले समर्थन जनाएका थिए ।विधेयक स्वीकृत भएसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरूलाई ७२ घण्टाको समय उपलब्ध भएको छ । यसअघि संशोधनको समय घटाएर विधेयक अगाडि बढाउने भन्ने छलफल भएपनि सांसदहरूलाई संशोधन दर्ता गराउनका लागि पूरै समय उपलब्ध गराइएको छ । संशोधन दर्ता गर्ने अवधि सकिएपछि उक्त विधेयक पारित हुने पक्रियामा अगाडि बढ्नेछ ।